काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फिल्म समीक्षा

कमजोर कथाको जगमा थपिएको दोस्रो तला

२१ कार्तिक २०८२
चलचित्र जारी-२ को एक दृश्यमा मिरुना मगर। तस्बिर : चलचित्रको ट्रेलरबाट
अ+
अ-

निर्देशन/कथा : उपेन्द्र सुब्बा

कलाकारहरू : दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, अनिल सुब्बा, ऋचा शर्मा, रेखा लिम्बू र अन्य

छायांकन : सञ्जय लामा

सम्पादन : निमेश श्रेष्ठ

निर्माता : रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ

कथा/पटकथा : अंक २.५

जारी २ को कुरा गर्नुअघि जारीमै फर्कौं। २०५२ सालको पाँचथरको पहाडी गाउँका एक निःसन्तान लिम्बू दम्पती नाम्साङ (दयाहाङ) र हाङ्मा (मिरुना) बीच सन्तान नभएकै विषयमा झगडा भइरहन्छ। श्रीमान्‌ले श्रीमतीलाई थारो भन्छ, श्रीमती श्रीमान्‌लाई नामर्द भन्छे। झगडा उत्कर्षमा पुगेपछि नाम्साङले हाङ्मालाई हात हाल्छ। हाङ्मा माइत जान्छिन्। नाम्साङ श्रीमती फकाउन जाँदैन। यहीबीच हाङ्माले अर्कैसँग बिहे गर्छिन्।

नतिजा, लिम्बू प्रथाअनुसार जारी तिर्न नसकेर हाङ्मा नाम्साङको घरमा नोकर बस्नुपर्ने हुन्छ। अन्तमा नाम्साङले आफ्नो गल्तीका लागि माफी मागेर हाङ्मासँगको सम्बन्ध सुधार्छ। र, निःसन्तान दम्पतीको छोरी जन्मिएसँगै कथा सकिन्छ।

लिम्बू संस्कृतिको पृष्ठभूमिमा प्रेमको लठ्याउने कथा भनेको जारीमा जस्तै के जारी २ मा पनि त्यही मादकता छ त?

सिक्वलको सुरुआत नाम्साङ र हाङ्माको सुमधुर सम्बन्धबाटै भएको छ। उनीहरूका छोरी हुर्केर स्कुल जाने भइसकेकी छिन्। पहिलेको रुखो नाम्साङ अहिले सालोले दिएको च्याब्रुङ बजाउँदै, पालाम गाउँदै धान नाचमा रमाउन थालेको छ। तर च्याब्रुङ बजाउँदै साथीहरूसँग दिनरात डुली हिँड्ने उसलाई घरको जिम्मेवारीप्रति खासै वास्ता छैन।

यसको असर हाङ्मामा पर्ने नै भयो। घरको बोझ र श्रीमान्‌को तालले उसको धैर्य टुट्दै गएको छ। यसैबीच च्याब्रुङ बोकेर घर फर्किंदै गर्दा बाटोमा सेनाले नाम्साङको च्याब्रुङ प्वाल पारिदिन्छन्। भाइले दिएको च्याब्रुङमा प्वाल देखेपछि हाङ्मा त्यसलाई आफू र आफ्नो परिवारकै अपमान सम्झिन्छे। नाम्साङले स्पष्टीकरण दिन नपाउँदै झगडा बढ्छ। उसले हाङ्मालाई फेरि हात छोड्छ। च्याब्रुङको अपमान भएको र दिदी कुटेको थाहा पाएपछि हाङ्माको भाइ नाम्साङलाई आक्रमण गर्न खोज्छ। माइती बोलाएर कुटाउने भन्दै नाम्साङले हाङ्मालाई घर छोडेर जान भन्छ। र, हाङ्मा सानी छोरीलाई छोडेर माइत जान बाध्य हुन्छिन्।

चलचित्र जारी-२ को एक दृश्यमा दयाहाङ राई र मिरुना मगर। तस्बिर : चलचित्रको पोस्टरबाट

यहाँसम्म जारी २ पहिलो भागजस्तै छ। बस थपिएको छ त, माओवादी सशस्त्र द्वन्द्वको कथा। एकपटक मेला जाँदा झगडा पर्दा नाम्साङलाई माओवादीहरूले नियन्त्रणमा लिन्छन्। यसपछि देशको राजनीतिक द्वन्द्वको चपेटामा परेको नाम्साङ र उसको परिवारलाई कस्तो असर पर्छ? नाम्साङ र हाङ्माबीचको झगडा आगोझैँ दन्किन्छ कि निभ्छ? यसबारे थाहा पाउने जिम्मा दर्शककै भयो।

पहिलो भागमा लिम्बू समुदायमा जारी प्रथाले उब्जाउने परिणामका अनेक आयाम देखाइएको थियो। सिक्वलमा द्वन्द्वका बाछिटाले पार्ने सम्बन्धका आयामहरूलाई त्यति नै भावनात्मक र कलात्मक ढंगले चित्रण गरिएको पाइँदैन। किनकि, यसको कथा नै कमजोर छ। मध्यान्तरअघि र पछिको दूरी डाँडावारि र डाँडापारिजस्तै छ।

