बातचित
एउटा ककटेल पार्टीमा बुवाले महेन्द्र सरकारसँग कुरा राखेपछि तत्कालै राजाले सहायकलाई बोलाएर विदेशी पर्यटकले एयरपोर्टमै भिसा पाउनुपर्छ भन्नुभयो। त्यसैदिनदेखि भिसाको नयाँ नियम सुरु भयो।
बोरिस लिसानेभिच (४ अक्टोबर १९०५ – २० अक्टोबर १९८५)सँग विविध परिचय जोडिएका छन्- ब्याले डान्सर, होटल व्यवसायी, पर्यटन उद्यमीलगायत। तर, नेपालमा उनको चिनारी योभन्दा गहिरो र ऐतिहासिक छ। रुसी क्रान्तिबाट ज्यान जोगाएर विभिन्न देश हुँदै सन् १९५० को दशकमा नेपाल आई रेस्टुराँ तथा होटल व्यवसाय चलाएका उनलाई नेपालका ‘ग्रान्डफादर अफ टुरिज्म’ मानिन्छ।
विविध प्रकारका फलफूल, तरकारी र हयान्डीक्राफ्ट लगायत नेपाल भित्र्याएका बोरिस नेपालकै पहिलो होटल ‘रोयल होटल’ का संस्थापक हुन्। परिवारसहित नेपाल बसेका उनको ८० वर्षको उमेरमा सन् १९८५ मा काठमाडौँमै निधन भएको थियो। बोरिसका छोरा माइकल (मिस्का) लिसानेभिचले पनि नेपालमा लामो समय बिताएका छन्। कुनै बेला ठमेलमा संघ मित्र रेस्टुराँ सञ्चालन गरेका उनी लेखन, होटल व्यवसाय र अध्यात्ममा सक्रिय छन्। बोरिसका बारे उनैका जेठा छोरा मिस्कासँग प्रशान्त अर्यालले गरेको बातचितको सम्पादित अंश :
तपाईंका बुवा बोरिस लिसानेभिचको सन्दर्भबाट कुराकानी सुरु गरौँ। उहाँलाई नेपालीमाझ कसरी चिनाउनुहुन्छ?
मेरा बुवालाई धेरैले बोरिस नामले चिन्थे। उहाँलाई लिसानेभिच कहिल्यै भन्दैनथे। पुरानो पुस्ताले बोरिस भन्नासाथ चिन्थ्यो, अहिलेको पुस्तालाई त्यतिले पुग्दैन। नेपालमा पर्यटन सुरु गरेको मेरा बुवाले नै हो। उहाँलाई ग्रान्डफादर अफ टुरिज्म पनि भन्छन्। नेपालमा उहाँले विभिन्न प्रकारका फलफूल, तरकारी, ह्यान्डीक्राफ्टलगायत धेरै कुरा ‘इन्ट्रोड्युस’ गराउनुभयो।
नेपालको पहिलो होटल रोयल होटल उहाँले नै सुरु गर्नुभएको होइन?
हो। मेरो विचारमा रोयल होटल सन् १९५४/५५ मा खोलेको हुनुपर्छ। हामी नेपाल आएको सन् १९५१ मै हो। सत्य भवनमा बस्थ्यौँ। त्यसपछि बुवाले बहादुर भवन (हालः निर्वाचन आयोग रहेको ठाउँ)मा रोयल होटल सुरु गर्नुभयो।
त्यतिबेला रोयल होटलको माहोल कस्तो थियो? के के कुरा सम्झनुहुन्छ?
रोयल होटलको एकातिर बगैँचामा धेरै जनावर थिए। सिकारीहरूले पहाडबाट जनावर ल्याउँथे, बुवा र हामीलाई त्यो धेरै मन पर्थ्यो। बगैँचाभरि हरिण हुन्थे। मेरी आमाले एउटा न्याउरी मुसा पाल्नुभएको थियो। एउटा पान्डा पनि थियो। पछाडिको बगैँचामा सानैदेखि पालेका दुइटा हिमाली भालु थिए, जुन मेरी हजुरआमाले हेर्नुहुन्थ्यो। त्यहाँ सानोतिनो चिडियाखाना नै थियो भन्दा हुन्छ।
मुख्यतः त्यहाँको याक एन्ड यती बार चर्चित थियो। त्यसबेलाका धेरै सेलिब्रेटी, हलिउड स्टारहरू र अरू धेरै मान्छे आउँथे। याक एन्ड यती बारमा धेरै किस्सा हुन्थे। पछि त्यही याक एन्ड यती रेस्टुराँ भयो र होटल बन्यो। तर, म सानै भएकाले त्यहाँका धेरै कहानी थाहा छैन।

सन् १९६९ मा होटल रोयल बन्द भयो र बोरिसले याक एन्ड यती रेस्टुराँ एन्ड होटल स्थापना गरे।
पर्वतारोहणका लिडरहरू पनि आउँथे। उनीहरूले आफ्ना सबै सामान अगाडिपट्टिको ठूलो बगैँचामा फिँजाएर राख्थे। सामानहरू ठीक छन् कि छैनन् भनेर जाँच्थे।
होटलमाथि अपार्टमेन्टमा आमाबुवाको फ्ल्याट थियो। पुरानो दरबारलाई होटल बनाउने काम सजिलो थिएन। सबै कुरा पुराना थिए। ट्वाइलेटलगायत अन्य सेवासुविधाका लागि कतिपय सामान भारतबाट ल्याउनुपरेको थियो। त्रिभुवन राजपथमा गाडी त्यति नचल्ने, बाथटबलगायतका कतिपय चिजहरू त मान्छेलाई बोकाएर ल्याइयो। रोयल होटल एकदम ‘युनिक’ थियो। बेग्लै आकर्षण थियो।
होटलमा आउने सेलिब्रेटीका नाम सम्झनुहुन्छ?
