विराटनगर। अविरल वर्षासँगै बाढी-पहिरोका कोशी प्रदेशमा ४३ जनाको मृत्यु भएको छ। बाढी(पहिरोमा परी १० जना घाइते रहेका छन्।
कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलका अनुसार शनिबार रातिदेखि आइतबार बेलुका ६:४५ सम्म ४३ जनाको मृत्यु भएको हो। मृत्यु हुने १८ जना पुरुष र महिला २५ जना रहेका छन्।
पोखरेलका अनुसार मृत्यु हुने सबैभन्दा बढी इलाम जिल्लामा ३७ जना रहेका छन्। इलाममा पहिरोका कारण १३ जना पुरुष, १४ जना महिला, तीन बालक र सात जना बालिकाको मृत्यु भएको छ।
पाँचथरमा बाढी-पहिरोबाट दुई, मोरङमा एक, उदयपुरमा दुई, खोटाङमा एक जनाको मृत्यु भएको छ।
बाढी-पहिरोमा परेका ५३२ जनालाई उद्धार गरिएको पोखरेलले बताए। कोशी प्रदेशमा बाढी-पहिरोले ५ हजार ९२५ घर विस्थापित भएका छन्।
बाढी-प्रभावित संख्या २६ हजार ९४८ रहेको पोखरेलले बताए। बाढी-पहिरोले १६ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।