खेलकुद
आम्दानी र खर्चको सन्तुलन नमिल्दा टिमहरूलाई धौ-धौ
नेपाली राष्ट्रिय क्रिकेट टोलीका करण केसी मिडियम पेस बलर हुन्। एक दशकदेखि राष्ट्रिय टोलीमा आबद्ध भएर खेलिरहेका छन्। उनले यसबीच देशभित्र र बाहिर तीन सय खेल खेले। उनको ‘फ्यान बेस’ पनि ठूलो छ। तर, ऋणले कहिल्यै पिछा छोडेन। विभागीय टिम नेपाल पुलिस क्लबमा आबद्ध भएर पनि खेले। अहिले केही ऋणमुक्त भएका छन्। त्यो मौका जुराएको थियो, पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले। काठमाडौं गुर्खाजले उनलाई त्यो लिगमा २० लाख रुपैयाँमा अनुबन्धित गरेको थियो।
यस्तै अवस्था थियो, राष्ट्रिय टोलीका अर्का प्रारम्भिक ब्याटर आसिफ शेखको। उनी पनि पहिलो संस्करणको एनपीएलमा जनकपुर रोयल्समा आबद्ध भए। उनले एनपीएलबाट कमाएको पैसाले बिहेखर्च जोहो गरे।
क्रिकेटमा पहिलादेखि नै संघले खेलाडीलाई तलब–सुविधाको व्यवस्था गर्दै आइरहेको छ। यति हुँदा पनि करण र आसिफजस्ता खेलाडीलाई सहज तवरले जीवनयापन गर्न हम्मे–हम्मे पर्यो।
निकै राम्रो मानिएको क्रिकेटका खेलाडीको अवस्था यस्तो छ भने अन्य खेलका खेलाडीको अवस्था कस्तो होला? सबैले अनुमान लगाउने विषय हो।
नेपालले यतिबेला आर्थिक मन्दी झेल्दै आइरहेको छ। राजस्व राम्रोसँग उठाउन नसक्दा सरकार थलिएको छ। यति धेरै प्रतिकूल अवस्थाबीच नेपाली खेलकुदमा केही आशाका किरण भने देखिन थालेका छन्। त्यो मौका जुराएको हो, फ्रेन्चाइज लिगले।
पछिल्लो समय क्रिकेट र फुटबल मात्र होइन, भलिबल र कबड्डीमा पनि फ्रेन्चाइज लिग आयोजना भयो। यी प्रतियोगितामा आफ्नो टिमलाई समर्थन गर्न धिमे बाजासहित फ्रेन्चाइजीको झन्डा हल्लाउँदै चिच्याउने समर्थकको भीडले नेपाली खेलकुद तरंगित बनाएको छ।
भारतमा दुई सिजन हरियाणा स्टिलर्सबाट प्रो–कबड्डी लिग खेलेका कप्तान घनश्याम रोका मगरलाई अहिलेसम्म अखिल नेपाल कबड्डी संघले कुनै तलब सुविधा उपलब्ध गराउन सकेको छैन। उनी भारतमा व्यावसायिक लिग खेल्दा सिजनको १३ लाख भारतीय रुपैयाँ (२० लाख ८० हजार) पारिश्रमिक लिन्थे। त्यसैले उनको घरायसी अवस्था केही सुदृढ छ।
अन्य खेलाडीको अवस्था भने त्यति राम्रो देखिँदैन। यस्तो अवस्थामा गत माघमा नेपाल कबड्डी लिग (एनकेएल) आयोजना भयो। यसले भने खेलाडीलाई केही राहत उपलब्ध गरायो। घनश्यामले एनकेएलका लागि ‘काठमान्डु माभरिक्स’मा मार्की खेलाडीका रूपमा आबद्ध भएबापत सिजनको एक लाख रुपैयाँ प्राप्त गरे। उनीजस्तै अन्य खेलाडीले पनि लिग खेलेबापत राम्रै रकम हात पारेका थिए।
