काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। जेन-जी प्रदर्शनका क्रममा गत २३ र २४ भदौमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवनमा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन आज (मंगलबार) बाट नियमित भएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, रातो बत्ती तथा सडक लेन उल्लंघन गरी कारबाहीमा परेका चालकलाई ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा भौतिक ट्राफिक सचेतना कक्षा सञ्चालन भएको हो। मंगलबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म १६७ चालक सचेतना कक्षामा सहभागी भए।

कार्यालयका अनुसार सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा बिहान ९-१०, १०:३०-११:३०, १२-१, १:३०-२:३० र ३-४ बजेसम्म कक्षा सञ्चालन हुनेछ। साथै शुक्रबार भने साढे २० बजेको कक्षा मात्र सञ्चालन हुने पनि कार्यालयले जनाएको छ।

साथै सेवाग्राही विशेष रुपमा कार्यालय समयमा उपस्थित हुन असहज हुनेहरुको सहजताका लागि अन्य सार्वजनिक बिदाका दिनबाहेक प्रत्येक शनिबार १० र १२ बजे एक-एक घण्टा दुईवटा कक्षा रामशाहपथमा सञ्चालन हुने पनि कार्यालयले जनाएको छ।

जेन-जी प्रदर्शनका क्रममा ट्राफिक सचेतना कक्षा, भवन, उपकरणलगायत सामग्री जलेर नष्ट भएका थिए। अहिले भवनसहित आवश्यक उपकरणहरू तयार भएका छन्।

मदिरा सेवन गरी सवारीसाधन चलाउने, तीव्र गतिमा गाडी चलाउने, बत्ती तथा लेन अनुशासन पालना नगर्ने चालकले सचेतना कक्षा लिनुपर्ने व्यवस्था छ ।