हिमालयन एक्सपिडिसनका एड्मन्ड हिलारी, जोन बेसप, सेलिब्रेटीमा फ्रेन्च स्टार जँ–पल चार्ल्स बेलमोन्डो, बेलायतकी स्टार अभिनेत्री भिभियन लेलगायत धेरै थिए। स्पेनका राजा–रानी पनि आएका थिए हनिमुनमा। त्यतिबेला काठमाडौँमा बस्ने अरू धेरै ठाउँ थिएन, पहिलो रोजाइ थियो रोयल होटल।
कुनै सेलिब्रेटीलाई टेनिस खेल्न मन लाग्दा पार्टनर चाहिन्थ्यो। बुवाले मलाई पठाउनुहुन्थ्यो। जस्तो, बेलमोन्डोसँग जोडिएको रोचक सन्दर्भ छ। मलाई बेलमोन्डोसँग टेनिस खेल्न पठाउँदा उनले मतिर हेरेर बुवालाई सोधे, ‘यो फुच्चेसँग खेल्ने?’
जब खेल सकियो, बेलमोन्डोले बुवाकहाँ गएर भने, ‘यो फुच्चेले त राम्रै खेल्दो रहेछ। मलाई त साँच्चैको हरायो।’
बेलायती महारानी एलिजाबेथ र राजकुमार फिलिप, त्यसपछि जवाहरलाल नेहरूको भ्रमणदेखि राजा महेन्द्रको राज्याभिषेकसम्म आएका विदेशी अतिथि सबैलाई बोरिसले नै ‘होस्ट’ गर्नुभएको थियो, हैन?
हो, अरू मान्छे नै थिएनन्, जसको त्यति धेरै अनुभव होस्। अनुभव मात्र होइन, त्यसबेला सामानहरू पनि नभएर मगाउनुपरेको र सुधार गर्नुपरेको थियो। भारतबाट हवाईजहाजमा आइस मगाएको, आइपुग्दा त सबै पग्लिसकेको थियो।
जंगलमा सयौँजनाका लागि क्याम्प बनाइएको थियो। सिंहदरबार, लालदरबार, शीतलनिवासमा आयोजना हुने भोजको नेतृत्व बुवाले लिनुभयो, जुन भयंकर ठूलो काम हो। तर, त्यस्तो चुनौती बुवालाई एकदम मन पर्थ्यो। जेमा हात हाल्यो, त्यो सबै काम राम्रोसँग गर्नुपर्थ्यो उहाँलाई।
६ हजार कुखुरा ल्याएकामा तीन हजार त मरेका थिए रे, कसरी व्यवस्थापन भएछ त?
विस्तृत कुरा त मलाई थाहा छैन। तर, यो वा त्यो छैन भने त्यसको सट्टा अर्को चिजको जुगाड गर्नमा माहिर हुनुहुन्थ्यो बुवा। अतिथिहरू कोही शाकाहारी हुन्थे, मासु खानेहरू पनि कोही केको मासु खाने, कोही केको। वेटरहरूलाई पनि तालिम दिनुपर्यो। कसलाई कसरी के दिने वा नदिने भन्ने कुरा सबै थाहा थियो उहाँलाई। अद्भुत मान्छे! उहाँको जीवन एकदम रोचक छ, जसबारे टाइगर फर ब्रेकफास्ट किताबमा पनि लेखिएको छ।
भारतबाट सामान ल्याएको भन्नुभयो। रोयल होटलमा त बेकरी पनि थियो, ओभनहरू भारतबाटै ल्याउनुभएको थियो?
होइन, ओभनहरू यहीँ बनाइए। इँटाको ओभन बनाइएको थियो। नेपालमा पाउरोटी र केक बनाउन पनि बुवाले नै सुरु गर्नुभएको हो। कृष्ण पाउरोटीका मान्छेहरूले त्यहीँबाट सिकेका हुन्।
बोरिसले कुन कुन खानेकुरा नेपालमा पहिलोपटक ‘इन्ट्रोड्युस’ गर्नुभयो?
