काठमाडौं। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता हुने भएको छ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आज (बुधबार) बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२३औँ बोर्ड बैठकले प्रतियोगिताको नयाँ मिति तोकेको हो। योसँगै प्रतियोगिता फागुन १ देखि ७ गतेसम्म आयोजना गर्ने निर्णय भएको छ।
२०७९ सालमा पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले १०औँ राष्ट्रिय खेलकुदको झन्डा लिएको थियो। त्यतिखेर प्रतियोगिता २०८१ मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो।

तर सरकार परिवर्तन भएसँगै प्रतियोगिता अन्योलमा परेको थियो। प्रतियोगिता गत २३ देखि ३० चैतसम्म आयोजना गर्ने निर्णय गरिएको थियो। त्यसलाई पनि सारेर जेठ पहिलो सातामा पुर्याइएको थियो। उक्त मितिअगाडि नै तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता नहुने घोषणा गरेका थिए।
उनको सरकार ढलेसँगै सत्तामा आएका जेन-जी युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बुधबार बोर्ड बैठकबाट नयाँ मिति तोकेका हुन्। सरकारले प्रतियोगिताका लागि ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।
कर्णाली प्रदेशले पहिलोपल्ट प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी लिएको हो। यसका लागि प्रदेश सरकारले झन्डै दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ।