“हाम्रो टोलीमा धेरै घरेलु प्रतियोगिता खेल्ने मात्र छन्। विभागीय टोलीमा भएकालाई सहज छ। तर, विभागीय टोलीमा आबद्ध नभएकालाई केही आम्दानी गर्ने वातावरण जुराएको छ,” माभरिक्सका मार्की खेलाडी तथा कप्तान घनश्याम भन्छन्।
फ्रेन्चाइज लिग नेपालमा भित्रिएको धेरै भएको छैन। धनगढी क्रिकेट एकेडेमीले २०७३ सालमा धनगढी प्रिमियर लिग (डीपीएल)को सुरुवात गर्दै फ्रेन्चाइज लिगको शंखनाद गरेको हो।
त्यसको सफलतासँगै ईपीएल प्राइभेट लिमिटेडले एभरेस्ट प्रिमियर लिग (ईपीएल) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम)ले फुटबलमा हात हाल्यो। विवादबीच ईपीएल खासै अस्तित्वमा देखिँदैन। तर, दशरथ रंगशालामा हालै सम्पन्न नेपाल सुपर लिग (एनएसएल)ले फुटबलमा अर्को माहोल तयार पार्यो।
एनपीएल खेलेर केही ऋण तिरेका करण केसी भन्छन्, “घर बनाउँदा ऋण लागेको थियो। लिग भए तीन–चार संस्करणमा तिरिसक्छु।”
नेपालमा ५–६ वटा खेल संघलाई छाडेर कुरा गर्नुपर्दा अरू सबैको अवस्था कमजोर छ। फितलो व्यवस्थापकीय क्षमता, योजनाको अभाव र लक्ष्य निर्धारण गर्न नसक्दा यी खेल संघको अवस्था दयनीय बन्दै गइरहेको छ।
यसका बाबजुद क्रिकेट, फुटबल, भलिबल र कबड्डी नयाँ योजनासहित मैदानमा उत्रिएका छन्। त्यसैले अन्य खेलको तुलनामा यी संघका खेलाडी केही भाग्यमानी देखिन्छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नै लगानीमा १० महिनाअघि पहिलोपल्ट नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्यो। विदेशी खेलाडी, विदेशी च्यानल, करोडौंको लगानी– त्यो खेल मात्र थिएन। मनोरञ्जन, राष्ट्रिय गौरव र आमनागरिकलाई खेलसँग जोड्ने माध्यम पनि बन्यो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न तेस्रो संस्करणको एनएसएलले पनि सुस्त भइरहेको नेपाली फुटबलमा प्राण भर्ने काम गर्यो। रंगशाला छेवैमा रहेको कभर्ड हलमा गत असोजमा एभरेस्ट महिला भलिबल लिग (ईडब्ल्यूभीएल) र मंसिरमा नेपाल कबड्डी लिग (एनकेएल) सम्पन्न भयो। ईडब्ल्यूभीएल भदौ २० गतेबाट पोखरामा आयोजना हुँदैछ भने पुरुषतर्फको नेपाल भलिबल लिग (एनभीएल) हुने तरखरमा छ।
खेलाडीमा उत्साह, आम्दानी कति?