सब्जी र फलफूलमा च्याउ, चुकन्दर, ब्रोकाउली, स्ट्रबेरी आदि। यसबारे किताबमा अझ धेरै जानकारी होला। रोयल होटलको ठूलो बगैँचा थियो, धेरै खालका सब्जी त्यहाँ पनि रोपिएका थिए। बिस्तारै अरू मान्छेहरूले पनि त्यसको नक्कल गर्न थाले र सिके।
उहाँले नेपालमा पहिलोपटक सामूहिक रूपमा पर्यटक ल्याउनुभयो। त्यसरी समूहमा आउने पर्यटकलाई उहाँकै पहलमा भिसा दिलाइएको भनिन्छ, कुरा के हो?
रोयल होटलकै एउटा ककटेल पार्टीमा महेन्द्र सरकार पनि हुनुहुन्थ्यो। उहाँसँग बुवाले नजिकबाट कुरा गर्न पाउनुभयो। पर्यटकलाई नेपालले आकर्षित गर्छ, त्यसैले उनीहरूलाई किन नल्याउने भनेर बुवाले कुरा राख्नुभयो।

भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको नेपाल भ्रमणका क्रममा राजा महेन्द्र, रानी रत्न, इन्दिरा गान्धीहरूसँग बोरिस लिसानेभिच। तस्बिर : इएससी डटकम डटएनपी
त्यही पार्टीमा राजाले सहायकलाई बोलाएर भोलिदेखि जति पनि विदेशी पर्यटक नेपाल आउँछन्, उनीहरूले एयरपोर्टमै भिसा पाउनुपर्छ भन्नुभयो। त्यसैदिनदेखि भिसाको नयाँ नियम सुरु भयो। पहिलो समूह बुवाले ल्याउनुभएको हो या होइन, तर पर्यटकको समूहले उहाँलाई टेलिग्राम पठाउँथे।
याक एन्ड यती बारमा नेपालका पनि ‘हु इज हु’ देखि कूटनीतिक मिसनलगायत सबै खालका मान्छे आउँथे, हैन?
बसुन्धरा (शाह) सरकार आउँथे। राजदूत र पाइलटहरू पनि सबै हुन्थे। कोही कोही पाइलट राति याक एन्ड यती बारमा अनि अर्को दिन विमान दुर्घटना भएको भनेर चर्चा हुन्थ्यो। नियमित आउने तीनचारजना पाइलट त्यसै गरेर बिते।
त्यसबेलामा हेलिकोप्टर पनि दुर्घटना भएको थियो। डीसी–थ्री जहाज पनि ‘क्र्यास’ भएको थियो। भनौँ, त्यो बार एउटा न्युज सेन्टरजस्तो थियो। सबैले के भइरहेको छ, त्यहीँबाट जानकारी पाउँथे।
तपाईंका बुवा होटेलियर, पर्यटन उद्यमीका साथै सिकारी पनि होइन? उहाँले नेपाल र भारतका जंगलमा धेरै सिकार गर्नुभएको थियो नि?
भारतमा हुँदा धेरै सिकार गर्नुहुन्थ्यो। मान्छे खाने बाघ र चितुवाहरू मार्नुहुन्थ्यो। मान्छे खाने बाघको पछि लागेर बुवा जानुहुन्थ्यो। नरभक्षी बाघ त धेरै खतरनाक, बुवाले ५/६ वटा मार्नु पनि भयो। भारतका महाराजाहरूसँग उहाँको राम्रो मित्रता थियो। उनीहरू बुवालाई सिकारका लागि बोलाउँथे।

चितवनमा सिकारका क्रममा बाघ ढालेपछि श्रीमती इंगरसँग बोरिस
म सानो छँदा मेरो जन्मदिनमा बाघको सिकार गर्न भनेर लैजानुभएको थियो। रातभरि हामी मचानमाथि बस्यौँ, तल मरेको भैँसी राखिएको थियो। त्यो भैँसी खान आउँछ भनेर हामी रातभरि बन्दुक लिएर कुर्यौँ। हाम्रो गन्ध पायो कि कुन्नि! टाढाबाट बाघको आवाज मात्र सुन्यौँ, बाघ आएन।
त्यतिबेला म १३ वर्षको थिएँ। यो चितवनको कुरा हो। मैले एउटा हरिण मारेँ। १३ वर्षको केटा बन्दुक लिएर हरिणको जीउमा खुट्टा राखेर उभिएको फोटो पनि छ।
बोरिस तत्कालीन रुस (हाल: युक्रेन)मा जन्मिनुभयो। रुसी क्रान्ति सुरु भएपछि उहाँ त्यहाँबाट भाग्नुभयो र पेरिस आउनुभयो। उहाँ राम्रो ब्याले डान्सर पनि हुनुहुन्थ्यो, र ब्याले गर्दागर्दै ल्याटिन अमेरिका, उत्तर अमेरिका, यूरोप अनि पूर्वी एसिया हुँदै कलकत्ता आउनुभएको हो नि, हैन?
