राजनीति
नयाँ दलको नाम नेकपा (समाजवादी,) खनाल र नारायणकाजी एकताको विपक्षमा
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको छ। समाजवादी मोर्चामा रहेको अर्को दल नेपाल समाजवादी पार्टी (नेसपा) पनि एकताका लागि सहमत छ।
“समाजवादी मोर्चामा सामेल सबै दलहरूबीच एकता गर्ने गरी वार्ताहरू जारी छन्,” नेसपा अध्यक्ष महेन्द्रराय यादव भन्छन्, “सबै दलहरूबीच एकता गरेर जाने विषयमा सैद्धान्तिक सहमति छ। तीन दलबीको एकता अन्तिम चरणमा छ।”
यादवका अनुसार नयाँ दलमा पुष्पकमल दाहाल पहिलो नम्बर र माधवकुमार नेपाल दोस्रो वरीयताका अध्यक्ष हुने निधो गरिएको छ। “सबैभन्दा ठूलो दलकै नेताले नयाँ दलको नेतृत्व गर्नुहुनेछ,” यादव भन्छन्।
पार्टी एकताबारे अन्तिम निर्णय गर्न नेकपा (एकीकृत समाजवादी)ले १२ देखि १४ कात्तिकमा केन्द्रीय कमिटीको बैठक डाकेको छ। “वार्ता सकारात्मक रूपमा अघि बढेको छ। हामीबीच एकताको विषयमा सैद्धान्तिक सहमति जुटेको छ,” वार्ता टोलीका सदस्य प्रकाश ज्वाला भन्छन्। उनका अनुसार पार्टी पुनर्गठनको सन्देश दिन पनि बहुपदीय र धेरै तह नभएको कमिटी बनाउने विषयमा छलफल भएको छ। “बहुपद नराख्ने छलफल भएको छ। तर, कमिटीको आकार कत्रो बनाउने भन्ने विषय पनि टुंगिन बाँकी छ,” ज्वाला भन्छन्।
माओवादी नेत्री रेखा शर्मा नयाँ दलको सैद्धान्तिक आधार नेकपाकालीन नै हुने बताउँछिन्। “नयाँ दलको मुख्य सैद्धान्तिक आधार नेकपाकालीन हुनेछ,” शर्मा भन्छिन्, “दल मात्रै नभएर विभिन्न समूहमा विभाजित रहेकाहरूमा पनि एकताका लागि छलफल चलिरहेको छ।” उनी नेकपा (समाजवादी)का राजु कार्कीसहितका नेताहरूसँग पनि छलफल भइरहेको जनाउँछिन्।
माओवादी र एकीकृत समाजवादीबीच पार्टीको नाम नेकपा (समाजवादी) राख्ने सहमति बनेको छ। सो दल निर्वाचन आयोगमा दर्ता छ। कार चुनाव चिह्न रहेको सो दलको निर्वाचन आयोगमा दर्ता नम्बर १७० छ। दलका संयोजक कार्की एमाले हुँदै सशस्त्र विद्रोहका क्रममा माओवादी बनेका हुन्। “नेकपा (समाजवादी)का नेताहरूसँग सहमति जुट्न नसके दलको अर्को नाममा पनि सहमति हुनसक्छ,” नेता ज्वाला भन्छन्।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकताका लागि छलफल अघि बढाए पनि त्यो दलका सम्मानित नेता झलनाथ खनालसहितका नेताहरू विपक्षमा उभिएका छन्।
असोजको दोस्रो साता बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले विचार मिल्ने दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो।
एकताबाट टाढिए चन्द
नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग पनि माओवादी केन्द्रले एकताका लागि वार्ता गरिरहेको छ। तर, त्यो सकारात्मक देखिएको छैन। विप्लव (नेत्रविक्रम चन्द) पनि सैद्धान्तिक रूपमा एकताका लागि सहमत भए पनि दाहाल र माधवकुमार नेपालको साटो नयाँ दलको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्छन्। चन्दको यही अडानले नेकपासँग एकता हुन कठिन परेको स्रोतको भनाइ छ। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा चन्दले लेखेका छन्, ‘एकता संगठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवनव्यवहार, संस्कृतिसहितको एकरूप बुझाइसँग सम्बन्धित छ। यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुंगो लागिसकेको छैन।’
तथापि, चन्दले कम्युनिस्टहरूबीच एकताको आवश्यकता बढेको र त्यसमा सहमत हुने कुरालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्। यसअघि माओवादी केन्द्रले समाजवादी मोर्चामा आबद्ध दलहरूबीच एकता गर्ने निर्णय गरेलगतै चन्दको दल नेकपाले पनि वार्ता टोली गठन गरेको थियो।
यता, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकताका लागि छलफल अघि बढाए पनि त्यो दलका सम्मानित नेता झलनाथ खनालसहितका नेताहरू विपक्षमा उभिएका छन्। खनाल नेपालपछि दोस्रो वरीयतामा छन्। उनी अहिले कुनै पनि दलसँग एकता गर्न नहुने पक्षमा छन्। उनले पार्टी अध्यक्ष नेपालसहित वामपन्थी दलहरू दक्षिणपन्थीको पछि लागेको आरोप लगाएका छन्।
‘वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो। तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले मुलुकको चौतर्फी सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र विदेशीहरूसँग अपमानपूर्ण सन्धि र सम्झौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रीडास्थल बन्नु अनुवार्य नै थियो। अहिले त्यही नै भइरहेको छ,’ खनालले गत साता भएको नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा भनेका थिए।
माओवादी केन्द्रमा पनि खनालजस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी एकताको विपक्षमा छन्।