काठमाडौँ। ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरको सुपर सिक्स चरणको अन्तिम खेलमा नेपाल आज सामोआसँग भिड्दैछ।
यो खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजेबाट ओमानमा हुनेछ। नेपाल जारी प्रतियोगिताबाट दुई खेल अगावै विश्वकपमा छनोट भइसकेको छ । भने, सामोआको विश्वकप सपना अन्त्य भइसकेको छ।
बुधबार राति बलियो टिम ओमानलाई ३८ रनले पराजित गरेपछि नेपालको उपाधि सम्भावना अझ प्रबल बनेको हो। सुपर सिक्समा नेपाल ८ अंकसहित शीर्ष स्थानमा रहेको छ। दोस्रो र तेस्रो स्थानमा रहेका यूएई र ओमानका ६–६ अंक छन्। यूएईले सबै खेल सकिसकेको छ भने ओमानले आजै जापानसँग अन्तिम खेल खेल्दैछ।
नेपालले आज सामोआलाई पराजित गर्न सके अपराजित रहँदै १० अंकसहित छनोटको उपाधि जित्नेछ। सुपर सिक्सबाट नेपालसँगै ओमान र यूएई विश्वकपका लागि छनोट भइसकेका छन्। नेपाल र ओमान दुई खेल अगावै विश्वकप पुगिसकेका हुन् भने जापान, कतार र सामोआ प्रतियोगिताबाट बाहिरिइसकेका छन्।
टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।