काठमाडौं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरू पार्टीको नियमित महाधिवेशनको पक्षमा उभिएका छन्। केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको परामर्श छलफलमा विशेष महाधिवेशनको मुद्दा उठिरहेका बेला, नेता शेखर कोइरालासँग निकट रहेका जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा देखिएका छन्।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा सक्रिय रहेका बेला जिल्ला सभापतिहरूले केन्द्रको मात्र नेतृत्व परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारेका छन्। उनीहरूले तत्काल सबै जिल्ला सभापतिहरू भेला बोलाएर, सभापति शेरबहादुर देउवासहित केन्द्रीय समितिमा नियमित महाधिवेशनका लागि दबाब दिने योजना बनाएका छन्।
धादिङ जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार उनीबाहेक महेन्द्रध्वज जीसी (नवलपुर), तेजेन्द्र खनाल (ओखलढुंगा), बुद्ध लामा (मकवानपुर), रूपनारायण जबेगू (पाँचथर), बर्मा लामा (दोलखा), रमेशकुमार महत (नुवाकोट) र डिकबहादुर लिम्बू (मोरङ)ले विशेष महाधिवेशनको साटो नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन्। उनले केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका तुरुन्त ल्याउनु आवश्यक रहेको बताए।
त्यस्तै, महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने पक्षमा रहेका जिल्ला सभापतिहरू भेलापछि पार्टी विधान संशोधनसहितका विषय सभापति देउवालाई ध्यानाकर्षण पत्रमार्फत बुझाउने तयारीमा छन्। जिल्लाहरूमा समन्वयको लागि प्रदेशअनुसार कार्यविभाजनसमेत गरिएको छ। उनीहरूको बुझाइअनुसार अधिकांश जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा छन्।
नेता शेखरसहितका नेताहरू छोटो र द्रुत प्रक्रियाबाट नियमित महाधिवेशनको पक्षमा उभिएका छन् भने महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशनको पक्षमा छन्। सभापति देउवासहितका संस्थापन पक्षका नेताहरू विशेष महाधिवेशनले पार्टी विभाजन हुने र तत्काल महाधिवेशन सम्भव नहुने जिकिर गर्दै आएका छन्।