काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ कार्तिक २०८२
अ+
अ-

जनकपुर। नवगठित नेपाली कम्युनिस्ट पार्टीभित्रको नेकपा माओवादी केन्द्रको विवादका कारण मधेस प्रमुखका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले पदबाट राजीनामा दिएका छन्।

माओवादी केन्द्रका दुई सांसदले शनिबार प्रदेशसभमा मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने घोषणा गरेका थिए। आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएपछि सोनलले मतविभाजनको प्रक्रिया सुरु भएपछि राजीनामा दिए। सोनलको राजीनामासँगै जेन-जी आन्दोलनपछि कांग्रेस-एमालेबाहेक दलहरुले मधेस प्रदेशमा गठन गरेको सरकार असफल भएको छ। लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनलले २९ असोजमा मुख्यमन्त्री भएका थिए।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोनल मुख्यमन्त्री बनेका थिए।

माओवादीमा विवाद
प्रदेशसभा बैठकमा शनिबार सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको आन्तरिक विवाद छताछुल्ल भएको थियो। माओवादी केन्द्रका सांसदहरु रहबर अन्सारी र माया राईले मुख्यमन्त्री सोनललाई मत नदिने घोषणा गरेका थिए। पार्टी केन्द्रले भरत साहलाई पुन: संसदीय दलको नेता ‍बनाएपछि अन्सारी र राई असन्तुष्ट थिए।

साह जनार्दन शर्मा पक्षका नेता हुन्। पछिल्लो समयमा शर्माको साथ छाडेपछि अध्यक्ष पुष्पकमल दाहालले प्रदेशसभाका सभामुखलाई पत्र लेख्दै साह नै संसदीय दलको नेता भएको जानकारी दिएका थिए। शर्मा नेपाली कम्युनिस्ट पार्टी गठन गर्ने प्रक्रियामा संलग्न छैनन्। जसमा माओवादी केन्द्रसहित १० राजनीतिक घटक संलग्न छन्।

मधेसका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा, पाएनन् विश्वासको मत

शर्माले एकताअघि पार्टीभित्र पुनर्गठन हुनुपर्ने र अध्यक्ष दाहालले पद छाड्नुपर्ने बताउँदै आएका छन्। “सबै कुरा केन्द्रले तोकेको भन्दै दुवै सांसदको असन्तुष्ट रहेका छन्‚” स्रोतले भन्यो। प्रदेशसभा बैठकमा साहले असन्तुष्ट सांसदहरुको माग आफूलाई हटाउने हो भने राजीनामा दिने जनाएका थिए। “तर यो सरकारलाई अहिले सबैले विश्वासको मत दिऔं‚” साहले भनेका थिए।

संसदीय दलमा बहुमत सदस्य विपक्षमा भएपछि गत जेठमा साहले पदबाट राजीनामा दिएका थिए। पछि संसदीय दलका उपनेता युवराज भट्टराईलाई उक्त जिम्मेवारी दिइएको थियो।

१०७ सदस्य प्रदेश सभामा सरकारका लागि ५४ आवश्यक बहुमत हो। जनमतबाट जनस्वराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साह प्रदेश सभामा अनुपस्थित रहे। मधेस प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ। नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी अनुपस्थित रहिन्। अन्सारीले मुख्यमन्त्री सोनलसँग शनिबार भेट गर्दै विश्वासको मत दिन आश्वासन दिएकी थिइन्। उनले आफ्नो फेसबुक पेजमा मुख्यमन्त्री सोनलसँग भेट गरेको फोटोसमेत सार्वजनिक गरेकी थिइन्।

यो पनि…

मधेसका सांसदले दले आफ्नै मुखमा मोसो [तस्बिरसहित]

बहुमत नपुग्ने देखेपछि शनिबार लोसपाले प्रदेश सभा बैठकमा प्रक्रिया रोक्न आग्रह गरेका थिए। तर सभामुख रामचन्द्र मण्डलले मत विभाजनको प्रक्रिया सुरु गरेका थिए। त्यसकारण पनि बैठकमा केही समय तनावको अवस्था सिर्जना भएको थियो।

राजीनामा दिएपछि सोनलले संघीयताविरोधी शक्तिहरुको योजना सफल भएको बताए। “सत्ता गठबन्धनमा रहेका दलहरुसँग छलफल गरेर पुन: मुख्यमन्त्रीको दाबी गर्नेछौँ‚” सोनल भन्छन्। उनले संविधानको धारा १६८ (२) अनुसार नै नयाँ सरकार गठन हुने बताए। एमाले र कांग्रेस दुवै दलले सत्ता पक्षसँग बहुमत हुँदाहुँदै पनि आन्तरिक विवादका कारण विश्वासको मत पाउन नसकेको बताएका छन्। उनीहरुले नयाँ सरकार गठनको विषयमा छलफल गरेर मात्रै निर्णय लिने बताएका छन्।