काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ आश्विन २०८२
कृष्णबहादुर महरा।
अ+
अ-

काठमाडौँ। पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा आइतबार पक्राउ परे। ६८ वर्षीय महरालाई भन्सार ऐन २०६४ तथा संगठित अपराध कसुरमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ बताउँछन्। यो भनेको १० पुस २०७९ मा चीनबाट इलेक्ट्रोनिक्स सिगरेट (भेप) भित्र सुन तस्करी गरेर ल्याइएको प्रकरण हो, जतिबेला चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको सिधा सम्पर्क भएको अनुसन्धानले देखाएको थियो।

त्यसबेला सुटकेसमा ७३० थान भेपभित्र जडान गरी तस्करले सुन ल्याएका थिए। त्यसमा ९ किलो सुन रहेको ब्युरोकै अनुसन्धानमा खुलेको थियो। पछि २ साउन २०८० मा चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुमा ल्याएको ६० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभाग बरामद गरेको थियो। यी दुवै तस्करीका मुखिया हङकङका दाओजिङ वाङ रहेको अनुसन्धानले पुष्टि गरेको थियो।

प्रहरीका अनुसार वाङ नेपालमा मात्रै नभएर भारतमा समेत सुन तस्करी गर्थे। त्यही कारण सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई अनुसन्धानका लागि भारत पठाएको थियो। सन् २०२१ मा वाङलाई भारतको राजस्व अनुसन्धान विभागले ८८.५३५ किलोग्राम सुनसहित पक्राउ गरेको थियो।

सीआईबीको अनुसन्धानको निचोड थियो- वाङ अन्तरदेशीय रूपमा सुन तस्करी गर्छन्। सीआईबीका एक अधिकृतका अनुसार ९ किलो र ६० किलो सुनमा उनी नै मुख्य नाइके भएको निष्कर्षसहित पक्राउका लागि इन्टरपोलमा चिठी लेखियो। तर, वाङ अहिलेसम्म पक्राउ परेका छैनन्।

वाङ मुख्य नाइके हङकङबाट सुन पठाउने हुन् भने ९ र ६० किलो सुन नेपालमा व्यवस्थापन गर्ने भने दावा छिरिङ हुन्। चिनियाँ मूलका बेल्जियम नागरिक दावा अहिले जेलमा छन्। उनी १४ साउन २०८० मा पक्राउ परेका थिए। दावाका व्यापारिक साझेदार पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रहेको अनुसन्धानमा खुलेको थियो।

वाङसँग पूर्वसभामुख तथा माओवादी नेता महरा र उनका छोरा राहुलको सिधा सम्पर्क रहेको पनि ब्युरोको अनुसन्धानमा खुलेको थियो। ९ किलो सुनको अनुसन्धान सिलसिलामा राहुल पक्राउ परे पनि कृष्णबहादुरलाई भने सामान्य सोधपुछ गरेर छाडिएको थियो। दीपेशलाई पनि बयान मात्रै लिइएको थियो।

भेप प्रकरणमा राहुल १३ भदौ २०८० मा पक्राउ परे। अदालतले दोषी ठहर गरेपछि उनी १४ महिना जेल सजाय काटेर १३ कात्तिक २०८१ मा रिहा पनि भइसके। त्यतिबेला प्रतिवादी नबनाइएका महरा त्यही प्रकरणको थप अनुसन्धानका लागि पक्राउ परेका हुन्, जसलाई प्रहरीले नै पुष्टि गरेको छ। प्रहरीका सूचना अधिकारी श्रेष्ठ भन्छन्, “त्यतिबेलाकै घटनाको पुन: अनुसन्धान गर्न आवश्यक देखिएकाले उहाँलाई पक्राउ गरिएको हो।”