काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

स्थलगत

नेपालगन्ज विमानस्थलमा टर्मिनल भवन निर्माण र रुपैडिहामा ब्रोड-गेज रेलवे विस्तारपछि दुवै देशका नागरिक उत्साहित

२१ कार्तिक २०८२
नेपालगन्जमा स्तरोन्नति भइरहेको विमानस्थल र भारतपट्टिको रेलवे ट्र्याक। तस्बिरहरू : कृष्ण अधिकारी
अ+
अ-

पश्चिम नेपालको प्रमुख सहर नेपालगन्ज र यसैसँग जोडिएको सीमावर्ती भारतीय बजार रुपैडिहामा गरी दुई पूर्वाधार परियोजनाको निर्माण पूरा हुँदा दुवै देशका नागरिकलाई सहजता हुने भएको छ। नेपालगन्जको राँझा विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिनल भवनको निर्माण गत असोज मसान्तमै सकिइसकेको छ। यसैगरी, रुपैडिहा बजारमा ब्रोड-गेज रेलवे विस्तार र नयाँ रेलवे स्टेसन निर्माण भएको छ।

यी नयाँ संरचनाबाट दुवै देशका नागरिक एकसाथ लाभान्वित हुने भएका छन्। भारतबाट ठूलो संख्यामा धार्मिक र अन्य पर्यटकहरू नेपालगन्ज-रुपैडिहा नाका हुँदै चीनको तिब्बतस्थित कैलास मानसरोवर, काठमाडौँको पशुपतिनाथ र मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका साथै विभिन्न पर्यटकीय गन्तव्यमा घुम्न आउने गरेका छन्। यस्तै, रुपैडिहा नाका हुँदै नेपालीहरू अयोध्या, बनारस, हरिद्वारलगायत भारतीय तीर्थस्थल जाने गरेका छन्।

राँझामा अत्याधुनिक टर्मिनल भवन

राँझा विमानस्थलको सुविधासम्पन्न टर्मिनल भवनको निर्माण गत असोज मसान्तमा सम्पन्न भएको हो। पुस २०७९ बाट काम सुरु गरेको काठमाडौँको शर्मा एन्ड कम्पनीले आगामी पुस मसान्तमा टर्मिनल भवनको निर्माण सक्ने सम्झौता गरेको थियो। तर, निर्धारित समयभन्दा तीन महिनाअगावै निर्माण पूरा भएको हो। टर्मिनल भवन निर्माण आयोजनाका प्रमुख नलविक्रम थापाका अनुसार निर्माण कम्पनीले नवनिर्मित टर्मिनल भवन २१ कात्तिकमा नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सडक यातायात विस्तार नहुँदा नेपालगन्ज विमानस्थल पश्चिम नेपालको ‘लाइफलाइन’ बनेको थियो।

टर्मिनल भवन आगामी दिनमा नेपालगन्ज विमानस्थलबाट दिल्लीलगायत छिमेकी मुलुकका सहरमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न आवश्यक पर्ने अध्यागमन, भन्सार र क्वारेन्टाइन जाँच कक्ष बनाउन मिल्ने गरी डिजाइन गरिएको छ। टर्मिनल भवनको यात्रु क्षमता प्रतिघण्टा करिब ६२८ छ।

पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफलमा फैलिएको टर्मिनल भवन क्षेत्रमा एप्रोन एरिया अर्थात् जहाज पार्किङ गर्ने स्थान पनि निर्माण गरिएको छ। जहाँ एकैसाथ एटीआर जहाज तीनवटा वा ट्विनअटर जहाज पाँचवटा पार्किङ गर्नमिल्ने निर्माण कम्पनीका प्रतिनिधि विनोद सुवेदी बताउँछन्।

