काठमाडौँ
००:००:००
२२ जेष्ठ २०८३, शुक्रबार

सिनेमा

सन् १९६८ मा बनेको ‘२००१ : अ स्पेस ओडिसी’ आई लिएर केहीले सन् १९६९ को अपोलो ११ चन्द्रमा अवतरण स्टुडियोमा खिचिएको थियो भन्ने षड्यन्त्र सिद्धान्त पनि अघि सार्ने गरेका छन् ।

२३ फाल्गुन २०८२
अ+
अ-

चन्द्रमामा सर्वप्रथम मानव पाइला पर्नुभन्दा ४४४ दिनअगाडि अमेरिकाका केही ठूला सहरमा साईफाई चलचित्र २००१ : अ स्पेस ओडिसी  प्रदर्शन भयो। चलचित्र हेरेर धेरै समीक्षकले खिल्ली उडाए। अमूर्त कथा, कम संवाद र लामा लामा सिन भएका चलचित्रमा उनीहरू अभ्यस्त थिएनन्। न्युयोर्क प्रिमियरमा त करिब २५० जना हलबाटै निस्किएका थिए। केही समीक्षकले भने चलचित्रको भिजुअल इफेक्ट्स, स्पेसल इफेक्ट्स र एम्बिसियस भिजनको भने खुब तारिफ गरे।

समय सधैँ एउटै कहाँ रहन्छ र? पछि यही चलचित्र सिने इतिहासकै उम्दा मास्टरपिस मान्न थालियो। दार्शनिक अर्थ, अहिले सबैको मुखमा झुन्डिने कृत्रिम बौद्धिकता (एआई) र ब्रह्माण्डको रहस्य बिस्तारै बुझ्न थालियो।

प्रिमियरको दिन सबैले लामो भनेपछि निर्देशक स्ट्यान्ली कुब्रिकले चलचित्र १९ मिनेट छोट्याए। चलचित्रले तारिफ मात्र पाएन, पैसा पनि उधुमै कमायो। १०.५ मिलियन डलरमा बनेको चलचित्रले सबै संस्करण र पुनः रिलिज गरी १४० मिलियन डलर कमाउन सफल भएको विकिपिडियाले जनाएको छ। यद्यपि, द नम्बर डट कमले करिब ७२ मिलियन र बक्स अफिस मोजोले करिब ६८ मिलियन डलर कमाएको उल्लेख गरेका छन्। साईफाई चलचित्रले त्यस समयमा त्यतिधेरै पैसा कमाउनु चानचुने विषय थिएन। यही चलचित्रले नै हो, पछि स्टार वार्सजस्ता चलचित्रलाई बाटो देखाएको।

कुब्रिक साईफाईलाई केवल एलियन आक्रमण वा सस्तो प्रभाव पार्ने सीमित विधा मान्दैनथे, बरु यसलाई मानव अस्तित्व र विकासबारे गहिरो प्रश्न उठाउने शक्तिशाली माध्यम ठान्थे।

मुन ल्यान्डिङलाई धेरैले ‘कन्स्पिरेसी थ्योरी’ मान्छन्। २००१ : अ स्पेस ओडिसी चलचित्रले मुन ल्यान्डिङलाई कन्स्पिरेसी थ्योरी बनाइदिएको हो। धेरैले मुन ल्यान्डिङवाला भिडिओलाई कुब्रिकले निर्देशन गरेको बताउँछन्।

मास्टरपिसको जन्म

सन् १९६० को दशकको मध्यतिर विश्व राजनीतिमा अमेरिका र सोभियत संघबीचको अन्तरिक्ष प्रतिस्पर्धा तीव्र रूपमा चर्किंदै थियो। तत्कालीन सोभियत संघका अन्तरिक्षयात्री युरी गागरिन सन् १९६१ मा पृथ्वीको कक्षमा पुगेपछि स्पेस रेस सुरु भएको हो। विज्ञान तथा प्रविधिले मानव भविष्यलाई कुन दिशामा लैजाने हो भन्ने बहस विश्वव्यापी चलिरहेको थियो। यही परिवेशले कुब्रिकलाई सिनेमाको माध्यमबाट अन्तरिक्ष, मानव चेतना र प्रविधिको सम्बन्ध खोज्न प्रेरित गरेको हो। उनको मनमा सधैँ मानिस को हो र प्रविधिले मानिसलाई कहाँ लैजान्छ भन्ने जिज्ञासा आइरहन्थ्यो। सोही जिज्ञासाको प्रतिफल नै २००१ : ए स्पेस ओडिसी हो।

