काठमाडौँ। पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ। गत १ साउनदेखि ३१ असोजसम्म प्रेस स्वतन्त्रता हननका ५९ घटना भएको काउन्सिलले जनाएको हो।
तीमध्ये सबैभन्दा धेरै आक्रमण/कुटपिटका ३४ घटना रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिए। त्यसैगरी धम्की/दुर्व्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा/अवरोधका पाँच र नीतिगत बन्देजका दुई घटना भएका छन्।
प्रदेशअनुसार सबैभन्दा बढी बागमतीमा ४४, मधेसमा ६, लुम्बिनीमा चार, कोसीमा तीन, सुदूरपश्चिममा एउटा घटना भएका छन्। लैंगिक आधारमा यस अवधिमा भएका घटनामा ४३ पुरुष र तीन महिला गरी ४६ पत्रकार पीडित भएका छन्। यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका दुई घटना भएकामा बागमती प्रदेशमा एक र मधेस प्रदेशमा एक घटना भएका छन्।
यसैबीच प्रेस काउन्सिल नेपालको एक टोलीले जेनजीको नाममा गत २३ र २४ भदौको प्रदर्शनका कममा काठमाडौँ उपत्यकाका सञ्चारमाध्यममा भएको तोडफोड, आगजनीबारे स्थलगत अनुगमन गरेको थियो।