करणजस्तै एनपीएलमा सातवटा फ्रेन्चाइजले अरू सात क्रिकेटरलाई पनि उति नै रकम उपलब्ध गरायो। यीबाहेक ११ खेलाडी उच्चतम रकम १५ लाखमा बिके। यस्तै आठ वटा फ्रेन्चाइज कम्पनीले अक्सनमा परेका ८० खेलाडीलाई आफ्नो टिममा भित्र्याउन ५ करोड ९२ लाख ५० हजार रुपैयाँ खर्चिए। जनकपुर रोयल्सका ‘मार्की खेलाडी’ आसिफ शेख भन्छन्, “लिगमा पाएको पैसाले बिहे गर्न पुग्यो।” उनले एनपीएल सम्पन्न भएलगत्तै बिहे गरे।
क्यानले फ्रेन्चाइज टिम बिक्रीबापत १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रुपैयाँ उठाएको थियो। सिद्धार्थ बैंकसँग पाँच वर्षका लागि प्रायोजन सम्झौता गर्दा २० करोड प्राप्त गर्यो। ब्रान्ड लजिक कम्पनीलाई ‘कमर्सियल राइट्स’ बेचेर ५ करोड ९२ लाख रुपैयाँ उठाएको उसको दाबी छ। यसबाहेक मैदानमा प्रायोजक बोर्ड राखेर २० प्रतिशत र टिकट बिक्रीबाट पनि मनग्य पैसा कमाएको क्यानको भनाइ छ। यसैगरी नेपालमा प्रतिबन्ध रहेको जुवा खेलाउने ‘एप’को ‘सरोगेट’ कम्पनीलाई प्रायोजकका रूपमा भित्र्याएर पनि क्यानले पैसा उठाएको थियो।
एनपीएलबाट क्यानले कुल २७ करोड ६९ लाख ६४ हजार ८ सय १८ रुपैयाँ आम्दानी गरेको थियो। यसमध्ये खुद नाफा २ करोड ४६ लाख ५० हजार ७ सय ८९ भएको थियो।
क्रिकेटले मात्र होइन, इन्फिनिटी ड्रिम्सले ईडब्ल्यूभीएल आयोजना गर्न नेपाल भलिबल संघसँग सात वर्षका लागि २५ करोड रुपैयाँको सम्झौता गरेको छ।
यस्तै एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले अखिल नेपाल कबड्डी संघसँग १० वर्षको सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। जसअनुसार एस्ट्रोनिक्स म्यानेजमेन्टले संघलाई वार्षिक १५ लाख र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा थप १५ लाख बुझाउने सर्त छ। सम्झौताअन्तर्गत म्यानेजमेन्ट कम्पनीले ६ वटा फ्रेन्चाइजसँग ३५ लाख रकम उठाउन पाउने प्रावधान छ।
कबड्डी र भलिबल संघले फ्रेन्चाइज लिगका लागि टिम बनाउन १५ देखि १८ लाख खर्च गर्ने गरेका छन्। यसबाट खेलाडीले राम्रो कमाइ गरिरहेको संघको दाबी छ। एनकेएलमा आबद्ध खेलाडीले आफ्नो श्रेणीअुनसार ५०, ६० र ७५ हजार रुपैयाँ पारिश्रमिक पाएका थिए। मार्कीले एक लाख रुपैयाँ र विदेशी खेलाडीको हकमा एक हजार डलर उपलब्ध गराइएको हो।
फुटबलमा यो रकम ठूलो छ। अर्थात् एउटा टिमका लागि १ करोड २५ लाख हाराहारी खर्च हुने गरेको छ। यसमा खेलाडीको बसोबास, खानपिन, यातायात र किट्स समावेश छैन।

एनएसएलले एन्फालाई आठ वर्षमा १७ करोड बुझाउनुपर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। हालसम्म तीन संस्करणका खेल सम्पन्न भइसकेका छन्।
यी सबै फ्रेन्चाइज लिगको मुख्य आम्दानी प्रायोजक र टिकट हो। अस्थायी प्यारापिट, लाउन्ज, भीआईपी र प्रसारण अधिकार बेचेर पनि आयोजकले आम्दानी गर्ने गर्छन्। यी प्रतियोगिताबाट खेलाडीले मात्र नभई प्राविधिक टोलीले पनि आर्थिक लाभ पाउने गर्छन्।
“अहिले हेर्दा एउटा फ्रेन्चाइज टिमले ५०–६० लाख कमाउन सक्ने आधार देखिएको छ,” क्यान सचिव पारस खड्का भन्छन्।
