काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ मंसिर २०८२
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेशसभाकी सदस्य कञ्चन विच्छा पदमुक्त भएकी छन्। मधेस प्रदेशसभाले आज सूचना टाँस गर्दै उनी पदमुक्त भएको जनाएको हो।

राष्ट्रिय प्रजातान्त्रिक पार्टीले पार्टीको नीतिविपरीत अनुशासन उल्लंघन गरेकाले प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गरेसँगै उनलाई पदमुक्त गरिएको हो। प्रदेशसभाका सचिव बासु कोइरालाले जारी गरेको सूचनामा भनिएको छ, ‘मधेस प्रदेशका महिलातर्फ समानपातिक प्रदेशसभा सदस्य कञ्चन विच्छाले पार्टीको नीतिविपरीत अनुशासन उल्लंघन गरेकाले राष्ट्रिय प्रजातान्त्रिक पार्टीको विधान २०४६ (संशोधन सहित) अनुसार ६ महिना साधारण सदस्यबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय भएको छ तसर्थ प्रदेशसभा सदस्य कञ्चन विच्छालाई राजनीतिक दलसम्बन्धी ऐन,२०७३ को दफा ३४ बमोजिम प्रदेशसभा सदस्यबाट निष्कासन गरेको सूचनासहित आवश्यक कारबाहीको लागि अनुरोध गरिन्छ।’

विच्छा नेकपा एमालेका सरोजकुमार यादव नेतृत्वमा बनेको सरकारमा वन तथा वातावरणमन्त्री भएकी थिइन्। पार्टीले विच्छालाई सरकारबाट फिर्ता हुन २४ घण्टे अल्टिमेटम दिए पनि उनले फिर्ता नभएपछि कारबाही गरेको हो।