मधेस राजनीति
गैरसंवैधानिक तरिकाले नियुक्त मुख्यमन्त्रीलाई प्रवेश नदिने सोनलको अडान
जनकपुरधाम। अहिलेसम्म मधेस प्रदेशका मुख्यमन्त्रीहरूले नयाँ मुख्यमन्त्रीले शपथ लिनासाथ सरकारी निवास छोड्ने गरेका थिए। तर, यसपटक त्यस्तो देखिएको छैन।
मधेसका मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त भएर पदभारसमेत ग्रहण गरिसकेका छन्। तर, पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल अझै मुख्यमन्त्री निवासमा कब्जा जमाएर बसेका छन्। सात दलको समर्थनमा मुख्यमन्त्री बनेका सोनल नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकेपछि गठन भएको २५ दिनमै २३ कात्तिकमा ढलेको थियो। त्यसयता सोनल मुख्यमन्त्री निवासमै बसिरहेका छन्। सोनलले त्यहीँबाट सात दलको बैठकसमेत सञ्चालन गर्दै आएका छन्।
२५ कात्तिकमा मुख्यमन्त्री यादवले मधेस भवन रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कडा सुरक्षाबीच पदभार ग्रहण गरेका थिए। उनी आवश्यक पर्दा कार्यालय गए पनि थोरै समय बिताएर फर्किने गरेका छन्। अहिले उनी रामानन्द चोकमा रहेको एउटा घरमा भाडामा बसिरहेका छन्। त्यहाँ उनलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक टोलीले सुरक्षा दिइरहेको छ।
मुख्यमन्त्री यादव निवर्तमान मुख्यमन्त्रीले सरकारी निवास नछोड्नु र मुख्यमन्त्रीको कुर्सी ओगट्नु उचित नभएको बताउँछन्। संवैधानिक सर्वोच्चताको कुरा गर्ने तर आफैँ गैरकानुनी काम गर्नु ठीक नभएको उनको भनाइ छ। “अब त मेरो नियुक्तिको विषय अदालत पुगेको छ। अदालतले एउटा निकास दिनेछ। तर, यसरी मुख्यमन्त्री निवासमा कब्जा जमाएर बस्नु, मुख्यमन्त्रीले प्रयोग गर्दै आएको कुर्सी प्रयोग गर्नु उचित हैन। यो लोकतान्त्रिक व्यवस्थाका लागि समेत उचित होइन,” उनले भने।
मुख्यमन्त्री यादवले शनिबार भाडाकै निवासबाट प्रदेशवासीका नाममा सम्बोधन गर्दै आफूलाई आन्दोलनकारीहरूबाट सुरक्षा जोखिम रहेको बताएका थिए।

भाडाको घरबाट प्रदेशवासीका नाममा मुख्यमन्त्री यादवले गरेको सम्बोधन। तस्बिर : वीरेन्द्र रमण
यता, निवर्तमान मुख्यमन्त्री सोनल भने आफू मुख्यमन्त्री निवासमा बसिरहेको स्विकार्दै यसलाई आन्दोलनको एक स्वरूप बताउँछन्। “गैरसंवैधानिक तरिकाले नियुक्त भएका मुख्यमन्त्रीलाई निवासमा कसरी प्रवेश गर्न दिनु? यो पनि एकखालको आन्दोलन नै हो,” निवर्तमान मुख्यमन्त्री सोनलले भने, “होटलमा शपथ लिएका मुख्यमन्त्रीलाई किन चाहियो मुख्यमन्त्री निवास?”
मधेस प्रदेशकी तत्कालीन प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। महोत्तरीको बर्दिबासस्थित एक होटलमा उनले शपथ लिएपछि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र माओवादी केन्द्रसहित सात दल आन्दोलनमा छन्। संविधानको धारा १६८ को २ बमोजिम सरकार बनाउने सम्भावना हुँदाहुँदै उपधारा ३ बमोजिम सरकार बनाउनु असंवैधानिक रहेको बताउँदै उनीहरूले हरेक दिन मधेस भवनअगाडि विरोध गर्दै आएका छन्। विरोध कार्यक्रममा सात दलबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूसमेत सहभागी हुने गरेका छन्।
आन्दोलनकै कारण अहिले मधेसका अधिकांश मन्त्रालयको कामकाज ठप्प छ। आन्दोलनकारीले कर्मचारीहरूलाई कुटपिट गरेपछि कर्मचारीसमेत त्रसित छन्। केही कर्मचारी कार्यालयमा आउने र हाजिर गरेर फर्किने गरेका छन्। कोही भने आएकै छैनन्।