टर्मिनल भवन सेमि-बेसमेन्टसहित तीन तलाको छ। बेसमेन्ट यात्रुकक्ष र व्यावसायिक प्रयोजन दुवैमा प्रयोग गर्न मिल्ने गरी बनाइएको छ। यात्रुको चाप बढ्दा व्यावसायिक प्रयोजनलाई घटाएर यात्रुकक्षका रूपमा प्रयोग गर्न मिल्ने गरी बेसमेन्टको डिजाइन गरिएको आयोजना प्रमुख थापा बताउँछन्। टर्मिनल भवनभित्र एयरलाइन्स काउन्टर १४ वटा, भीआईपी कक्ष तीनवटा, एकपटकमा १३० जनाले प्रयोग गर्नमिल्ने १० वटा सुविधायुक्त शौचालय निर्माण गरिएको छ।

भवन परिसरमा अत्यधिक वर्षा र बाढीका बेला पनि सहजै पानीको निकास हुने गरी ढल तथा नाला निर्माण गरिएको छ। त्यस्तै, भवन परिसरमा सवारीसाधन पार्किङ क्षेत्र थप विस्तार र व्यवस्थित बनाइएको छ। विमानस्थल कार्यालयका अनुसार १०२ वटा साना चारपांग्रे, ३० वटा अटोरिक्सा र पाँचवटा बस पार्किङ गर्न मिल्नेछ। भवन क्षेत्रमा १० वटा इभी गाडी चार्जिङ स्टेसनका लागि पूर्वाधार पनि निर्माण गरिएको छ। भवनअगाडि करिब नौ हजार स्क्वायर मिटर क्षेत्रफलमा बगैँचा बनाइएको छ।

नेपालगन्ज एयरपोर्ट। तस्बिर : कृष्ण अधिकारी

विमानस्थल देशको पहिचान र प्रतिष्ठासँग प्रत्यक्ष जोडिएकाले टर्मिनल भवन निर्माण गर्दा सुविधा र सौन्दर्यमा विशेष ध्यान दिइएको टर्मिनल भवन निर्माण आयोजनाका प्रमुख थापा बताउँछन्। सुविधासम्पन्न टर्मिनल भवन बन्दा नेपालको समृद्धिमा टेवा पुग्ने मात्र नभई नेपाल र भारत दुवै देशका नागरिकलाई लाभ हुने उनको भनाइ छ। भन्छन्, “भारतबाट रुपैडिहासम्म रेलमा आएर नेपालगन्जबाट जहाजमार्फत काठमाडौँ आउने-जाने सुविधा सहज हुने भएको छ। यसले दुवै देशका मानिसलाई लाभ पुग्छ।”

नेपालगन्ज विमानस्थल पश्चिम नेपालकै प्रमुख विमानस्थल हो। यहाँबाट काठमाडौँ, पोखरा तथा कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा नियमित र चार्टर फ्लाइट हुन्छन्। नेपालगन्जबाट काठमाडौँ र पोखराका लागि हुने उडानमा करिब १० प्रतिशत यात्रु भारतीय हुन्छन्। पछिल्ला दिनमा नेपालगन्जबाट दैनिक सरदर २० वटा उडान हुने गरेको छ भने करिब १५ सय यात्रुले आवतजावत गर्ने गरेका छन्। शिवरात्रि आसपासको समयमा नेपालगन्ज विमानस्थलबाट एकैदिन चार-पाँचवटासम्म चार्टर फ्लाइट हुने गरेका छन्।

पछिल्लो समय नेपालगन्ज विमानस्थल हुँदै कैलास मानसरोवरको दर्शनका लागि जाने पर्यटकको संख्या बढ्दै गएको छ। वैशाखदेखि असोजसम्म भारतीय पर्यटक नेपालगन्ज विमानस्थलबाट हुम्लाको सिमकोट पुगेर स्थलमार्गबाट हिल्सा, ताक्लाकोट हुँदै कैलास मानसरोवरको दर्शन गर्न पुग्ने गरेका छन्। गत वर्ष करिब चार हजार भारतीय नेपालगन्ज विमानस्थलबाट हुम्ला गएका थिए।

