काठमाडौं। त्रिभुवन विमानस्थलमा विशिष्ट व्यक्तिको आउजाउमा प्रयोग हुने भीआईपी कक्ष बन्द गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा भीआईपी कक्ष बन्द गरिएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जनाए। जेन-जी आन्दोलनका क्रममा २६ भदौमा भीआईपी कक्ष बन्द गरिएको थियो। त्यसयता भीआईपी कक्ष खुलेको छैन। त्रिभुवन विमास्थलबाट आवजजावत गर्ने सबै विशिष्ट व्यक्ति अहिले सर्वसाधारणसँगै लाइन बस्ने गरेका छन्।
भीआईपी कक्ष बन्द रहेकाले विशिष्ट व्यक्तिहरू पनि सर्वसाधारणको लाइनमा बस्नुपरेको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार त्यतिबेला सुरक्षाको कारणले भीआईपी कक्ष बन्द गरिएको थियो। “यससम्बन्धी नयाँ निर्णय केही भएको छैन,” उनले भने, “नयाँ सुरक्षा मापदण्ड तयार गरेर मात्रै खुला गर्न सकिन्छ।” भीआईपी कक्ष बन्द गरेकाले विशिष्ट व्यक्तिहरू पनि सर्वसाधारणको लाइनमा बस्नुपरेको उनको भनाइ छ।
नेपाल राजपत्र खण्ड ६४ (साउन ५, २०७१) संख्या १२ को सूचनाको बुँदा (ख) (३) मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनलमा भीआईपी कक्ष प्रवेश तथा प्रयोगसम्बन्धी व्यवस्था छ। उक्त व्यवस्थाअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट, पूर्वविशिष्ट व्यक्ति, मन्त्री, सांसदलगायतले उक्त कक्ष प्रयोग गर्ने गरेका छन्।