निर्देशक कुब्रिक।

कुब्रिक साईफाईलाई केवल एलियन आक्रमण वा सस्तो प्रभाव पार्ने सीमित विधा मान्दैनथे, बरु यसलाई मानव अस्तित्व र विकासबारे गहिरो प्रश्न उठाउने शक्तिशाली माध्यम ठान्थे। तर, त्यतिबेलासम्म प्रचलित अधिकांश साईफाई फिल्महरू मनोरञ्जनमुखी ‘बी-मुभी’ को छविमा अड्किएका थिए। कुब्रिकले गम्भीर, बौद्धिक र दार्शनिक विधाका रूपमा स्थापित गर्ने सोचका साथ काम गर्ने अठोट लिए। सोही अठोटले नै दर्शकलाई कथा मात्र होइन, अनौठो अनुभवसँगै प्रश्नको चाङमा लगेर उभ्याइदिन सफल भयो।

सन् १९६४ मा कुब्रिकले त्यतिबेलाका चर्चित साईफाई लेखक आर्थर सी. क्लार्कसँग सहकार्य सुरु गरे। क्लार्कको छोटो कथा ‘द सेन्टिनेल’ बाट प्रेरणा लिएर उनीहरूले कथा र पटकथा सँगसँगै विकास गरेका हुन्। लेखक क्लार्क बेलायती भए पनि श्रीलंकामा बस्थे। कुब्रिकले उनलाई न्युयोर्क आउन निम्ता दिए।

पहिलो भेटमै दुई दिग्गजबीच राम्रो भलाकुसारी भयो। दुवैले सँगै काम गर्ने अठोट गरे, र यही सहकार्यबाट जन्मिएको २००१ : ए स्पेस ओडिसी कुनै साधारण साईफाई फिल्म नबनी मानव विकास, प्रविधि र अज्ञात भविष्यबारे गहिरो दार्शनिक विमर्श बन्यो। फिल्मले कथाभन्दा बढी प्रतीक, मौन र दृश्य भाषामार्फत अर्थ व्यक्त गरेको छ, जुन त्यतिबेलाका लागि नौलो प्रयोग हो।

कुब्रिकले नासाका वैज्ञानिकहरूसँग परामर्श लिए, शून्य गुरुत्वाकर्षणको यथार्थ देखाउन घुम्ने सेट प्रयोग गरे र भविष्यका कम्प्युटर तथा एआईको सम्भावनालाई ‘हल ९०००’ मार्फत जीवन्त बनाए। यस फिल्मले साईफाईलाई मनोरञ्जनको सीमाबाट बाहिर निकाल्दै दार्शनिक, मनोवैज्ञानिक र कलात्मक विधाका रूपमा पुनःपरिभाषित गर्‍यो र आजसम्म पनि यसलाई विश्व सिनेमाको प्रभावशाली सिनेमामध्ये एक मानिन्छ।

कुब्रिक फिल्मको दृश्य संरचना, प्रतीक र दार्शनिक पक्षमा केन्द्रित थिए भने क्लार्कले त्यही कथालाई बुझिने गरी साहित्यिक प्राण भरे। फिल्म रिलिज हुनुअघि नै क्लार्कको उपन्यास प्रकाशित भयो, जसले कथाभित्रका धेरै जटिल प्रश्नहरूलाई सरल तरिकाले बुझाउँछ।

कुब्रिक र क्लार्कले सन् १९६४ देखि कथा र स्क्रिप्ट सँगसँगै तयार गर्न थालेका थिए। कुब्रिक फिल्मको दृश्य संरचना र दार्शनिक पक्षमा केन्द्रित थिए भने क्लार्कले त्यही कथालाई उपन्यासमा रूपान्तरण गरे। त्यसैले २००१ : अ स्पेस ओडिसीको उपन्यास र फिल्म एउटै कथाबाट जन्मिएका भए पनि तिनको अभिव्यक्ति भने फरक छ।

