काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड रुपैयाँबराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।
केन्द्रीय बैङ्कले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत उल्लेख गरी यही ८ मंसिर साँझ ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ।
सूचनाअनुसार यो रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो। सूचनाअनुसार क वर्गको वाणिज्य बैङ्कमा तीन अर्ब ८० लाख, ख वर्गका विकास बैङ्कमा ५६ करोड ४० लाख र ग वर्गका वित्त कम्पनीमा १८ करोड ८० लाख रुपैयाँबराबर लगानी हुनेछ।
बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, केन्द्रीय बैङ्कबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कुल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायत सर्त पूरा गरेको हुनुपर्नेछ।