काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

५ कार्तिक २०८२
अ+
अ-

विराटनगर। सुरक्षा निकायको सुझावलाई बेवास्ता गर्दै सञ्चालन गरिएको जहदा महोत्सवमा झडप भएको छ। मङ्गलबार राति करिब १२:३० बजे मोरङको जहदा–४, रामचोकस्थित मेलास्थलमा आयोजकहरूबीच कुटाकुट भएको हो।

घटनामा कटहरी गाउँपालिका–४ का ३५ वर्षीय अनिलकुमार सहनी घाइते भएका छन्। उनको टाउकोमा गहिरो चोट लागेको छ। उनको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोरङका प्रहरी उपरीक्षक कवित कटवालका मेलामा आयोजकहरूबीच मदिरा सेवनपछि झडप भएको बताए। “शान्ति सुरक्षा व्यवस्था त थियो, तर विवाद अचानक नियन्त्रणबाहिर गयो,” उनले भने। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

यसअघि असोज २६ गते लेटाङ महोत्सव जुवाजन्य खेल, मदिरा बिक्री तथा झगडाका कारण बीचमै रोकिएको थियो। त्यसको केही दिनमै, असोज ३० देखि कात्तिक १३ सम्म जहदामा मेला सञ्चालन गर्ने निर्णय गरिएको थियो।

सुरक्षा निकायले पछिल्ला घटनालाई मध्यनजर गर्दै मेला सिफारिस नगर्न प्रशासनलाई स्पष्ट सल्लाह दिएको थियो। तर जहदा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साह र प्रमुख प्रशासकीय अधिकृतको पत्रसहित पुगेपछि मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मेला सिफारिस गरेका थिए।

प्रजिअ यादवले भने, “गाउँपालिकाको औपचारिक सिफारिस आएपछि र आयोजकले स्वास्थ्य बीमाको व्यवस्था गरेपछि मात्र सिफारिस गरिएको हो।” उनले झडप भएको खबर आएपछि मेला रोक्न निर्देशन दिइएको बताए।