कुब्रिक फिल्मको दृश्य संरचना, प्रतीक र दार्शनिक पक्षमा केन्द्रित थिए भने क्लार्कले त्यही कथालाई बुझिने गरी साहित्यिक प्राण भरे। फिल्म रिलिज हुनुअघि नै क्लार्कको उपन्यास प्रकाशित भयो, जसले कथाभित्रका धेरै जटिल प्रश्नहरूलाई सरल तरिकाले बुझाउँछ। मोनोलिथ के हो, हल ९००० किन नियन्त्रणबाहिर जान्छ र अन्त्यमा मुख्य पात्रसँग के घटना भएको हुन्छ भन्ने कुरा उपन्यासमा मजाले वर्णन गरिएको छ। यसको विपरीत यता कुब्रिकको फिल्मले यी सबै कुरा दर्शककै कल्पनामा छोडिदिन्छ। संवाद र व्याख्याभन्दा दृश्य, मौनता र संगीतमार्फत अर्थ निर्माण गर्ने कुब्रिकको शैलीले फिल्मलाई अझै रहस्यमय र दार्शनिक बनाएको छ।

फिल्म छायांकनका क्रममा निर्देशक कुब्रिक।

कुब्रिक र क्लार्कबीचको सहकार्य केवल बौद्धिक थिएन, व्यावसायिक रूपमा पनि सम्मानजनक थियो। फिल्मको विकासका क्रममा कुब्रिकले क्लार्कका केही छोटा विज्ञानकथाहरू प्रयोग गर्ने अधिकार लिन झन्डै १० हजार अमेरिकी डलर अग्रिम रूपमा दिएका थिए। यसपछि कथा विस्तार, स्क्रिप्ट विकास र उपन्यास लेखनका लागि क्लार्कलाई थप ३० हजार अमेरिकी डलर पारिश्रमिक दिने सहमति भयो। कुब्रिकले क्लार्कलाई फिल्मसँग सम्बन्धित सम्पूर्ण लेखन तथा अधिकारका लागि करिब ४० हजार अमेरिकी डलर भुक्तानी गरेका थिए। सन् १९६० को दशकको सन्दर्भमा यो रकम निकै ठूलो मानिन्थ्यो, खासगरी कुनै साईफाई परियोजनाका लागि।

क्लार्कले विभिन्न अन्तर्वार्ता र संस्मरणहरूमा स्ट्यान्ली कुब्रिकलाई असाधारण तर जटिल व्यक्तित्वका रूपमा सम्झिएका छन्। क्लार्कका अनुसार कुब्रिक अत्यन्त बुद्धिमान्, सूक्ष्म विवरणमा अडिग र आफ्नो दृष्टिकोणप्रति दृढ थिए। उनीसँग काम गर्न सजिलो थिएन। कुब्रिक सधैँ किन भन्ने प्रश्न सोधिरहन्थे।

सन् १९५३ मा २४ वर्षको उमेरमा उनले पहिलो फिल्म फियर एन्ड डिजायर बनाए, जुन अपरिपक्व भए पनि प्रयोगात्मक साहसले भरिएको थियो। उनले सीमित स्रोतसाधन र साथीभाइको सहयोगमा फिल्म निर्माण गर्ने आँट जुटाएका थिए।

क्लार्कले कुब्रिकलाई पूर्ण नियन्त्रण चाहने निर्देशकका रूपमा चित्रित गरे पनि नकारात्मक रूपमा भने कहिल्यै प्रस्तुत गरेनन्। बरु उनले कुब्रिकलाई आफ्नो कामप्रति असाध्यै गम्भीर कलाकार भनेका छन्, जो कुनै कुरामा सम्झौता गर्दैनथे। २००१ : अ स्पेस ओडिसी निर्माणका क्रममा पटक पटक स्क्रिप्ट फेरिनु, दृश्य हटाइनु वा नयाँ अर्थ थपिनु क्लार्कका लागि कहिलेकाहीँ झन्झटिलो भए पनि अन्ततः त्यसले फिल्मलाई ऐतिहासिक बनाएको उनी स्विकार्छन्। उनले कुब्रिकलाई सिनेमाको दार्शनिकका रूपमा सम्झिएका छन्, जसको सोच समयभन्दा धेरै अगाडि थियो।

