काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२४ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेन-जी आन्दोलनका क्रममा बल प्रयोगका लागि आफूले आदेश नदिएको प्रस्टीकरण दिएका छन्।

२३ भदौमा आन्दोलन हिंसात्मक बनेर १९ जनाको ज्यान गएपछि पदबाट राजीनामा दिएका लेखकले आन्दोलनको एक महिनापछि शुक्रबार उक्त घटनाको विषयमा टिप्पणी गरेका हुन्।

नेपाली कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारीसँगै कार्यसम्पादन समितिका सदस्यहरूसहितको बैठकमा सहभागी भएका लेखकले त्यसबेलाको विषयमा पनि धारणा राखेका हुन्।

लेखकले भने, “तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले बल प्रयोगका लागि आदेश गरेको भन्ने कुरा सत्य होइन।”

उनले त्यस्तो आदेश नभएको र जेन-जीका मागप्रति सरकार नकारात्मक पनि नभएको स्पष्टीकरण दिए।

उनले जेन-जी आन्दोलनका मागहरू सकारात्मक भए पनि प्रदर्शनमा घुसपैठ हुँदा अराजकता निम्तिएको टिप्पणी गरे।

जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका लेखकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उनले जेन-जी आन्दोलनले उठाएका माग सम्बोधन गर्नुपर्ने खालका रहेको भन्दै त्यसलाई समेट्नका लागि नेपाली कांग्रेसका प्रमुख राजनीतिक दलहरूबीच साझा समझदारी आवश्यक रहेको बताए।