२५ कार्तिक २०८२
अ+
अ-

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा गत शुक्रबार मृत्यु भएका गंगे सुनारको पोस्टमोर्टम रिपोर्ट आएको छ। वीरेन्द्रनगर–१ का ३६ वर्षीय सुनारको हृदयघातबाट मृत्यु भएको रिपोर्टमा देखिएको छ।

मृतकको पोस्टमोर्टमको लागि भेरी अस्पताल नेपालगन्जबाट फरेन्सिक विज्ञ डाक्टर अर्विन शाक्यको टिम सुर्खेत आएको थियो। चिकित्सकको टोलीले मुटुको नली बल्क भएको र चोटपटक नदेखिएको रिपोर्ट दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए। रिपोर्ट आएपछि आफन्तले सुनारको शव बुझेका छन्।

सुनार गत शुक्रबार बिहान ५:५८ मा हिरासतभित्र सुतेको ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए। उपचारका लागि प्रदेश अस्पताल पुर्‍याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। उनी ७८ दिनदेखि हिरासतमा थिए। गत शुक्रबार उनको मुद्दामा पेसी थियो।

थुनुवाको मृत्युपछि आफन्तले छानबिनको माग गर्दै विरोध गरेका थिए। आफन्तको विरोधपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा चार सदस्यीय छानबीन समिति गठन गरिएको थियो।