रौतहट। ग्यास बुलेट पल्टिएर अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्ग अझै सञ्चालन हुन सकेको छैन।
आज (मंगलबार) बिहान साढे ७ बजेदेखि अवरुद्ध पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-धन्सार सडक खण्डको लमाह पुलनजिक एलपी ग्यास बोकेको बुलेट पल्टिएको थियो।
भारतको रक्सौलबाट ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी १७ ए टी २११४ नम्बरको ट्याङ्कर राजमार्गमै पल्टिएपछि अवरुद्ध खुलाउने प्रयास बिहानैदेखि भए पनि सम्भव नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन्।
उनका अनुसार बुलेट हटाउन प्रयास भइरहे पनि अझै समय लाग्ने भएको छ। ग्यास बुलेट हटाउन ६ वटा क्रेन प्रयोग गरिएका छन्। दुर्घटनापछि बुलेटबाट लिक भएको ग्यास प्राविधिकले टाल्न नसकेपछि समस्या भएको उनले बताइन्।
दुर्घटनामा बुलेट चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन्। अहिले पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरमा रोकिएका छन्। केही सवारीसाधन रौतहटको चन्द्रनिगाहपुर-गौर राजमार्ग हुँदै बालचनपुर, जंगल सहिया हुँदै धन्सारको करिब ३५ किलोमिटर लामो बाटो घुमेर आउजाउ गरिरहेका छन्।