काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ कार्तिक २०८२
सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा बयानका लागि जाँदै रास्वपाका सभापति रवि लामिछाने।
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग साढे पाँच घण्टा बयान लिएको छ।

नख्खु कारागारबाट झिकाएर लामिछानेसँग सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा बुधबार साढे पाँच घण्टा बयान लिइएको हो। “उहाँलाई कारागार प्रशासनमार्फत जाँचबुझ आयोगको कार्यालयमा झिकाएर साढे पाँच घण्टा बयान लिइएको छ,” आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले नेपालन्युजलाई भने।

बयानमा लामिछानेलाई २४ भदौको जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारमा भएको घटनाक्रमबारे प्रश्नोत्तर गरिएको शर्माले बताए। “त्यसदिन नख्खु कारागारमा के कस्ता घटना भए, कसरी रवि लामिछाने कारागारबाट निस्किनुभयो,” बयानबारे शर्माले भने, “को-को लिन गएका थिए, कसको योजनामा भगाइयो वा भाग्न सफल हुनुभयोलगायत त्यस दिनका सबै घटनाक्रमको विषयमा केन्द्रित रहेर बयान लिइएको छ।”

बयानका क्रममा आयोगले त्यसदिन जेल प्रशासन तथा प्रहरीको भूमिकाबारे पनि लामिछानेसँग सोधेको छ। “बयानका कुरा सबै भन्न मिल्दैन, सबै विषयमा कुरा भएको छ,” शर्माले भने।

जेन-जी आन्दोलनको दोस्रो दिन २४ भदौमा लामिछाने नख्खु कारागारबाट निस्किएका थिए। उनी जेलबाट निस्किएपछि देशव्यापी रूपमा जेलबाट कैदी भाग्ने क्रम सुरु भएको थियो। देशभरिका २६ कारागारबाट कैदी भागेका थिए।

ती जेलबाट १४ हजार ५४९ जना भागेका थिए। त्यसमध्ये अझै पाँच हजार एक सय कैदी सम्पर्कमा आएका छैनन्। आयोगले अब सुरक्षाकर्मीहरूसँग समेत बयान लिने शर्माले बताए।

आयोगले जेन-जी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकाभित्र मुख्य भूमिकामा रहेका प्रहरीका इन्चार्जहरूलाई राजधानी नछाड्न निर्देशन दिइसकेको छ। आयोगले प्रहरी प्रधान कार्यालयलाई उपत्यकाभित्र इन्चार्ज खटिएका सबैलाई राजधानी छोड्नै परे अनुमति लिन निर्देशन दिएको छ।

गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडीसहितका व्यक्तिलाई राजधानीबाहिर निस्किनु परे अनुमति लिन आयोगले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

दुवाडी बुधबार चितवन गएका थिए। मुख्यसचिव एकनारायण अर्यालसँग अनुमति लिईकन राजधानी छोडेका उनीबारे जाँचबुझ आयोगले प्रहरी प्रधान कार्यालयसँग चासो राखेको थियो।