काठमाडौं। डब्ल्यूटीटी युथ कन्टेन्डर प्रतियोगितामा सहभागी खेलाडीसहित नेपाली टेबलटेनिस टोलीलाई एनआरएनए वेस्टर्न अस्ट्रेलियाले सम्मान गरेको छ।
अक्टोबर ८ देखि ११ तारिखसम्म अस्ट्रेलियाको पर्थमा भएको प्रतियोगितामा सहभागी ३ खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकसहित ५ जनालाई सम्मान गरिएको हो ।
सम्मानित हुने खेलाडीमा आर्यन शाही, प्राज्ना महर्जन र सुरम्या शाक्य, प्रशिक्षकमा राकेश महर्जन तथा टोली व्यवस्थापकमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन छन्।
उनीहरुलाई एनआरएनए वेस्टर्न अस्ट्रेलियाका स्टेट को-ओर्डिनेटर हरिवंश सन्जेल, एनआरएनए वेस्टर्न अस्ट्रेलियाका अध्यक्ष नवीन भण्डारी, नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलियाका पूर्वअध्यक्ष आङ दावा शेर्पा र टेबलटेनिसका पूर्वनेपाल च्याम्पियन अजय सुवालले एक कार्यक्रमबीच सम्मान गरे।
नेपाली टोली पर्थबाट अक्टोबर १४ देखि १८ तारिखसम्म हुने टेबलटेनिस प्रशिक्षण शिविरमा सहभागी हुन थाइल्यान्ड जानेछ।