काठमाडौं। नेकपा माओवादी केन्द्र संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सिफारिसमा सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको बताएका छन्।
लगनखेलकी एक रेष्टुरेन्टमा सम्पादकहरुसँगको अन्तक्रियामा बोल्दै संयोजक दाहालले त्यसबेलाका काम चलाउ प्रधानमन्त्री ओलीले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको बताए।
“हिजो केपीजीको भाषण सुने उहाँ बढो आक्रमक ढंगले प्रस्तुत हुनुभयो। हामीलाई त्यस समयमा जे कागज देखाइयो प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपतिलाई चिठी उहाँले दिनुभएको थियो त,” दाहालले भने “अहिले यो पनि मान्दिन भन्नुको तुक छैन।”
बिहीबार एमालेको भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको विशेष कार्यक्रममा ओलीले कार्की नेतृत्वको सरकार असंवैधानिक भएको बताएका थिए।
“बालेन आफू तयार नभएपछि युवाहरुको भिटिङबाट सुशीला कार्कीको नाम आएको हो,” दाहालले भने, “सेनाले हेलिकप्टरमा हालेर हेटौडा वा कतै पुर्याएको भए पनि उहाँ (केपी) नै काम चलाउ प्रधानमन्त्री हुनुहुन्थ्यो। प्रधानमन्त्रीको सिफारिस चाहिन्थ्यो। राष्ट्रपतिजीले प्रधानमन्त्रीलाई भेटेर सिफारिस ल्याइसक्नु भएको रहेछ।”
दाहालले कार्कीको नियुक्ति आवश्यकताको सिद्धान्त अनुसार भएको बताए। “त्यस समयमा डक्ट्रिन अफ नेसिसिटीको चर्चा खुब भएको थियो,” दाहालले भने “संविधानको धारा ६१, ६२ लाई टेकेर जे आवश्यकता छ त्यसको आधारमा सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो।”