काठमाडौं। तिहारको बेला कास्की जिल्लाका विभिन्न स्थानमा जुवातास चलिरहेको सूचनाको आधारमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहररूबाट ६ लाख रुपैयाँ नगद र तास–कौडा सहितका जुवाजन्य सामग्री बरामद गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बताए।
जुवाजन्य गतिविधि नियन्त्रणका लागि चलाइएको निगरानी अभियान अन्तर्गत सोमबार साँझसम्म प्रहरीले तीन ठाउँमा छापा मारेको थियो।
२ असोज अपराह्न ४:३० मा पोखरा महानगरपालिका-९ नयाँबजारमा जुवा तास खेलिरहेको अवस्थामा पाच जनालाई पक्राउ गरिएको कार्कीले बताए। उनीहरूको साथबाट २१२ पत्ती तास र नगद २ लाख ५१ हजार ४५५ रुपैयाँ बरामद भएको छ।
३ असोज बिहान १० बजे पोखरा–२६ विजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलभित्र कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १४ थान कौडा र नगद ७७ हजार २०५ बरामद भएको छ।
३ असोजको राति साढे ११ बजे पोखरा-२ मोहरिया टोलमा प्रहरीले छापा मार्दा आठ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ६ बुक तास र नगद २ लाख ७३ हजार ४४५ बरामद भएको कार्कीले बताए।
पक्राउ परेकाहरूमाथि जुवा ऐनअन्तर्गत अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।