हो। ब्याले डान्स मात्रै होइन, उहाँले आफ्नै डान्स बनाउनुभयो। त्यसबेला जुन डान्सहरू पपुलर थिए, जस्तो– आधुनिक सहरका डान्स, त्यसलाई ब्यालेसँग मिसाएर नयाँ शैलीका डान्स प्रस्तुत गर्नुहुन्थ्यो। बालीसहित पूर्वी एसिया, हङकङ र अन्य कैयौँ ठाउँमा प्रस्तुत गर्नुभएको थियो, उहाँकी पहिली श्रीमती बालेरिना किरासँग। दुईजना ‘डान्सर अफ द टाइम’ भनौँ न। त्यसैक्रममा कलकत्ता आइपुग्नुभयो र त्यहाँ पनि डान्स गर्नुभयो। कलकत्तामा बोरिस र किराको जोडीको निकै चर्चा थियो। अलि पछि बुवाले कलकत्तामै थ्री हन्ड्रेड क्लब सुरु गर्नुभयो।

पहिली श्रीमती किरासँग बोरिस
त्यो पनि एकदम सम्भ्रान्तहरू र ‘हु इज हु’ आउने क्लब थियो है?
त्यो क्लब सबैका लागि खुला थियो। अन्य क्लबहरूमा कि विदेशी कि भारतीय मात्रै जान्थे। थ्री हन्ड्रेड पहिलो क्लब थियो, जसमा विदेशी र भारतीय दुवै सहभागी हुन्थे। महाराजादेखि राजदूतहरूसम्म आउँथे। त्यतिबेला लडाइँ पनि चलिरहेको थियो। सेनाका मान्छे र पाइलटहरू पनि आउँथे।
सन् १९४७ पछि भारत सरकारले रक्सीमा नियन्त्रण गर्न थालेपछि क्लब बिस्तारै कमजोर हुँदै गयो। त्यसपछि बोरिस नेपाल आउनुभयो है?
हो। भारतको सहयोग माग्न राजा त्रिभुवन गएका थिए। थ्री हन्ड्रेड क्लबमै बुवाले त्रिभुवन सरकारलाई भेट्नुभएको थियो। त्रिभुवनसँगका गोप्य बैठकहरू क्लबमाथि रहेको बुवाको अपार्टमेन्टमा हुन्थ्यो।
भारतको समर्थन पाएर त्रिभुवन फेरि राजा बने। त्यसपछि उनले बुवालाई नेपाल आउन निम्ता पठाए, नेपाल हेर्न आऊ भनेर। बुवा पहिलोचोटि त्यसरी नै आउनुभएको हो।
राजा त्रिभुवनले बोलाएर आइसकेपछि बोरिसले सुरुमा नेपालमा रक्सीको डिस्टिलरी खोल्ने प्रयास गर्नुभएको रहेछ है?
रक्सीको डिस्टिलरी सुरु गर्नुभयो। आइडिया एकदम राम्रो थियो, रक्सी पनि राम्रो थियो। तर, त्यतिबेलाको मुख्य समस्या, मान्छेहरूले रक्सी आफ्नै घरमा बनाएर बेच्थे, र डिस्टिलरी खुलेपछि घरेलु रक्सी बेच्नेहरूको व्यापार सुक्यो। त्यसपछि मान्छेहरूले मेरा बुवालाई कसरी फसाउने भनेर आरिस गर्न थाले। कर कार्यालयबाट नयाँ नियम बनाएर धेरै कर लगाइयो। बुवाले कर तिर्न नसकेपछि पक्रेर थुनियो।
धेरैले उहाँलाई छुटाउने प्रयास गरे। राजदूतहरूले समेत सकेनन्। अन्ततः महेन्द्र सरकारको राज्याभिषेकको बेला बुवालाई छोडिदिए।
अपसोचको कुरा, बुवा जेलमै छँदा उहाँकी आमा अर्थात् मेरी हजुरआमा अस्पतालमा अन्तिम अवस्थामा हुनुहुन्थ्यो। बुवाले एकचोटि त भेट्न जान देऊ भनेर आग्रह गर्दासमेत अनुमति पाउनुभएनछ। हजुरआमा अस्पतालमै बित्नुभयो।
तपाईंकी आमाकी आमा अनि बुवाकी आमा पनि यहीँ बस्नुहुन्थ्यो नि, हैन?