टिकाउन चुनौती
क्यान सचिव खड्काले यो दाबी गरिरहँदा एनपीएलमा एउटा टिम बनाउन ६ देखि ८ करोड खर्च भएको टिम मालिकको दाबी छ। यसले खर्च सन्तुलन गर्न टिमहरूलाई धौ–धौ परिरहेको छ। फेरि संघको आर्थिक पारदर्शिता फितलो बन्दा लगानीकर्ता अन्योलमा परेका छन्।
एनएसएल फ्रेन्चाइज काठमाडौं रेजर्सका प्राविधिक व्यवस्थापक तथा त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक मेघराज केसी भन्छन्, “फुटबलमा पनि टिम बनाउन १ करोड ७५ लाखदेखि साढे २ करोडसम्म खर्च भएको छ। फुटबलका लागि यो सकारात्मक पक्ष हो। तर आर्थिक सन्तुलन मिलिरहेको छैन। यसले भविष्यमा अन्योल बढाउँछ। त्यसैले बेलामा सचेत हुनु जरुरी छ।” तर, आर्थिक संकलन भने न्यून छ। क्लब सञ्चालनका अनुसार दोस्रो संस्करणमा ६ देखि ८ लाख रुपैयाँ मात्र पाएका थिए।
क्रिकेट र फुटबलबाहेक कबड्डी र भलिबलले पनि १५ देखि १७ लाख खर्च गरिरहेको आयोजकको दाबी छ। एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानी आफ्नो अनुभव सुनाउँछन्, “एनपीएल र एनएसएलको क्रेज देखेर म आकर्षित भएको हुँ। तर लगानीको अनुपातमा आम्दानी न्यून देखेपछि राति निद्रा पनि लागेन।”
इन्फिनिटी ड्रिम्स प्रालिले नेपालमा दोस्रोपल्ट महिला खेलकुदमा फ्रेन्चाइज लिग आयोजना गरेको हो। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सन् २०१९ मा नेपालको पहिलो महिला फ्रेन्चाइज टी–२० क्रिकेट लिग वुमन्स च्याम्पिन्स लिग (डब्लूसीएल) आयोजना गरेको थियो। क्यान सचिव पारस खड्का, नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल र क्यान प्रवक्ता छुम्बी लामालगायतले त्यो फ्रेन्चाइज लिग आयोजना गरेका थिए। तर, त्यो लिग पहिलो संस्करणभन्दा अगाडि बढ्न सकेन।
त्यसैले महिला फ्रेन्चाइज लिगको भविष्य नेपालमा राम्रो देखिएको छैन। निजी क्षेत्र भएका कारण ईडब्ल्यूभीएलको आयोजकले आम्दानी कति हुन्छ केही खुलाएको छैन। महिला फ्रेन्चाइज लिग आयोजना हुनु आफैंमा सकारात्मक कुरा भएको इन्फिनिटी ड्रिम्स प्रालिकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चौलागाईं बताउँछिन्। “महिलाको हकमा पहिलो संस्करण आयोजना गर्नु सफलताको द्योतक हो। ठूलो लगानी भएको छ। ठ्याक्कै यति खर्च भयो भन्न गाह्रो छ। ६ वटा टिम र लिगको लगानी छ। सबैको स्वीकृतिबिना बोल्न उचित नहोला कि!,” उनी भन्छिन्।
आयोजकका तर्फबाट हेर्ने हो भने राखेपको कभर्ड हलमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न धेरै लगानी लाग्छ। हाई क्वालिटी प्रोडक्सन खेलकुदको माग हो। कभर्ड हलमा यसलाई व्यवस्थित गराउनु चुनौतीपूर्ण कार्य नै हो। यसका लागि काठमाडौंमा अन्य विकल्प छैनन्।
लिग टिकाउन धेरै नै चुनौती रहेको उनी बताउँछिन्। “भलिबल राष्ट्रिय खेल हो। महिला खेलकुदका लागि ठूलो सम्भावना पनि छ। खेलाडी खुसी छन्। संघ र परिषद् पनि सकारात्मक छ। गर्दै जाऊँ, समर्थकले साथ दिन्छन् भन्नेमा विश्वस्त छौं। यो नै हाम्रो सन्तृष्टि हो,” उनी भन्छिन्।