काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

देश माओवादी केन्द्रको एजेन्डामै अघि बढ्छ : माओवादी संयोजक दाहाल

२९ आश्विन २०८२
अ+
अ-

धादिङ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले देश माओवादी केन्द्रको एजेन्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। धादिङको थाक्रे गाउँपालिकाको महादेवबेँसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने धारणा राखे।

संयोजक दाहालले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको दाबी गरे। ‘हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो,’ उनले भन, ‘जेन्जी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।’

सरकारमा बस्दा जेन्जीहरूलाई दमन गर्ने र जेन्जीमा माग र एजेन्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको बताए। उनले थपे, ‘सरकारमा बसेर जेन्जीहरुलाई दमन गर्ने र सडकमा जेन्जीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसले प्रचार गर्ने गरेका छन्। हामी उनीहरुजस्तै होइनौं। माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेन्जीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो।’

निर्वाचन नहुने हो कि नहुने भन्ने आशंका होइन निर्वाचन गराउने गरी भूमिका खेल्न पनि उनले आग्रह गरे। ‘निर्वाचन हुँदैन कि भनेर द्विविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा गरिसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।’

पाँचवटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने संकेत दिँदै दाहालले पार्टीको केन्द्रीय समिति बैठकबाट जेन्जीका मागअनुसारै नेतृत्व तहमा युवाहरूलाई ल्याउने नीतिगत निर्णय भइसकेको उनले उल्लेख गरे। पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने दाहालको प्रतिबद्धता छ। जेन्जीका माग र माओवादी केन्द्रले संविधान निर्माणको समयदेखि उठाएका एजेन्डा एउटै भएको संयोजक दाहालको भनाइ छ।