आमाकी आमा त खुब तगडा। ‘भाइकिङ स्पिरिट’ थियो। रोयल होटलका सबै कर्मचारीलाई हैरान पार्ने। जहिले पनि छड्के हान्ने। भान्छामा, सरसफाइमा केही गडबड छ भने कर्मचारीलाई खुब गाली गर्नुहुन्थ्यो। मिसेज् स्कट भनेपछि उनीहरू थरथर काम्थे। होटलको व्यवस्थापन उहाँकै हातमा थियो।

सन् १९५५ मा स्थापित कान्तिपथको रोयल होटलमा बोरिस। यो होटल बोरिसले युवराज बसुन्धरासँगको साझेदारीमा खोलेका थिए।
एउटा प्रसंग छ नि, होटलका लागि नयाँ गाडी किन्नुपर्ने भयो। बोरिसले यहाँ गाडी किन्दा महँगो हुने भएकाले बेलायत गएर ल्यान्ड रोभर लिएर आउने निर्णय गर्नुभयो। तपाईंहरू परिवारसहित जानुभएको थियो सायद। त्यहाँबाट तपाईंहरू गाडीबाटै नेपालसम्म आइपुग्नुभयो…।
बुवा पहिलोचोटि नेपाल आउँदा हामी केटाकेटी आएका थिएनौँ। दोस्रोचोटि, दुई वर्षजति पछि आउँदा म १२ वर्षजतिको र भाइहरू ११ र ९ वर्षका थिए। इङ्ल्यान्डबाट दुइटा ल्यान्ड रोभर लिएर आयौँ। एउटा ल्यान्ड रोभरले एउटा २२ फुट लम्बाइको आल्मुनियम कभर भएको क्याराभान डोर्याएको थियो। त्यहाँभित्र चार वटा बंक बेड थिए। आमाबुवाको कोठा, बेड अनि सानो किचेन, ट्वाइलेट थियो। बुवाले हाँकेको ल्यान्ड रोभरले त्यो क्याराभान तान्थ्यो। इङ्ल्यान्डदेखि नेपाल आइपुग्न चार महिना हो कि कति लाग्यो।
त्यो क्याराभान ‘ओभरल्यान्ड टुर’ सुरु गर्ने भनेर ल्याइएको थियो। ‘लक्जरी टुर’ थाल्ने बुवाको विचार थियो। जहाँ एउटा सेफ, बारम्यान पनि ल्याउने, एकदम उच्च कोटिको ‘लक्जरी ओभरल्यान्ड टुर’ गर्ने आइडिया थियो। त्यसपछि सुरु हुन थाल्यो टुरहरू, ओभरल्यान्ड टुरहरू पनि।

१६ मार्च १९५५ मा रोयल होटलमा आएका पर्यटक
बोरिसमा एकदम ‘डाइनामिज्म’ देखिन्छ, दिमाग एकदम छिटो चल्ने, एकदमै सक्रिय। पश्चिमी मिडियामा, नेपालमा हेर्न जाने कुरा दुइटा मात्र छन्, एउटा माउन्ट एभरेस्ट र अर्को बोरिसलाई भेट्ने भन्ने हुन्थ्यो रे हैन?
उहाँको आफ्नै इतिहास कति रोचक थियो। कसैलाई केही सूचना चाहियो भने मानिसहरू बोरिसले यो सूचना जसरी पनि ल्याउनसक्छ भन्थे। कसैसँग भेट्नुपर्यो भने भेटाउन सक्ला। मुख्य चाहिँ, उहाँमा ऊर्जा र डाइनामिज्म यस्तो थियो कि मान्छेहरूले लेखे पनि- ‘माउन्ट एभरेस्ट र बोरिस’। माउन्ट एभरेस्ट जान अलि अप्ठ्यारो छ, तर बोरिसको अपार्टमेन्टमा जान सजिलो छ नि।
नेपाल आउँदा राजकुमार फिलिपले ‘बोरिस भनेको तपाईं हो?’ भने रे। उनले बोरिसका बारेमा पहिल्यै पढिसकेका रहेछन्?
उनीहरूलाई पनि थाहा थियो, ‘रोयल भिजिट’ बोरिसले नै होस्ट गर्छन् भनेर। त्यसमा एउटा कहानी छ। रानी एलिजाबेथलाई भेट्दा उनले कसैलाई हात दिँदैनथिन्, ‘बोइङ’ गर्थिन्। उनीहरू काठमाडौँ विमानस्थलबाट जब निस्किन थाले, बिदाइ गर्नेहरूको लाइन थियो। बुवा पनि लाइनमा उभिइरहनुभएको थियो। बुवाको नजिक आउने बेला रानी एलिजाबेथले आफ्नो हात दिइन्, बुवाले उनको हात समाएर चुम्नुभयो। महारानी एलिजाबेथले कसैलाई पनि त्यसरी हात दिएकी थिइनन्। बुवालाई त्यति ‘अप्रिसिएट’ गरे उनीहरूले।
त्यत्रो इतिहास बोकेको रोयल होटल कहिले, किन बन्द भयो?
