काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

देवकोटा जयन्ती

महाकविले अचानक प्रश्न गर्नुभयो, ‘ल भन् त काजी, पृथ्वी एन्टिक्लक घुमे के हुन्छ?’ विडम्बना, आज ९० वर्ष पुग्दासमेत मलाई यसको उत्तर थाहा छैन।

३ कार्तिक २०८२
साइकल रोकेर नारायणप्रसाद बास्कोटा र हरिहरनाथ रेग्मीसँग गफगाफ गरिरहेका महाकवि देवकोटा। तस्बिर : मदन पुरस्कार पुस्तकालय
अ+
अ-

महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिवारसँग पुरानो सम्बन्ध हो, हाम्रो। महाकविका दाजु लेखनाथ र मेरा बुवा वीरेन्द्रसिंह खत्री मिल्ने साथी। त्यसैले धोबीधारास्थित लेखनाथको घरमा बुवाहरूको जमघट भइरहन्थ्यो, पासा खेल्न।

म स्कुल पढ्दादेखि नै महाकविको घर जाने गर्थें। त्यसैले परिवारका अन्य सदस्यसँग पनि राम्रो सम्बन्ध थियो। बुवाको साथी भए पनि उहाँहरूलाई दाइ भनेर सम्बोधन गर्थें।

लेखनाथ दाइ परिवारमा सबैभन्दा जेठो। त्यसपछि दुर्गानाथ। महाकवि साइँलो। दिदी लोकप्रिया जोशी पनि साहित्यकार हुनुहुन्थ्यो। त्यतिबेलाका थोरै महिला लेखकमध्ये एक। गोरखापत्रमा उहाँका थुप्रै लेख-रचना प्रकाशित हुन्थे।

म सानै थिएँ। तर, उहाँहरू मलाई काजी भनेर सम्बोधन गर्नुहुन्थ्यो। सायद बुवा सुब्बा भएकाले होला। बुवाले पनि राणाकालमा कोलकाताबाट स्नातक गर्नुभएको थियो।

मलाई सानोको कुरा त्यति थाहा छैन। तर, खेल्दै उहाँहरूको घर पुग्दा कोठामा पस्ने गरेको थिएँ। डिल्लीबजार त्यतिबेला तीन कुराले बढी चर्चित थियो। पहिलो, राजनीति। नेपालका सचेत वर्ग प्रायः डिल्लीबजारकै सेरोफेरोमा बस्थे। दोस्रो, साहित्य। लक्ष्मीप्रसादजस्ता धुरन्धर साहित्यकार यतै थिए। तेस्रो, खेलकुद। महावीरजस्तो चलेको क्लब यहीँ थियो।

यसबाहेक पनि डिल्लीबजार अर्को एउटा कुराले बढी चर्चित थियो– लप्टनको होटल। यहाँ अक्सर लक्ष्मीप्रसाद साहित्यिक बहसमा मग्न हुन्थे। त्यहाँ राजा महेन्द्र पनि कहिलेकाहीँ भेष बदलेर कुरा सुन्न आउने गरेको सुनेको थिएँ।

यही डिल्लीबजारको सेरोफेरोमा खड्का काजीको होटल पनि थियो। पद्मकन्या स्कुलनजिकै। उसको सानो भाइ चेस्टर मेरो मित्र। छाती ठूलो भएका कारण उसको नाम नै चेस्टर राखेका थियौँ।

खड्का काजीको होटलमा पनि लक्ष्मीप्रसादलगायत विद्वान्‌हरूको भिड लाग्थ्यो। हामी उहाँहरूको गफ सुन्न जान्थ्यौँ। बाफ रे बाफ, कस्तो कुरा गर्ने। हाम्रो दिमागमै पस्दैनथ्यो। देश र विदेशका सम्पूर्ण जानकारी खोतलेर चर्को बहसमा डुब्ने। सुन्दा खुब रमाइलो लाग्थ्यो।

नृपेन्द्रसिंह केसी। तस्बिर : बिक्रम राई/नेपालन्युज

साहित्यिक बहसमा भीमनिधि तिवारी, बालकृष्ण समलगायत थुप्रै विद्वान्‌को जमघट हुन्थ्यो। त्यतिबेला तीनचार कप चिया नपिउने मान्छे हुँदैनथे। कतिले पैसा तिरेर जान्थे। नतिर्ने सबैको हिसाब महाकविको खातामा। उहाँको बानी थियो, पैसा आएको बेला घ्वाप्प तिर्ने। अरू बेला उधारोमा।

एकपटक उहाँको उधारो ४५ रुपैयाँ पुगेछ। सायद बिर्सनुभएको थियो होला, एकदिन चेस्टरले मेरै अगाडि भन्यो, ‘माड्साब, तपाईंको अलिकति बाँकी छ।’

त्यहाँ मलाई पनि देखेर सायद उहाँले नमीठो मान्नुभयो। भन्नुभयो, ‘पछि तिर्छु।’ मैले चेस्टरलाई गाली पनि गरेँ– के मागिरहेको भनेर। उसले भन्यो, ‘के गर्ने यार, दोकानमा लगानी छ।’

२०१४ सालमा शिक्षामन्त्री भएपछि पहिलो महिनाको तलबबाट महाकविले त्यो उधारो चुक्ता गर्नुभयो। उहाँलाई धेरैले गरिब भनेको सुनेको छु। तर, म त्यो मान्दिनँ। उहाँ ठूलो हृदय भएको मान्छे। आफैँले कति खानुहुन्थ्यो र!

डिल्लीबजारमा उहाँको र मेरो भेट भइरहेकै हुन्थ्यो। तर, नमस्कारको औपचारिकतासँगै त्यो समाप्त हुन्थ्यो। एकपटक म डिल्लीबजार पीपलबोटमा साइकलको पन्चर टाल्न गएको थिएँ। त्यहाँ कुमार नामको टायर पसले थियो। एक छिनपछि उहाँ पनि टुप्लुक्क आइपुग्नुभयो। मैले उहाँलाई पालो छोडिदिएँ। पन्चर टाल्दै गर्दा उहाँले दुइटा चुरोट सिध्याउनुभयो। म उहाँलाई नै हेरिरहेको थिएँ। सोध्नुभयो, ‘काजीले साइन्स पढेको होइन ?’ मलाई अचम्म लाग्यो। कहिल्यै यसरी नसोध्ने मान्छे। भनेँ ‘हो’ भने।

त्यहीबेला कुमारले टायर टालेको साइकलको पांग्रा पहिले उल्टो घुमायो, त्यसपछि सुल्टो। त्यो उहाँले गहिरोसँग नियालिरहनुभएको थियो।

मलाई पुनः प्रश्न गर्नुभयो, ‘ल भन् त काजी, पृथ्वी एन्टिक्लक घुमे के हुन्छ ?’ म चकित परेँ। यसको उत्तर कहाँबाट दिने?

सुरुमा मलाई लागेको थियो, उहाँले कति धेरै चुरोट पिउनुहुन्छ। पछि लाग्यो, उहाँ चुरोट पिउँदा पनि गहिराइमा गएर सोच्नुहुँदो रहेछ। उहाँले त्यतिबेला गरेको प्रश्नको उत्तर ९० वर्ष हुँदासमेत पाउन सकेको छैन।

(केसीसँग नवीन अर्यालले गरेको कुराकानीमा आधारित।)