प्रिभ्यु
पुरानो प्रतिद्वन्द्वी यूएईविरुद्धको खेलमा सबैको चासो गुलसन र कुशलको प्रदर्शनतर्फ
ओमानको मस्कटस्थित अल एमेरट मैदान आइतबार फेरि निर्णायक भिडन्तको साक्षी बन्दै छ। अर्को वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप यात्राको ढोका खुला गर्न दुई पुराना प्रतिद्वन्द्वी नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दै छन्।
दक्षिण एसियाली क्रिकेटका पुराना प्रतिद्वन्द्वी यी दुई देशबीचको खेलले विश्वकप यात्राको भविष्य निर्धारण गर्नेछ। पछिल्लो वर्ष यी दुई टोली मैदान उत्रिँदा जितहारको नभई पुनः स्मृतिको लडाइँ बन्न पुगेको थियो। दुई वर्षअघि आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनलमा पनि यी दुई टोली भिडेका थिए।
मूलपानीको माथिल्लो मैदानमा भएको सेमिफाइनलमा घरेलु टोली नेपालले आठ विकेटको सानदार जित निकाल्दै १० वर्षपछि विश्वमञ्चमा पुनरागमन गरेको थियो। उक्त ठूलो हारले मुटुमै लगाएको घाउ अझै ताजै छ। अब आइतबार यूएई त्यसकै प्रतिशोध लिन मैदान उत्रिनेछ। त्यसैले नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल अलिक सजग देखिन्छन्। “यूएई प्रतियोगितामा सहभागी टोलीमध्ये उत्कृष्ट हो। उसलाई कठिन विपक्षीका रूपमा हेरेका छौँ। हामीले हाम्रो स्तरअनुसार खेल्यौँ भने जित्न सक्छौँ,” उनी भन्छन्।
यसपटक दुवै टोली समूह विजेता बन्दै सुपर सिक्समा पुगेका हुन्। समूह ‘ए’ मा रहेको यूएईले कतारलाई सात र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। समूह ‘बी’ मा रहेको नेपालले भने कुवेतलाई ५८ र जापानलाई पाँच विकेटले पराजित गर्दै आत्मविश्वास बटुलेको छ। यी दुवै टोलीले समूह चरणमा जित निकाल्न बलियो ब्याटिङ प्रदर्शन गरेका छन्। विश्वकपमा पुग्न सुपर सिक्समा शीर्ष तीन स्थान ओगट्नुपर्ने भएका कारण सबैको नजर यसै खेलमा केन्द्रित छ।
युएईका लागि ओपनर अलिसान सराफु उत्कृष्ट लयमा छन्। कतारविरुद्ध अविजित ५१ रन बनाएका उनले मलेसियाविरुद्ध ३४ रनको योगदान गरेका थिए। कप्तान मोहम्मद वासिमले पनि गुमाएको लयलाई सुधार गरिसकेका छन्। कतारविरुद्ध ११ रनमै आउट भएका उनले मलेसियाविरुद्धको दोस्रो खेलमा ८४ रनको दमदार ब्याटिङ गरेका थिए। यी दुवैको आक्रामक ब्याटिङले यूएईलाई प्रतियोगिताको सबैभन्दा बलियो टिम बनाएको छ।
तर, नेपाल पनि उत्कृष्ट लयमा छ। ओमानको भ्रमण गर्नुअघि नेपालले टेस्ट टोली वेस्ट इन्डिजविरुद्ध टी-२० मा तीन खेलको शृंखला खेलेको थियो। यूएईकै घरेलु मैदानमा भएको उक्त शृंखलाका सुरुआती दुई खेलमा नेपालले १९ र ९० रनको जित हात पारेको थियो। तर, अन्तिम खेलमा संयम गुमाउँदा १० विकेटले पराजित भयो।
यूएईको फ्लाट पिचबाट ओमानको कठिन पिचमा खेल्न पुगेको नेपालले समूह चरणको खेलमा संयम देखाएको छ। त्यसमा पनि अलराउन्डर कुशल भुर्तेल र गुलसनकुमार झा सबैभन्दा प्रभावशाली देखिएका छन्।

कुशल भुर्तेल र गुलसन झा। तस्बिर : क्यान
कुवेतविरुद्धको खेलमा १४२ रनको लक्ष्य दिनेक्रममा कुशल अन्तिम ओभरसम्म क्रिजमा उभिएका थिए। उनी १९.५ ओभरमा अनुदीप चेन्थमाराको बलमा बोल्ड भए। उनले ५६ बलमा तीन चौका र त्यति नै छक्का प्रहार गरे र एक विकेट पनि लिए। गुलसनले पनि अन्तिम ओभरमा ६ बलमा तीन छक्का लगाउँदै १८ रन बनाउँदा नेपालले कुवेतलाई बलियो लक्ष्य दिन सकेको थियो।
जापानविरुद्धको खेलमा कुशल ब्याटिङ र बलिङ दुवैमा जम्न सकेनन्। तर, गुलसनले दुवैबाट उत्तिकै योगदान दिँदै टोलीलाई सुपर सिक्समा बोनस दुई अंक दिलाए। उक्त खेलमा उनले ब्याटिङबाट २८ रन र बलिङबाट दुई विकेट लिएका थिए।
नेपालको अहिलेको चिन्ता भनेको बलरतर्फ रहेको छ। कुवेतविरुद्ध ठीकठाक प्रदर्शन गरे पनि आईसीसीको वरीयतामा ४०औँ स्थानमा रहेको जापानविरुद्ध भने नेपालले जितका लागि संघर्ष गर्नुपर्यो। मुख्यतः केन्देल कादोवाकी र इसम रमानको साझेदारीलाई तोड्न नसक्दा नेपालले १३१ रनको लक्ष्य पाएको थियो। जित निकाल्न पनि नेपाललाई १८ ओभरसम्म कुर्नुपर्यो।
ओमान, नेपाल र यूएई तीनै टोली सुपर सिक्समा बोनस अंकसहित पुगेका छन्। त्यसैले यी तीन टोली नै विश्वकपको प्रवेशद्वारमा छन्। आइतबारको खेलमा जसले जित्नेछ, उसले विश्वकपका लागि टिकट लगभग सुनिश्चित गर्नेछ।
रोचक कुरा के छ भने, यी दुई टोली अहिलेसम्म १० पल्ट भिडेका छन्। ती भेटमा दुवै टोलीले समान पाँच जित हात पारेका छन्। तर, डेढ वर्षअघि ओमानमै भएको एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईले ६ विकेटको जित निकाल्दै लगातार दोस्रोपल्ट एसिया कप खेल्ने नेपालको सपना चकनाचुर पारेको थियो। त्यही मैदानमा यी दुई टोली आमनेसामने हुन लागेका हुन्। तर, गुलसन उक्त हारको बदला लिनेमा आत्मविश्वासी देखिन्छन्। “हाम्रो काम अझै बाँकी छ। हामीले विश्वकप खेल्छौँ भन्नेमा म विश्वस्त छु,” उनी भन्छन्।
यसपटक यो मैदानमा इतिहास दोहोरिन्छ कि गुलसनले भनेजस्तो नयाँ अध्याय लेखिन्छ, त्यो साँझको नतिजाले बताउनेछ।