काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

मुस्ताङ

तीन हजार वर्ष पुराना अवशेष पाइने मुस्ताङको स्याउ, तालतलैया, गुम्बा, पठारलगायत हिमाली जीवनशैलीले धेरै पर्यटकलाई आकर्षित गर्दै आएको छ।

९ कार्तिक २०८२
मुक्तिनाथ मन्दिरबाट देखिएका हिमाल। सबै तस्बिर : प्रभाकर गौतम/नेपालन्युज
अ+
अ-

प्राकृतिक सौन्दर्य र पर्यटनको पर्याय नाम–ठाम बनिसकेको मुस्ताङमा यतिबेला ट्राफिक जाम छ। भाइटीकाको भोलिपल्ट रेकर्ड नै बन्ने गरी झन्डै सात हजार पर्यटक पुग्दा घाँसा, मार्फा, जोमसोमदेखि मुक्तिनाथ क्षेत्रसम्मका सडक सवारीसाधनले खचाखच देखिए, पर्यटकलाई होटल पाउन हम्मेहम्मे पर्‍यो। हरेक वर्ष बढिरहेको मुस्ताङ क्रेजको उदाहरण हो यो।

एकैदिन मुस्ताङ पुग्ने सात हजार पर्यटकमध्ये ६ हजार ५०० सय स्वदेशी र बाँकी विदेशी थिए।

डेढ/दुई दशकअघिसम्म मुस्ताङ धेरै नेपालीका लागि हिमालपारि दुरदराजको ठाउँ थियो। कि ट्रेकिङ जाने विदेशीहरू कि धार्मिक उद्देश्यले भ्रमण गर्ने नेपाली तिर्थालु हप्तौँसम्म हिँडेर यहाँ आउँथे।

एक दशकयता सडक यात्रा सहज बनेपछि मुस्ताङ आउने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढ्यो। सामाजिक सञ्जाल प्रचारप्रसारको माध्यम बन्न थालेपछि त हरेक नेपालीको पुग्नैपर्ने अनिवार्य बकेटलिस्ट गन्तव्य बनेको छ, मुस्ताङ।

हिमाल हेर्दै पर्यटक

विदेशीहरूलाई दशकौँदेखि आकर्षित गरेको मुस्ताङलाई अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले सन् २०२४ मा भ्रमण गर्नुपर्ने विश्वका ५२ गन्तव्यहरूको सूचीमा समावेश गरेपछि यसको चर्चा थप चुलिएको छ। प्राकृतिक वैभव र ऐतिहासिक महत्त्वको संक्षिप्त विवरणसहित मुस्ताङलाई न्युयोर्क टाइम्सले पर्यटकीय स्थानहरूको सूचीक्रममा ३७औँ स्थानमा समेटेको थियो। त्यसअघि सीएनएनले सन् २०२३ मा विश्वका २३ गन्तव्यमध्ये भ्रमण गर्नैपर्ने गन्तव्यका रूपमा मुस्ताङलाई सिफारिस गरेको थियो।

जोमसोमबाट मुक्तिनाथतर्फ लाग्दा देखिएको दृश्य

मुस्ताङको लोकप्रियता बढ्नुमा फिल्म र गीतसंगीतको भूमिका पनि विशेष छ। हाल चलचित्र घरमा चलिरहेको जेरी अन टप छायांकनका क्रममा मुस्ताङ पुगेका अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमा लेखेका थिए, ‘१० वर्षभन्दा बढी भइसकेको छ, तर जेरीप्रति देखाइएको माया र सम्मान आज पनि हिजोजस्तै लाग्छ। सम्पूर्ण मुस्ताङ उपत्यकालाई म हार्दिक धन्यवाद दिन चाहन्छु। यो क्षण साँच्चै अद्भुत छ।’

मुस्ताङको मार्फामा जेरीको छायांकन भएकाले त्यहाँको गल्लीको नामसमेत ‘जेरी गल्ली’ राखिएको थियो। जेरी गल्लीको भ्रमण गर्दै अनमोलले उक्त पोस्ट लेखेका थिए।

कागवेनीको गल्ली

जेरी एउटा उदाहरण मात्र हो, पृथक् भूगोल मुस्ताङमा धेरै स्वदेशी-विदेशी फिल्म र वृत्तचित्र छायांकन भएका छन्। जसमध्ये मुस्ताङकै सेरोफेरोको कथा भनिएका कागबेनी कबड्डी शृंखला विशेष चर्चित छन्। हाल मुस्ताङमा कबड्डी ५ को छायांकन चलिरहेको छ। सन् १९९२ मा बलिउड कलाकार अभिताभ बच्चन र श्रीदेवीअभिनीत खुदा गवाहका केही दृश्य छायांकन भएको मुस्ताङमा हलिउड फिल्महरू टासीसम्म छायांकन भएका छन्। नेपथ्य समूहको ‘जोमसोमै बजारमा १२ बजे हावा सरर’ गीत त धेरै नेपालीको प्रिय गीत नै हो।

दुई अग्ला शिखर धवलागिरि र नीलगिरिबीचमा अवस्थित मुस्ताङ नेपाल र तिब्बतबीचको मुख्य व्यापारिक मार्ग थियो। तीन हजार वर्ष पुराना अवशेष पाइने मुस्ताङको स्याउ, तालतलैया, गुम्बा, पठारलगायत हिमाली जीवनशैलीले धेरै पर्यटकलाई आकर्षित गर्दै आएको छ।

मुक्तिनाथ मन्दिर जाने सिँढी

बेनी–जोमसोम राजमार्गबाट डाँडाकाँडा, झरना, खोला र हिमालको दृश्यावलोकन गर्दै जब मार्फा, जोमसोम र कागबेनी पुगिन्छ, नयाँ भूगोल र संस्कृतिको प्रवेशद्वार पुगेको आभास हुन थाल्छ।

मुक्तिनाथ जाने बाटोमा पर्ने सेल्फी डाँडा

यसपछिका यात्रामा देखिने मनोरम दृश्य र महसुस गरिने अनुभूति शब्दातीत छन्। यसपटकको मुक्तिनाथसम्मको यात्रामा मैले देखेका दृश्यलाई तस्बिरमा कैद गर्ने प्रयास गरेको छु।

मुक्तिनाथ मन्दिरको १०८ धारा

मुक्तिनाथ मन्दिर र कुण्ड

कागवेनीस्थित गुम्बा

कागवेनीमा पितृकार्य गरिँदै

कागवेनीमा बेच्न राखिएका शालिग्राम र अन्य पूजा सामग्री

मुक्तिनाथमा यात्रु ओसार्ने घोडा

मुक्तिनाथबाट देखिएको हिमशृंखला

जोमसोम जाने बाटोमा देखिएका भेडाका बथान

मुक्तिनाथ मन्दिरतर्फ गइरहेका पर्यटक तथा तीर्थालु

कागवेनी र स्थानीयका कोलाज