काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

महानगरभित्रका सबै सीसीटीभीका दृश्य निगरानी कक्षमा पुर्‍याइने

२२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटीभी क्यामेराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ।

काठमाडौँ प्लाजामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र टेलिकम प्रादेशिक कार्यालय बागमतीका निर्देशक इन्दल यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताबमोजिम टेलिकमले महानगरपालिका र वडा कार्यालयहरुको सीसीटीभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटीटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्ट्रानेट उपलब्ध गराउनेछ। यससँगै नियमित मर्मत सम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार क्षमता, आकस्मिक अवस्थामा सेवाको निरन्तरताका लागि संरचना, नेटवर्कको निगरानी, सेवा अवरुद्ध हुँदा यसको पहिचान र समाधानका लागि सेवा उपलब्ध गराउनेछ।

सीसीटीभी क्यामेरा, राउटरसहितका सामान तथा उपकरण महानगरपालिकाले व्यवस्था मिलाउनेछ। टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको ब्यान्डविथ उपलब्ध गराउनेछ। त्यस्तै प्रविधिको परिवर्तनलाई अद्यावधिक गरेर नियमित गराउनेछ। महानगरपालिकाले सेवा विस्तार गर्न चाहे टेलिकमले त्यसका लागि आवश्यक अप्टिकल फाइबर नेटवर्क विस्तार गर्नेछ।

सम्झौताका अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, प्रविधिको प्रयोगबाट सहरलाई सुरक्षित र स्मार्ट सहर अन्तरसरकार समन्वय र सहकार्यले कुनै पनि गुनासो नआउने गरी नतिजा आउने विश्वास व्यक्त गरे। “महानगरपालिकाको सेवाका लागि छुट्टै संयन्त्रबाट काम हुने हामीले अपेक्षा गरेका छौँ‚” उनको भनाइ थियो।

यो पनि…

तीव्र गतिको इन्टरनेटका लागि भयो सम्झौता

यस्तै टेलिकमका निर्देशक यादवले महानगरपालिकाको आवश्यकता र अपेक्षा पूरा गराउने संयन्त्र निर्माण गरिने बताए। टेलिकमसँग यसअघि नै अप्टिकल फाइबर सञ्जाल भएकाले महानगरपालिकाले तत्काल आफूले यस अघि जडान गरेका सीसीटीभीका दृश्य प्राप्त गर्न सक्ने अवस्था रहेको सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिए।

सीसीटीभी क्यामेराले कैद गरेका दृश्य महानगरपालिकाले सञ्चालन गर्ने निगरानी कक्ष (सर्भिलेन्स रुम) मा पुर्‍याउने दायित्व टेलिकमले पूरा गर्नेछ। प्रणालीमा यसअघि जडान गरिएका, नियमित तथा क्रमागत योजनामार्फत जडान गरिएका, वडा, विभाग तथा अन्य माग भएका स्थानबाट जडान गरिएका र जडान गरिने सीसीटीभी जोड्न सकिनेछ। यसरी प्रणालीबाट निगरानी कक्षमा प्राप्त दृश्यको गोपनीयता महानगरपालिकाले कायम राख्नेछ।

यो सम्झौता एक वर्षका लागि हो। काठमाडौँलाई स्वचालित, सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमा आधारित प्रणाली विकास तथा विस्तारका लागि सहकार्य गर्ने क्रममा यो सम्झौता भएको हो। यसबमोजिम महानगरपालिका, वडा कार्यालय र यसभित्रका सार्वजनिक स्थलको दृश्य सीसीटीभी निगरानी कक्ष (सीसीटीभी सर्भिलेन्स रुम) मा जिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जीपीओएन) प्रयोग गरिनेछ।