काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२४ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाल समूह ‘बी’ को विजेता बन्दै आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेको छ।

यसअघि नै एक खुड्किलो पार गरिसकेको नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पाँच विकेटले पराजित गरेको हो। योसँगै नेपालले दुई खेलबाट चार अंक जोड्यो।

जापान भने समूह उपविजेता भयो। यसअघि नै सुपर सिक्समा प्रवेश गरिसकेको जापानले पहिलो खेलमा कुवेतलाई पाँच विकेटले हराएको थियो। योसँगै नेपाल सुपर सिक्समा दुई अंक लिएर जान सफल भएको छ।

यी दुईबाहेक यूएई र कतार पनि सुपर सिक्समा पुगिसकेका छन्। जापानले जितका लागि दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। २१ बल खेलेका उनले एक चौका र चार छक्का प्रहार गरे।

२० बलमा एक चौका र दुई छक्का प्रहार गरेका गुलशनकुमार झा २८ रनमा अविजित रहे। कुशल भुर्तेल २१, कप्तान रोहितकुमार पौडेल १८ रनमा आउट हुँदा अन्यको ब्याटिङ राम्रो रहन सकेन।

जापानका शोमा स्लेटरले सर्वाधिक दुई विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ थालेको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३१ रन बनाएको थियो।

जापानका कप्तान केन्देल कादोवाकीले सर्वाधिक ६० रनको योगदान दिए। ४६ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे।

ईसम रहमान ३१ र इटो डेभिस १७ रनमा आउट भए। नेपालका सन्दीप लामिछाने र गुलशनकुमार झाले समान दुई विकेट लिए। सोमपाल कामी र नन्दन यादवले पनि समान एक विकेट राखे।

अब नेपालले आइतबार यूएईसँग खेल्दै सुपर सिक्सको यात्रा तय गर्नेछ। शीर्ष तीन टोलीले अर्को वर्ष श्रीलंका र भारतमा हुने विश्वकपमा स्थान पक्का गर्नेछ।