गत वर्षदेखि चार्टर फ्लाइटमार्फत कैलास मानसरोवरको दुरदर्शनका लागि पनि भारतीय पर्यटक नेपालगन्ज विमानस्थल आउने गरेका छन्। गत वर्ष करिब पाँच हजार २०० भारतीयले नेपालगन्ज विमानस्थलबाट श्री एयरको चार्टर फ्लाइटबाट कैलास मानसरोवरको दुरदर्शन गरेका थिए। कात्तिकदेखि फागुनसम्म चार्टर फ्लाइटमार्फत पर्यटकले कैलास मानसरोवरको अवलोकन गर्ने गरेका छन्।

नेपालगन्ज विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माणले पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने नेपालगन्जस्थित होटल सिद्धार्थका महाप्रबन्धक बद्री कोइराला बताउँछन्।

सीमावर्ती बजार रुपैडिहामा ब्रोड-गेज रेलमार्ग विस्तार भएपछि नेपालगन्जवासीले रुपैडिहादेखि बाँकेको कोहलपुरसम्म रेलवे विस्तारको काम सुरु गर्न नेपाल सरकारसँग माग गरेका छन्।

सन् १९६१ देखि बाँकेको खजुरामा सञ्चालनमा आएको विमानस्थल सन् १९८० मा राँझामा सारिएको थियो। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सडक यातायात विस्तार नहुँदा नेपालगन्ज विमानस्थल पश्चिम नेपालको ‘लाइफलाइन’ बनेको थियो।

मुलुक संघीय संरचनामा गएसँगै पछाडि परेको नेपालगन्जमा नयाँ टर्मिनल भवन निर्माण भएपछि नेपालगन्जवासीहरू उत्साहित छन्। पछिल्ला वर्षहरूमा विमानस्थलको विस्तार र सुविधा थप्ने काम भइरहेको छ। धावनमार्ग एक हजार ५०० मिटरबाट बढाएर एक हजार ७०० मिटर बनाइएको छ भने रनवे लाइट, ओभरले र एप्रोन निर्माण गरिएको छ।

रुपैडिहामा ब्रोड-गेज रेलमार्ग विस्तार

नेपालगन्जसँग जोडिएको भारतीय सीमावर्ती बजार रुपैडिहामा ब्रोड-गेज रेलवे विस्तार भएको छ। रेलमार्ग विस्तारसँगै रुपैडिहामा रेलवे स्टेसन भवन र तीनवटा प्लेटफर्मलगायत संरचना बनाइएका छन्। रुपैडिहादेखि बहराइचसम्म करिब ५५ किलोमिटर ब्रोड-गेज र विद्युत् लाइन विस्तार गरिएको छ।

भारतको रेलवे विभागको टोलीले ब्रोड-गेज रेलवेको १९ असोजमा सीआरएस (कमिसन अफ रेलवे सेफ्टी) परीक्षण गरेर प्रमाणपत्र दिइसकेको छ। परीक्षणमा रुपैडिहादेखि नानपारासम्म प्रतिघण्टा १२० किलोमिटरको गतिमा सफलतापूर्वक रेल गुडाइएको थियो।

रुपैडिहाको रेलवे जङ्सन। तस्बिर : कृष्ण अधिकारी

छोटी लाइनको संरचना भत्काएर ब्रोड-गेज रेलवे विस्तारको काम सुरु भएपछि १३७ वर्षदेखि रुपैडिहादेखि बहराइचसम्म चल्दै आएको रेलवे सेवा सन् २०२३ देखि बन्द छ। जनवरी २०२६ देखि रुपैडिहाबाट रेलवे सेवा सुरु गर्ने गरी तयारी भइरहेको रुपैडिहाका पत्रकार मणिराम शर्मा बताउँछन्। पहिलो चरणमा रुपैडिहाबाट अयोध्या, बनारस, हरिद्वारका साथै गोरखपुरसम्म एक्सप्रेस र यात्रु सेवा सुरु गर्ने रेलवे विभागको तयारी छ। बसको यात्राभन्दा रेलको यात्रा सहज, सस्तो र छिटो हुने भएकाले हरेक दृष्टिले यात्रु लाभान्वित हुनेछन्।