सायद सन् १९६९ या ७० मा बन्द भयो। मेरो बिहे सन् १९६८ मा भएको थियो, बिहेपछि एक वर्षजति त हामी होटलमा पनि बस्यौँ।
बुवाले निजी कुरा, अप्ठ्यारो कुरा कहिले नभन्ने। आफैँभित्र राखेर त्यो समस्या समाधान गर्न खोज्नुहुन्थ्यो। आमासँग मेरो एकदम खुला सम्बन्ध थियो। सबै गोप्य कुरा आमासँग भन्न सक्थेँ। सबै गर्लफ्रेन्डलाई चिनाउन मन लाग्थ्यो। बुवासँग त्यो भएन। बुवा किन नखुल्नुभएको भनेर आमालाई पछि सोधेँ। आमाले भन्नुभयो, रुसी क्रान्तिको बेला एकदमै डरलाग्दो अवस्था थियो। बोरिसको सिंगै परिवार, सबै भाइहरू मारिए। बोरिसका बुवाको पनि भाग्ने क्रममा बाटामै मृत्यु भयो। त्यसैले होला, बुवा सबै दुःखका कुरा मनभित्रै राख्नुहुन्थ्यो। सुखका कुरा ‘सेलिब्रेट’ गर्ने, तर दुःखका कुरा नभन्ने।

सन् १९५५ मा काठमाडौँको विमानस्थलमा दोस्री श्रीमती इंगरसँग बोरिस
बहादुर भवन किन छोड्नुपरेको, मलाई विस्तृत थाहा छैन। बुवाले यति भनेको थाहा छ, ‘हाम्रो एग्रिमेन्ट सिद्धियो।’ त्यो सम्पत्ति पछि सरकारको भयो। त्यसपछि लालदरबारमा याक एन्ड यती रेस्टुराँ खोल्नुभयो। याक एन्ड यती बारमा तामाको ‘फायर प्लेस’ थियो, आमाले डिजाइन गरेको। त्यही फायर प्लेस ल्याएर लालदरबारमा याक एन्ड यती रेस्टुराँ खोल्यौँ।
रेस्टुराँको साजसज्जा चाहिँ आमाले गर्नुभयो?
आमाले नै सबै डिजाइन गर्नुभएको हो। उहाँ पनि आर्टिस्ट हुनुहुन्थ्यो। राम्रो ‘आयल पेन्टिङ’ गर्नुहुन्थ्यो। पछि प्रदर्शनी नै गर्नुभयो। डेनमार्कमा पनि प्रदर्शनी भयो। डिजाइनरको आँखा थियो आमाको।
म याक एन्ड यती होटल नगएको धेरै भयो। त्यो चिम्नी अहिले पनि त्यहीँ छ, साजसज्जा पनि त्यति फेरिएको छैन।
त्यो रेस्टुराँ तपाईंहरूले कति वर्ष चलाउनुभयो र होटलतिर जानुभयो?
धेरै भएन, तीनचार वर्ष चलाएपछि याक एन्ड यती होटल सुरु गर्ने अवस्थामा पुगियो। नेपालमा विश्व बैंक आएको थियो। बोरिसको नाम र इज्जतका आधारमा ऋण दिने भयो। राधेश्याम सर्राफले सँगै मिलेर गरौँ भने। अनि बुवाले मिलेर होटल बनाउन सुरु गर्नुभयो।
यसमा दुई कहानी छन्। एउटा कहानी अनुसार बुवालाई पार्टनरले धोका दियो। सम्झौताअनुसार कागजात बनाएन र बुवा रिसाएर सम्झौता तोडियो।
अर्को कहानी, सम्झौताअनुसार विश्व बैंकले ठूलै ऋण दिन्छ। पार्टनरले यति हाल्ने, बुवाले यति हाल्ने भन्ने सम्झौता थियो। बुवाले तोकिएको रकम जम्मा गर्न सक्नुभएन। त्यही कारण पार्टनरले अर्कै किसिमको सम्झौता बनायो। त्यो सम्झौता मिटिङमा सुनाउँदा बुवा एकदम रिसाएर फ्याट्ट उठेर निस्किनुभयो।
मलाई लाग्छ, दोस्रो कहानी सत्य हो।
धेरै वर्षसम्म म बुवाको त्यो पार्टनरसँग रिसाएको थिएँ। तर पछि मेरो एकदम निकट साथीले दोस्रो कहानी सुनायो। उसले पार्टनरलाई पनि चिनेको थियो, बुवालाई पनि। उसले त्यो कहानी सुनाएपछि मैले भनेँ– यो हुनसक्छ।
तर, यसमा समस्या के भयो भने, बुवाले त्यो सम्झौता छोड्दा याक एन्ड यती रेस्टुराँ पनि होटलमा गाभियो। आफ्नो भएन र त्यहाँबाट हामीले छोड्नुपर्यो। त्यसपछि मैले विचार गरेँ, अब केही न केही त चाँडै गर्नुपर्यो। आमाबुवा पैसा जुटाउन युरोप जानुभयो। उहाँहरू फर्कंदासम्म मैले बत्तीसपुतलीमा रेस्टुराँ तयार पारिसकेको थिएँ, बोरिस रेस्टुराँ।
राजा त्रिभुवनको मृत्यु हुँदा बोरिस धेरै रुनुभएको कुरा तपाईंकी आमाले कतै भन्नुभएको रहेछ नि!
