काठमाडौं। पर्साको वीरगन्जमा ‘गोल्डेन’ भनिने २० वर्षीय शिवम् साह कानुको हत्या आरोपमा एक नाबालक पक्राउ परेका छन्। प्रहरीले कानुको हत्या आरोपमा ती नाबालकलाई बुधबार पक्राउ गरेको हो। ती नाबालकको नाम ‘रामगढवा-१’ दिइएको छ।
अष्टमीको दिन गत १४ असोजमा वीरगन्ज महानगरपालिका-१० स्थित दसैं मेला हेर्न गएको बेला कानुको हत्या भएको थियो। कानुलाई ‘खुनी दरिन्दे ग्याङ (समूह)’ ले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
“यी नाबालक यिनै दरिन्दे समूहका एक सदस्य रहेको खुलेको छ,” पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने।
कानुको हत्यामा यसअघि पाँच जनालाई प्रहरीले पक्राउ गरिसकेको थियो। पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करणप्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका थिए। पक्राउ परेकामध्ये घटनाका मुख्य योजनाकार गौतम पटेल रहेको लम्साल बताउँछन्।
यी पाँच जनामध्ये तीन जनालााई घटना भएको राति नै बाँकी दुई जनालाई बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बल्थर गाँउबाट प्रहरीले गत बुधबार पक्राउ गरेको थियो।
लम्सालका अनुसार दसैं मेलामा राति साढे ११ बजे वीरगन्ज महानगरपालिका-१० गीता मन्दिर सडकमा कानुमाथि कुटपिट भएको थियो। कुटपिटबाट सख्त घाइते भएका कानुको नारायणी अस्पतालमा पुर्याउँदा मृत्यु भएको थियो।
कानुलाई कुटपिट गर्नुअघि यो समूहका सदस्यले ‘खुनी दरिन्दे ग्याङ’ नामबाट ह्वाट्सएप ग्रुप बनाएका थिए। यसअघि कानुको समूहसँग भएको झगडाको बदला लिन उक्त समूहले योजनाबद्ध तरिकाले हत्या गरेको प्रहरी नायब उपरीक्षक लम्साल बताउँछन्।
“घटना पुरानो रिसइबीका साथै आफूलाई कुख्यात प्रदर्शन गर्न गराइएको देखिन्छ,” लम्साल भन्छन्। पक्राउ परेका नाबालकलाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट चार दिनको म्याद लिई अनुसन्धान थालिएको छ।