काठमाडौँ। ‘म नरहे पनि तिमीले एउटा संगीतसम्बन्धी स्कुल खोल्नू र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनू। यसबाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्याल र मेरा साथीहरू पनि त्यसमा समावेश गर्नू। तिमीले केही गर्नुपर्दैन। साथीहरूले सघाउँछन्,’ स्वरसम्राट नारायण गोपालले बित्नुअघि अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा धर्मपत्नी पेमला गुरूवाचार्यलाई भनेका वाक्य हुन् यी। जुन जिम्मेवारीले अहिले पूर्णता पाएको छ।
पेमलाले नारायण गोपालको उक्त भनाइ नारायण गोपाल संगीत कोषद्वारा प्रकाशित बागीना को स्मृति अंकको संस्मरणमा लेखेकी थिइन्। नारायण गोपालको उक्त सुरमय सपना महाराजगन्जस्थित उनकै निवासको आडैमा रहेको नवनिर्मित ‘गीत गंगा’ भवनले पूरा गरेको छ।
महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केटनजिक एक रोपनी चार आना जग्गामा निर्मित ‘गीत गंगा’मा एक अत्याधुनिक स्टुडियो, विभिन्न संगीतका कक्षाकोठाहरू, नारायण गोपालको संग्रहालय र एक संगीतसम्बन्धी एफएम रेडियो पनि सञ्चालनको तयारी भइरहेको छ। यहाँका दुई भवनमध्ये एउटालाई ‘गीत गंगा’ र अर्काेलाई नारायण गोपाल संगीत कोषको कार्यालयका रूपमा निर्माण गरिएको कोषले जनाएको छ।
काठमाडौँ महानगरपालिकाको तत्कालीन नेतृत्वले गरेको निर्णयबाट उक्त भवन निर्माणार्थ रु पाँच करोड ५० लाख विनियोजन भएपछि विसं २०७७ देखि काम सुरु भएको थियो। त्यसबेला कामपा–३ का वडाध्यक्ष दीपक केसी अहिले नारायण गोपाल सङ्गीत कोषको अध्यक्ष भएर स्वरसम्राटको अन्तिम इच्छालाई साकार बनाउने अभियानमा अगुवाइ गर्दै छन्। अध्यक्ष केसीले पहिलो कार्यकालमा वडाध्यक्ष हुँदा २०५३ सालमा महाराजगन्जमा नारायण गोपाल चोक नामाकरण गरी उनको सालिकसमेत निर्माण गराएका थिए। विसं २०७१ देखि कोषमा जोडिएका केसीले ‘गीत गंगा’ भवन नेपालको सबैभन्दा ठूलो ‘फुल अर्केस्ट्रा’ सहितको स्टुडियो निर्माण भइरहेको बताए।
“अस्पतालको शय्यामा रहेका बेला स्वरसम्राटले आफ्नो हात्तीगौँडाको जग्गा बेचेर संगीत विद्यालय खोल्न भन्नुभएको थियो, त्यहाँको जग्गा बेच्न नमिलेकाले महाराजगन्जको जग्गालाई राष्ट्रको सम्पति बनाएका छौँ। गीत गंगा भवन नयाँ पुस्ताका लागि संगीतको ज्ञान केन्द्र हो,” अध्यक्ष केसीले भने, “हामीलाई महानगरबाहेक अहिले अन्य सरकारबाट कुनै सहयोग प्राप्त भएको छैन। कोषमा रहेको रु ६० लाखको रकमबाट वार्षिक कार्यक्रम र पुरस्कार सञ्चालन गरिरहेका छौँ।”
यही मंसीर १९ गते नारायण गोपालको ३५औँ स्मृति दिवसका अवसरमा कोषको आयोेजनामा ‘गीत गंगा’ भवनको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहबाट उद्घाटनका साथै स्रष्टा सम्मान र पुरस्कार वितरण कार्यक्रम हुँदै छ। कोषले गायक तथा पूर्वराज्यमन्त्री रामवीर मानन्धर र वरिष्ठ सर्जक बीबी थापालाई सम्मान र जनही रु ५१ हजार राशिको पुरस्कार बालकृष्ण सजीव (रचना), राजु अग्रवाल (संगीत) र दावा ग्याल्मो देवान (गायन) लाई पुरस्कार प्रदान गरिने जनाएको छ।