हो, राम्रो साथी हुनुहुन्थ्यो नि त। त्रिभुवन सरकार राति ११/१२ बजे एक्लै गाडी हाँकेर रोयल होटल आउनुहुन्थ्यो। माथि बुवासँगै बसेर ह्विस्की पिउनुहुन्थ्यो, गफिनुहुन्थ्यो। त्रिभुवनको निधनले बुवालाई धेरै पीर परेको थियो।

सन् १९६९ मा बन्द भएको रोयल होटल। तस्बिर : एन्ड्रिउ हल
तपाईंकी आमा डेनिस मूलकी, जो पछि नेपाली नागरिक हुनुभयो, उहाँले बोरिसलाई व्यवसाय विस्तारमा कसरी सहयोग गर्नुभयो?
धेरैजसो समय आमाले हामी तीन दाजुभाइलाई हेर्नुपरेको थियो। रमाइलो पनि धेरै गर्नुहुन्थ्यो। बारमा, अपार्टमेन्टमा मान्छेहरू धेरै आउँथे। जसका कारण आमा ‘होस्टेस’ जस्तो हुनुपर्यो।
बुवालाई आर्थिक सहयोग हजुरआमा (आमाकी आमा)ले गर्नुभएको थियो। बुवा नयाँ प्रोजेक्ट सुरु गर्नमा एकदमै प्रतिभावान् हुनुहुन्थ्यो, तर कुनै काम सुरु भएर राम्रो चल्न थालेपछि उहाँको रुचि हराउँथ्यो। त्यसैले आफैँ कहिल्यै पैसा नकमाउने, त्यो प्रोजेक्टबाट अरूले नै फाइदा लिन्थे।
तपाईं पनि बुवाजस्तै होइन त? धेरै रेस्टुराँ चलाउनुभयो। फेरि घुम्न जानुभयो। एकदम मस्त स्वभाव छ त तपाईंको पनि।
हो, तर बुवाजत्तिको प्रख्यात थिइनँ म। मेरो रेस्टुराँ र आध्यात्मिक जीवन समानान्तर रूपमा चल्थ्यो। जस्तै, गुरु रजनीशसँग हुँदा ठमेलमा रेस्टुराँ थियो– संघ मित्र रेस्टुराँ एन्ड गेस्ट हाउस। उहाँ बितेपछि पुनामा गएर त्यहाँ पनि संघ मित्र रेस्टुराँ खोलेँ। पछि गोवा गएँ र त्यहाँ पनि यही नामको रेस्टुराँ खोलेँ।
बोरिस रेस्टुराँ चलाउँदा म रजनीशभक्त भएर सुन्तला रङको लुगा मात्र लगाउँथेँ। रजनीशको तस्बिर भएको माला लगाउँथेँ।
त्यसपछि बुवा तपाईंसँग खुसी हुनुभएन, हैन?
उहाँले बुझ्न सक्नुभएन, किन मलाई यो (रजनीश) चाहिएको छ। उहाँले धेरै नभने पनि उहाँलाई मन नपरेको थाहा थियो। मैले सम्झाउन पनि सकिनँ। आमाले मेरो भावना पहिल्यैदेखि बुझ्नुभएको थियो र जहिल्यै समर्थन गर्नुहुन्थ्यो। आमालाई किताबहरू पनि दिन्थेँ। ओशोको प्रवचन र ‘टक्स’ मन पर्थ्यो आमालाई।
बुवा बित्ने समयमा तपाईं कहाँ हुनुहुन्थ्यो?
अमेरिकाको ओरेगनस्थित रजनीशपुरममा छँदा खबर पाएँ, बुवा अस्पतालमा हुनुहुन्छ, अवस्था एकदम गम्भीर छ।

७५औँ जन्मदिनमा केक काटिरहेका बोरिस
विमानस्थलबाट सोझै वीर अस्पताल पुग्यौँ। बुवा ‘कोमा’ मा हुनुहुन्थ्यो, तर हात समात्दा केही महसुस गर्नुहुन्थ्यो। ढुकढुकी बाँकी थियो। करिब दुई घण्टाजतिपछि बित्नुभयो।
बोरिसका जिजु हजुरबुवा रुसी सेनाको लेफ्टिनेन्ट जनरल। उहाँ नेपोलियनसँग लड्न जाँदाजाँदै बीच बाटोबाट फर्केर आउनुभएको रहेछ। यसबारे बताउनुस् न।
उहाँले एउटा लडाइँ त लड्नुभयो। लडाइँमा जितेको जस्तो लाग्छ मलाई। उहाँको पोट्रेट अहिले पनि सेन्ट पिटर्सबर्ग म्युजियममा राखिएको छ।
त्यस्तो परिवारको मान्छे तपाईंहरू, नेपालजस्तो देशमा आएर वीर अस्पतालको सामान्य बेडमा जीवनको अन्तिम सास लिनुभयो बोरिसले। तपाईंका दुवै हजुरआमा नेपालमै बित्नुभयो।
हो। आमाकी आमा पनि, बुवाकी आमा पनि। एकजना भाइ पनि नेपालमै बित्यो।
कहाँको मान्छे कहाँ आएर जीवनको अन्त्य भयो, यसरी सोच्दा कस्तो लाग्छ?
