बुटवल। लुम्बिनी प्रदेशका नौ जिल्ला सभापतिसहितको टोली विशेष महाधिवेशनमा सहभागी हुने भएका छन्। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार रुकुमपूर्व, रोल्पा, प्युठान, गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासीपश्चिम, कपिलवस्तु र बाँकेका सभापतिले विशेष महाधिवेशनको समर्थन गरेका छन्।
उनीहरूसहित ६५ देखि ७० प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने पुनले दाबी गरे। “विशेष महाविधेशनको माग गर्दै ५६ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गर्नुभएको थियो, केहीले बीचमा प्रभावमा परेर फिर्ता लिनुभयो,” उनको दाबी छ, “विशेष महाधिवेशनका पक्षधरहरूमाथि भएको दबाब र प्रभाव देखेर अरू धेरै प्रतिनिधि साथीहरू विशेष महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा उभिएर काठमाडौँ जाँदै हुनुहुन्छ।”
उनले विशेष महाधिवेशन पक्षधरहरूलाई रोक्ने र त्रास देखाउने काम भएको भन्दै त्यसो नगर्न संस्थापन पक्षलाई आग्रह गरे। “उहाँहरूले प्रतिनिधिको पछाडि एक-एकजना लगाएर विशेष महाधिवेशनमा जानका लागि रोक्ने प्रयास गर्नुभएको छ,” उनले भने, “त्यसो हुँदा झन् बढी प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा उभिनुभएको छ, केही प्रतिनिधि र जिल्ला सभापतिहरू लोभ र त्रासका कारण रोकिए पनि लुम्बिनी प्रदेशबाट ६५ देखि ७० प्रतिशतको सहभागिता हुन्छ र हामी विशेष महाधिवेशन सफल बनाउँदै छौँ।”
उनका अनुसार लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रबाट करिब ६३० जना प्रतिनिधिमध्ये चार सयभन्दा बढी प्रतिनिधि काठमाडौँ पुग्ने खबर प्राप्त भएको छ।
गुल्मीका सभापति खिलध्वज पन्थीका अनुसार गुल्मीबाट ५४ मध्ये ४८ जना विशेष महाधिवेशनको पक्षमा छन्। उनी भन्छन्, “हामी ४८ जना काठमाडौँ सहभागी हुने टुंगो लागिसक्यो, बाँकी साथीहरूले हामी प्रयास गर्छौं भन्नुभएको छ, थप केही साथीहरू सहभागी हुनुहुन्छ।”
पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पाबाट ५२ जनामध्ये ४८ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको भए पनि केहीले जान नसक्ने बताएको जानकारी दिए। उनले भने, “पाल्पाबाट ९५ प्रतिशत उपस्थिति हुने अवस्था थियो, अहिले केही साथीहरूले जान नसक्ने बताएपछि हामी ९० प्रतिशत साथीहरू सहभागी हुन्छौँ।”
रोल्पाबाट २६ जनामध्ये देशबाहिर र सम्पर्कमा नरहेका चारजनाबाहेक अरू सबै सहभागी हुने रोल्पाका सभापति किशोर आचार्यले जानकारी दिए।