काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (सोमबार) भएको खेलमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकाल्यो। जनकपुरसामु सामान्य प्रस्तुत गरेको विराटनगरको जितमा स्पिनरको भूमिका महत्त्वपूर्ण रह्यो।
जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले स्पिनरका कारण जित सम्भव भएको बताए। उनले भने, “हाम्रो स्पिन बलिङ राम्रो भयो, हामीले कम रनको लक्ष्य दिए पनि बलिङ राम्रो हुँदा जित सम्भव भयो।”
लामिछानेले स्पिनर नरेन भट्टको प्रशंसा गरे। उनले भने, “नरेनले आज जुन खालको बलिङ गर्यो, त्यो उत्कृष्ट थियो, उसले पावरप्ले र अन्तिमतिर पनि राम्रो बलिङ गर्यो।”
विराटनगरको लगातारको तेस्रो जित टिम सन्तुलित भएकाले पनि सम्भव भएको उनको भनाइ थियो। जनकपुरलाई पराजित गर्ने क्रममा लामिछानेले एक्लैले चार विकेट लिएका थिए।
जनकपुरका प्रशिक्षक शिवनारायण चन्द्रपलले आगामी खेलमा ब्याटिङमा सुधार गर्दै लैजाने प्रतिक्रिया दिए।