काठमाडौं। नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासले बाङ्लादेशसँगको मैत्रीपूर्ण खेलपश्चात् अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार उक्त जानकारी दिएको हो।
एन्फाले भनेको छ, ‘‘बाङ्लादेशविरुद्धका खेलपछि अन्तर्राष्ट्रिय करियरलाई बिदाइ गर्ने तयारीमा रहेका कारण उनी राष्ट्रिय टोलीको लागि मैदान उत्रिने सम्भावना उच्च छ।’’
नेपालले ६ र ९ सेप्टेम्बरमा बाङ्लादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेलका लागि २३ सदस्यीय अन्तिम नेपाली टोली घोषणा भइसकेको छ। उक्त टोलीमा ३३ वर्षीय भरत पनि छन्।
उनी त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेलिरहेका छन्। एन्फा एकेडेमीका उत्पादन भरतले सन् २००८ अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। त्यसयता ६० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका उनले १० गोल गरिसकेका छन्।