काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

विपिन जोशीको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिका लागि परराष्ट्र मन्त्रालयले पहल जारी राख्ने।

२८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। हमासद्वारा मारिएका विपिन जोशीको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हमासले विपिनको शव हिजो (सोमबार) रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेपश्चात डीएनए परीक्षणबाट पहिचानसमेत भइसकेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । आजै (मंगलबार) परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलस्थित समकक्षी एडन बार तालसँग गरेको फोनवार्तामा पनि विपिनको निधनबारे औपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। इजरायली परराष्ट्र-सचिव तालले विपिनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

७ अक्टोबर २०२३ देखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका इजरायलको लर्न एन्ड अर्न कार्यक्रममा सहभागी नेपाली विद्यार्थी विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत २ वर्षको अवधिमा विभिन्न तहबाट प्रयासहरु गरेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। इजरायल र हमासबीच युद्धविराम भएपछि हिजो (सोमबार) इजरायली सेना (आईडीएफ) ले त्यहाँस्थित नेपाली राजदूत, विपिनका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठकमार्फत रिहा हुने बन्दीमा विपिनको नाम समावेश नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी गराएको थियो।

‘विपिन जोशीको मृत्युको खबरले हामी सबै स्तब्ध भएका छौँ। यस दुखद् घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले विपिनको शव नेपाल ल्याइसकेपछि उनको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालासँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिका लागि पहल जारी राखिने प्रतिबद्धता पनि जनाएको छ।