अब यसपछि के हुन्छ कसलाई थाहा छ र? जहाँ भए पनि मृत्यु सबैको अगाडि छ। आफ्नो मन चियाउँदा व्यक्तिगत रूपमा मलाई नेपाल आफ्नो घर लाग्छ। मेरो दिलको घर नेपाल। नेपाली मान्छेहरूसँग हुँदा बेग्लै भावना आउँछ।
आमाको अन्तिम संस्कार पशुपति आर्यघाटमा भयो। उहाँलाई हिन्दु संस्कारअनुसार जलाएर दाहसंस्कार गरियो, हैन?
मैले नै दागबत्ती दिएँ। मैले घुमेर आगो लगाउने संस्कार सबै गरेँ।
तपाईं नेपालमा आउने–जाने गरिराख्नुहुन्छ, यसपालि बस्नुभएको कति समय भयो?
अहिले पाँच महिनाजति हुन लाग्यो।
अब फेरि किन जान लाग्नुभयो त?
यत्तिका समय नेपालमा बसे पनि, बुवाले त्यति ठूलो योगदान गरे पनि, आमाको नेपाली नागरिकता हुँदा पनि म वर्षको जम्मा पाँच महिना मात्र नेपाल बस्न पाउँछु। त्यसपछि अर्को देश जानुपर्छ। पाँच महिना बित्नासाथ भारत जानुपर्नेछ। तीनचार वर्षदेखि यस्तै चलिरहेको छ।

रोयल होटल
तपाईं अब स्थायी रूपमा नेपालमै बस्न चाहनुहुन्छ?
नेपालमै बस्न चाहन्छु।
कहाँ?
म काठमाडौँभन्दा चितवनमै खुसी छु। चितवनमा मेरा एकजना पुराना, निकै मिल्ने साथीले रिसोर्ट खोलेका छन्। त्यहाँ उनलाई फुड एन्ड बेभरेज र मार्केटिङमा मद्दत गरिरहेको छु।
तपाईंकी आमाको त नेपाली नागरिकता थियो। बुवाको थिएन?
बुवाको ब्रिटिस सब्जेक्ट पासपोर्ट थियो।
आमाको नामबाट नागरिकता लिने प्रयास गर्नुभएन?
खै, त्यो नियम त अहिले भर्खर मात्र निकालेको छ। बुझ्दै छु, कानुनी रूपमै कसरी बस्न सकिन्छ भनेर साथीसँग पनि सल्लाह भइरहेको छ।

बोरिसका बारे अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित लेख। अन्तर्राष्ट्रिय समुदायमा बोरिस ‘बोरिस अफ काठमाडौँ ’को नामले चिनिन्थे।
बोरिस, तपाईं र तपाईंका परिवारका अन्य सदस्यहरूको यत्रो योगदान छ नेपालमा। भिसाको समस्या झेल्नुपर्दा दिक्क लाग्दैन?
मैले पनि बुझ्न सकेको छैन, किन यो नगरेको, किन ‘रेस्पेक्ट’ नगरेको? मलाई स्थायी बसोबासको प्रबन्ध गर्नु ठूलो चिज होइन नि। मैले नेपालमा बसेर पैसा चोरेको होइन नि। म पनि खर्च गर्छु नि। अचम्म लाग्छ, किन मलाई बस्न नदिने? बूढो भइसकेँ, बूढो मान्छेलाई अलिकति प्रेम गर्नुस् न!
तपाईंको वास्तविक नाम के हो?
रुसी भाषामा मिखाइल। अंग्रेजीमा माइकल। पासपोर्टमा पनि माइकल।
अनि, मिस्का?
त्यो त म सानो हुँदा आमाबुवाले राखिदिएको नाम। रजनीशलाई भेट्नुअघिसम्म मिस्का थियो।
मिस्कापछि तपाईं देवदर्शन हुनुभयो?
देवदर्शन नाम रजनीशले दिनुभएको हो। गुरु पापाजीले देवदर्शन हैन, आत्मदर्शन भन्नुभयो। पछि फेरि, अब आत्मदर्शन हैन, सुदर्शन भन्नुभयो। तर मैले सजिलोका लागि दर्शन मात्रै राखेको छु।
तपाईंले आमाबुवाको त्यत्रो संघर्ष देख्नुभयो। आफ्नै अनुभवहरूका साथ यहाँसम्म आइपुग्नुभयो। दुई वाक्यमा भन्नुपर्दा जीवन भनेको के रहेछ?
एक वाक्यमा भन्न सक्छु– जीवन भनेको वर्तमान हो, जसको व्याख्या गर्नुपर्दैन।
यो क्षणदेखि फेरि यही क्षण मात्र हुन्छ। भूत वा भविष्य भन्नु दुवै वर्तमान नै हुने हो। हामीले यस क्षणलाई ‘इन्जोय’ गर्न सक्नुपर्छ। जीवनमा जेजति पाइएको छ, त्यसका लागि ब्रह्माण्डलाई, भगवान्लाई धन्यवाद भन्नुपर्छ।
हेर्नुहोस् भिडियो :