जारी २ लाई लिम्बू समुदायको खुसीको संगीत घन्काउने च्याब्रुङको कथा भनिएको छ। फिल्मको सुरुमै च्याब्रुङले कथामा महत्त्वपूर्ण भूमिका खेल्ने संकेत पनि गर्छ। च्याब्रुङमा प्वाल पर्नु सम्बन्ध कमजोर हुनुको बलियो विम्बका रूपमा स्थापित पनि छ। तर एकाएक कथामा ‘च्याब्रुङ’ प्रतिस्थापन भएर ‘बन्दुक’ तिर बरालिन्छ।

फिल्मका संवाद र कमिक टाइमिङ दर्शक हँसाउन र केही ठाउँमा भावुक बनाउन सक्षम छ। लिम्बू लवज टपक्कै टिपेकाले मौलिकताको महसुस पनि हुन्छ। तर नाम्साङ र हाङ्माबीचको आत्मीय सम्बन्ध स्थापित नभई उनीहरूको सम्बन्धका उतारचढावको यो कथा फिका महसुस हुन्छ।

अभिनय : अंक ३

फिल्ममा दयाहाङ र मिरुनाको जोडी नै मुख्य भूमिकामा छन्। यो जोडी पहिलाझैँ स्वाभाविक पनि लाग्छन्। हाङ्मा रोइरहेको र नाम्साङ मौन भई उनकै छेउमा बसेको दृश्य फिल्मकै सशक्त दृश्य हो। मंगलसेन (विजय) को अभिनय अझै निखारिएको छ। रिसाउँदासमेत उसका भावभंगीले दर्शकलाई मज्जैले हसाउँछ।

फिल्ममा ऋचा शर्माको छोटो तर महत्त्वपूर्ण भूमिका भए पनि उनको चरित्रको अन्त्य फितलो छ। मध्यान्तरअघि बलियो देखिने अनिलको चरित्र पनि मध्यान्तरपछि एकाएक फितलो बनेको छ। बुद्धिको अभिनय औसत मात्र लाग्छ।

प्रेम सुब्बा, पुष्कर गुरुङ, कमलमणि, उपेन्द्र, रेखा लिम्बू, वेदना राई, सिर्जना निङ्लेखुलगायत बालकलाकार उनिस्का मुकारुङ राई सबै सुहाएकै छन्।

प्राविधिक : अंक ३

फिल्ममा पहिरन, वेशभूषा, बाजा, खानेकुरा, परिवेश, प्रप्स आदिबाट लिम्बू संस्कृति प्रकट भएको छ। जसमा फिल्म सबल नै छ। तर छायांकनको मामिलामा जारी २ कमजोर छ।

चलचित्र जारी-२ को एक दृश्य। तस्बिर : चलचित्रको ट्रेलरबाट

गीत संगीतलाई कथाको अंश बनाउन खासै ध्यान नदिइए पनि यो फिल्मको पार्श्व संगीत भरेका कोबिद बज्र र साउन्ड डिजाइनको काम गरेका उत्तम न्यौपानेको काम भने प्रशंसनीय छ। कथा र परिवेशअनुसार पृष्ठभूमिमा सुनिने ध्वनि दर्शकले धेरै ठाउँमा महसुस गर्न सक्छन्।

निर्देशन २.५

निर्देशक उपेन्द्र सुब्बा ठट्टा र गाम्भीर्य मिसाएर फिल्म बनाउँछन्। आफैँ बाँचेको, भोगेको परिवेशलाई उनी आधिकारिकता साथ भन्ने क्षमता राख्छन्। जारी २ मा आममान्छेका कथालाई सांस्कृतिक तथा राजनीतिक सन्दर्भसँग जोडेर सिनेमा बनाउने उनको प्रयासको सराहना गर्नैपर्छ। समाजले बिर्सनै लागेको द्वन्द्वकालीन नेपालको खास सन्दर्भ टिपेर त्यसको व्यक्ति र संस्कृतिसम्मको असर नियाल्ने प्रयत्न उनले गरेका छन्। पुरानै चरित्र, पहिलाकै परिवेश र उही ऊर्जासहित सिक्वल बनाउनु सजिलो कुरा पनि होइ‍न।

त्यसैले होला, जारी सफल भएपछि उनले भनेका थिए, ‘जारीको सिक्वल बनाउँदिनँ।’ यसका बावजुद जारी २ आयो।

सिक्वल बनेपछि जारीसँग यसको तुलना हुन्छ नै। त्यस हिसाबमा निर्देशक सुब्बाले कमजोर कथाको जगमा जारी २ बनाएको देखिन्छ। जारीलाई कतिपयले ‘मास्टरपिस’ भनेका थिए, जारी २ मा उनी ‘जस्ट पास’ मात्रै भएका छन्।