काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ कार्तिक २०८२
गायक विवेक श्रेष्ठ र सन्देश तझ्या।
अ+
अ-

स्टेज प्रवेश गर्नुअघिदेखि प्रतीक्षारत स्रोता, दर्शक, स्टेज टेक्दै गर्दाको हुटिङ, अनि हरेक गीतमा दर्शकको साथ। क्लब एक्सओको माहोल शुक्रबार राति यस्तै थियो।

कन्दरा ब्यान्डका सदस्यहरु स्टेज टेक्नुअघिदेखि कन्दरा कन्दरा भन्दै दर्शकहरु चिच्याइरहेका थिए। राति ११ बजेसम्म कुरेका दर्शकले कन्दराका सदस्य स्टेज टेकेसँगै पर्खाइको पीडा बिर्सिए। कन्सर्टको पहिलो प्रस्तुति विदेशिएर गइन् उनीमा गायक विवेक श्रेष्ठलाई हो हो हो, हो हो हो हो… भन्दै साथ दिए।

आफ्नो ३२ वर्ष लामो साङ्गीतिक यात्राको उत्सवमा देश विदेश यात्रामा कन्सर्ट गरिरहेको कन्दरा लोकपप र आफ्ना सदाबहार मेलोडियस गीत संगीतका कारण प्रख्यात छ। लेककी हे माया, डाँडापारि, तिमीपारि, तगारोमा रुमाल, हङकङ पोखरा विशेष चर्चित छन्। यीमध्ये तिमीपारि, तगारोमा रुमाल राखी, हङकङ पोखरा गीत सुनेर दर्शकहरु पुरानो स्मृतिमा फर्केर भावुक हुन्छन्। यी यस्ता गीत हुन् जुन हरेक कन्सर्टमा कन्दराले एक पटक मात्र गाएर पुग्दैन। वान्समोर भनिरहेका दर्शकको मागमा यी गीत फेरि दोहोरिन्छन्। एक्सओ क्लबमा पनि यस्तै दृश्य दोहोरियो।

कन्दराले पछिल्ला केही वर्षमा आफ्नो सक्रियता बढाउँदै नयाँ गीत समेत सार्वजनिक गरेको छ। शुक्रबार पनि विचरा म र आउने छ एक दिनजस्ता नयाँ गीतको प्रस्तुति दिएको ब्यान्डले आफ्नो प्रस्तुतिमा अरुण थापाको जति माया लाए पनि र गोपाल योञ्जनको जय जय नेपालसमेत समेटेको थियो।

रिदम फर चेन्जको सन्देश बोकेको कन्सर्टमा गीतकार, संगीतकार र पर्दापछाडिका सर्जक ओझेलमा पर्ने परम्परा चिर्नुपर्ने कुरामा गायक श्रेष्ठले जोड दिँदै कन्दराका चर्चित गीतका सर्जकहरु विनोद गौचन, सरुभक्त, सुनील थापा, रमेश श्रेष्ठलगायतलाई स्मरण गरे। गायकलाई मात्र नभई कुनै पनि गीतका लेखक र संगीतकारलाई पनि उत्तिकै श्रेय दिनुपर्ने बताए।

दुई घण्टा लामो प्रस्तुतिमा ब्यान्डकै पहिलो गीत चञ्चले कान्छी, भेडीगोठैमा, फूलचोकी डाँडैमालगायत गीतमा समेत दर्शक झुमेका थिए। ९० को दशकको चर्चित ब्यान्डले गएराति आफ्नो समयको स्रोतालाई मात्र झुमाएन। जेन-जी पनि झुमे। उनले स्टेजबाटै जेन-जीलाई सम्बोधन पनि गरेका थिए।