रुपैडिहाबाट भारतका विभिन्न सहरमा जाने बस तथा रेलवे सेवाका करिब ५० प्रतिशत यात्रु नेपाली नागरिक हुने गरेका छन्। रुपैडिहाबाट ब्रोड-गेज रेलवे सेवा सुरु भएपछि भारतका विभिन्न सहर जाने नेपाली यात्रुहरूलाई सहज हुनेछ। बर्सेनि ठूलो संख्यामा नेपाली तिर्थालु भारतका धार्मिक स्थलको दर्शनमा जाने गरेका छन्। रेलवे सेवा सञ्चालनमा आएपछि नेपालबाट रुपैडिहा नाका हुँदै भारतका प्रमुख धार्मिक स्थल अयोध्या, बनारस र हरिद्वारलगायतको दर्शन तथा उपचार, शिक्षा र रोजगारीका लागि भारतका विभिन्न सहर जाने नेपालीहरू लाभान्वित हुने पर्यटन व्यवसायी श्रीराम सिग्देल बताउँछन्।

पहिलो चरणमा यात्रु सेवा सञ्चालन हुने र दोस्रो चरणमा मालवाहक सेवा सुरु गर्ने लक्ष्यका साथ मालगोदामलगायत संरचना निर्माण भइरहेको नेपाल-भारत संयुक्त पत्रकार मञ्च रुपैडिहाका पूर्वसंयोजक सुरेशकुमार मदेशिया बताउँछन्। रुपैडिहासम्म मालवाहक रेलवे सेवा सुरु भए भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सामानहरूको ढुवानी सहज र सस्तो भई नेपालगन्जका उद्योग-व्यवसायमा सकारात्मक प्रभाव पर्ने नेपालगन्ज उद्योग व्यापार संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ बताउँछन्।

रुपैडिहा-कोहलपुर रेल सेवा विस्तारको माग

सीमावर्ती बजार रुपैडिहामा ब्रोड-गेज रेलमार्ग विस्तार भएपछि नेपालगन्जवासीले रुपैडिहादेखि बाँकेको कोहलपुरसम्म रेलवे विस्तारको काम सुरु गर्न नेपाल सरकारसँग माग गरेका छन्।

भारतको पूर्वोत्तर रेलवे गोरखपुरले १५ वैशाख २०७५ मा रुपैडिहादेखि कोहलपुरसम्म रेलमार्ग विस्तारका लागि प्रारम्भिक नक्सा तयार पारेर नेपाललाई बुझाएको थियो। पूर्वोत्तर रेलवे गोरखपुरबाट खटिएको आरके टेक्नो कन्सल्टेन्सीका प्राविधिक टोलीका इन्जिनियर सन्तोष त्रिपाठीसहितका प्राविधिकको टोलीले सर्भे गरेको थियो। रुपैडिहादेखि बाँकेको बालेगाउँ, पुरैना, पुरैनी हुँदै नेपालगन्जको राँझा विमानस्थलको दक्षिणबाट नेपालगन्ज-कोहलपुर सडक क्रस गरेर नयाँबस्ती हुँदै कोहलपुरसम्मको करिब साढे १६ किलोमिटर सिंगल लाइन रेलवे बनाउने लक्ष्यका साथ सर्भे गरिएको थियो। यसपछि प्रारम्भिक नक्सा तयार पारेर नेपाल सरकारलाई बुझाएको सात वर्ष बितिसक्दा रेलमार्ग निर्माणको काम सुरु हुन सकेको छैन।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठ नेपाल सरकारले रुपैडिहादेखि बाँकेको कोहलपुरसम्म रेलमार्ग विस्तारको काम तत्काल सुरु गर्न प्रबन्ध मिलाउनुपर्ने बताउँछन्।

पूर्वोत्तर रेलवे गोरखपुरका तत्कालीन प्रमुख इन्जिनियर राम जनमले प्रारम्भिक चरणको सर्भेको नक्सासहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बाँके र रेल विभाग काठमाडौँलाई बुझाएका थिए। प्रतिवेदन पाएलगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेले रेलवे विस्तार हुने क्षेत्रको जग्गाको चलनचल्तीको मूल्य प्रतिकट्ठा पाँच लाखदेखि ६० लाख रुपैयाँसम्म बढी निर्धारण गरेको थियो।