कुब्रिकको कलात्मक यात्रा

स्ट्यान्ली कुब्रिकको कलात्मक यात्रा एउटा क्यामेराको लेन्सबाट सुरु हुन्छ। न्युयोर्कको भिडभाड, मान्छेहरूको अनुहारमा लेखिएका मौन कथा र प्रकाशको प्रतिविम्बलाई उनले किशोर अवस्थामा नै कैद गर्न थालेका थिए। लुक पत्रिकाको युवा फोटोग्राफरका रूपमा उनको संसारलाई हेर्ने दृष्टिकोण फरक थियो। उनमा यस्तो दृष्टि थियो, जसले सामान्य घटनाभित्र पनि असाधारण रहस्य देख्थ्यो। तर, कुब्रिकका लागि यी क्रियाकलाप पर्याप्त भएनन्, लुक पत्रिकाको अस्तित्व फिका लागेपछि उनी चलचित्रको पर्दातिर सरे।

सन् १९५३ मा २४ वर्षको उमेरमा उनले पहिलो फिल्म फियर एन्ड डिजायर बनाए, जुन अपरिपक्व भए पनि प्रयोगात्मक साहसले भरिएको थियो। उनले सीमित स्रोतसाधन र साथीभाइको सहयोगमा फिल्म निर्माण गर्ने आँट जुटाएका थिए। कुब्रिकसँग स्टुडियो, टिम वा प्राविधिक उपकरण केही पनि थिएन। उनले १६ एमएम क्यामेराको प्रयोग गरे, जसले गर्दा सिंक्रोनाइज्ड साउन्डको अभाव भयो। पछि उनले डबिङमार्फत संवादहरू हाल्नुपर्‍यो। क्यामेरा अपरेट गर्नेदेखि सम्पादन, ध्वनि मिलाउनेसम्म सबै काम उनले गर्दै सिकेका थिए।

पहिलो फिल्मको कथा गहिरो दर्शन बोक्ने प्रयासमा थियो, तर संरचनात्मक कमजोरीका कारण दर्शक र समीक्षकहरूले बुझ्न सकेनन्। कुब्रिक स्वयंले पछि यस फिल्मलाई कच्चा प्रयास भनेर स्वीकार गरेका थिए। फिल्म स्वतन्त्र रूपमा बनेको थियो, त्यसैले वितरकहरू पाउन गाह्रो भयो। धेरैले फिल्मलाई अलि बढी नै बौद्धिक मान्न थाले।

कुब्रिकले निर्देशन गरेका सिनेमाहरू।

हलिउडको चमकधमकले उनलाई कहिल्यै आकर्षित गर्न सकेन। त्यसैले उनी बेलायतमा बसाइँ गरे, जहाँ उनले आफ्नो सिर्जनात्मक स्वतन्त्रता पाएका थिए। फोटोग्राफीको स्थिर फ्रेमबाट सुरु भएको उनको दृष्टि अन्ततः सिनेमाको गतिशील माध्यममा रूपान्तरण भयो।

कुब्रिकले करिब ४६ वर्षमा जम्मा १३ वटा फिचर फिल्म बनाए। उनले हरेक फिल्मका लागि तीनदेखि सात वर्ष खर्चिएका छन्। सुरुआती तीन फिल्ममा असफलता पाए पनि त्यसपछिका हरेक फिल्म चर्चा बटुल्न सफल छन्।

अचम्मको कुरा के छ भने, सन् १९९९ मा आइज वाइड सटको फाइनल कट बुझाएको केही दिनमै ७ मार्चमा उनको निधन भयो। चलचित्र भने सेप्टेम्बरमा रिलिज भएको थियो। उनले आफ्नो अन्तिम सास पनि फिल्म पूरा गरेपछि मात्रै फेरे।