काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

३१ आश्विन २०८२
अ+
अ-

काठमाडौं। भाइटीकाको दिन अर्थात् कात्तिक ६ गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’ ले नयाँ गीत ‘बाचुन्जेल पो…’ सार्वजनिक गरेको छ। गीतमा शब्द तथा संगीत प्रशान्त शिवाकोटीको छ। स्वर प्रशान्त र झुमा लिम्बूले दिएका छन्।

चलचित्र ‘सोल्टिनी’को कथा अन्तरजातीय प्रेमकथामा आधारित छ, जसले सामाजिक विभेद, समुदायबीचको असमानता र प्रेममा देखिने संघर्षलाई उजागर गर्छ। निर्देशक अर्जुन सुवेदी निर्देशित यस चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बू मुख्य भूमिकामा छन्। उनीहरूसँगै विल्सनविक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको पनि अभिनय छ।

यसअघि सार्वजनिक ट्रेलरले चलचित्रप्रति दर्शकको उच्च चासो बढाएको थियो। ट्रेलरमा सामाजिक सन्देशसहितको प्रेमकथा प्रस्तुत गरिएको छ, जसले ‘सोल्टिनी’लाई केवल मनोरञ्जनका लागि होइन, सामाजिक चेतना फैलाउने चलचित्रका रूपमा पनि उभ्याउने संकेत गर्छ।

चलचित्र ‘सोल्टिनी’को प्रमोसन अभियानअन्तर्गत कलाकार टोली देशका विभिन्न सहरमा देउसी-भैलो कार्यक्रममा सहभागी हुने भएको छ। पहिलो दिन कात्तिक २ गते झापाको दमक, दोस्रो दिन कात्तिक ३ गते सुनसरीको धरान, तेस्रो दिन कात्तिक ४ गते कास्कीको पोखरा र चौथो दिन कात्तिक ५ गते काठमाडौंमा देउसी-भैलो आयोजना गरिएको ‘सोल्टिनी’का प्रोजेक्ट सुजन खतिवडाले बताए।