काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

आवरण

कृषि उत्पादनका लागि उर्वर मानिएको मधेस प्रदेशका २९ प्रतिशत बालबालिका कुपोषणको सिकार

२९ पुष २०८२
मनरासिस्वा नगरपालिका-९ बथनाहामा नेपाल-भारत सीमा क्षेत्रमा रहेको मुसहर बस्ती। तस्बिर : चन्दन दुबे
अ+
अ-

सिरहाको हरिपुरकी चन्द्रिकाकुमारी यादवको १७ वर्षको उमेरमा विवाह भयो। उनका अहिले पाँच र तीन वर्षका दुई छोरा छन्। यादवले गरिबीकै कारण गर्भावस्थामा उचित आहार र स्याहारबाट वञ्चित हुनुपर्‍यो। उनी भन्छन्, “म गर्भवती हुँदा आमाले पोसिलो खाना खान माइतबाट अलिअलि पैसा पठाउनुहुन्थ्यो। तर, त्यो पर्याप्त थिएन। त्यसैले मैले गर्भवती हुँदा पोसिलो खाना खानै पाइनँ।”

गर्भावस्थामा आइरन तथा भिटामिनको कमी मात्र होइन, पौष्टिक आहारसमेतको अभावले चन्द्रिकाको प्रसव नै कठिन बनेको थियो। त्यसैले उनका दुई छोराको स्वास्थ्यमा सुरुदेखि नै समस्या देखियो। उचाइअनुसार तौल नबढ्ने, ख्याउटेपन र निरन्तर बिरामी भइरहने समस्या देखियो। गर्भावस्थामा आमाले पोसिलो खाना नपाएको अनि शिशु जन्मेपछि तिनले पनि सही पौष्टिक तत्त्व नपाएकाले उनीहरू कुपोषणको सिकार भएका हुन्।

यता, जनकपुरधाम उपमहानगरपालिका-२४ रुपैठाकी रागिनी साह ३६ महिनाकी हुँदा उनको तौल आठ केजी मात्र थियो। शरीर र हातखुट्टा दुब्ला थिए भने आँखामा चमक थिएन। रागिनीकी आमा सुनयनादेवी दैनिक कृषि कर्ममा व्यस्त हुने भएकाले छोरीको उचित हेरचाह र आहारका लागि समय दिन सकेकी थिइनन्। घरमा बिहान उपलब्ध खानेकुरा खुवाएर उनी काममा जाने गर्थिन्। जन्मेको तीन वर्षसम्म पनि छोरीको तौल नबढेपछि रागिनीलाई लिएर उनी अस्पताल पुगिन्। चिकित्सकले शिशु जन्मेदेखि नै उनलाई उचित आहार नपुगेका कारण कुपोषण भएको ठहर गरे।

छोरीलाई घरमै राखेर उपचार सम्भव नहुने भएपछि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनःस्थापना केन्द्रमा सुनयनादेवी र रागिनीलाई कात्तिक २०८१ मा भर्ना गरियो। केही समय पोषण केन्द्रमा राखिएपछि रागिनीको तौल आठ केजीबाट बढेर १२ केजी पुग्यो। सुनयनादेवी भन्छिन्, “आमाछोरी नै कुपोषणको सिकार भएका रहेछौँ। अस्पताल भर्ना भएपछि तौल पनि बढ्यो, स्वास्थ्यमा पनि सुधार भयो।”

जनकपुरमा रहेको पोषण पुनःस्थापना केन्द्र

महोत्तरीको जमुनिया-७ की निकिता राउत पनि रागिनीजस्तै कुपोषणग्रस्त छिन्। उनी चार वर्षकी भइन्। तर, उमेर बढे पनि तौल चाहिँ बढ्न सकेको छैन। अहिले उनको तौल आठ केजी छ। निकिताका बुबाआमा नै स्वास्थ्यकर्मी हुन्। स्वास्थ्यकर्मी दम्पतीकै सन्तान कुपोषणको सिकार हुनु अर्को दु:खद सन्दर्भ बनेको छ।

आफूहरू कामकाजी भएकाले शिशु हेरचाह गर्न यी दम्पतीले घरमै महिला सहयोगी पनि राखेका थिए। तैपनि, निकिता कुपोषणको सिकार भइन्। अहिले उनलाई कुपोषणबाट मुक्त गर्न चिकित्सकको सल्लाहअनुसार नियमित तालिका बनाएर खुवाउने गरिएको छ। त्यसले उनको तौल दुई केजी बढेको आमा सुनिता जनाउँछिन्। भन्छिन्, “हामी स्वास्थ्य क्षेत्रमै कार्यरत भए पनि छोरी कुपोषणको सिकार हुँदा दुःख लागेको छ। उचित खानपानमा हाम्रोतर्फबाट कमजोरी भएछ। अहिले त्यसलाई सुधार गर्न थालेका छौँ।”

पोषण पुनःस्थापना केन्द्रमा भर्ना भएका बालक

रागिनी र निकिताको आर्थिक पृष्ठिभूमिमा धेरै अन्तर छ। रागिनीका अभिभावकको आर्थिक अवस्था कमजोर छ भने निकिताका बाबुआमा तुलनात्मक रूपमा सम्पन्न छन्। विडम्बना, दुवैका नानीहरू उचित हेरचाह र पोषण नपाउँदा कुपोषणले ग्रसित भए।

मधेस प्रदेशका बालबालिका कुपोषणको सिकार हुनुमा गरिबी मात्र कारण चाहिँ होइन, कैयौँ महिलामा रक्तअल्पताको समस्याले पनि तिनका छोराछोरी कुपोषणको सिकार हुने गरेका छन्। धनुषाको औरही गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी डोजी पाण्डे भन्छिन्, “गर्भावस्थामा महिलाले पौष्टिक आहार नपाउनु मधेसको विकराल समस्या भएको छ। पौष्टिक आहारको महत्त्व कैयौँ महिलालाई थाहा छैन। त्यसले महिला र शिशुको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना भएको छ, यही कारण मधेसका धेरै बालबालिका कुपोषणबाट पीडित छन्।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले कुपोषणमा कर्णालीपछि दोस्रो स्थानमा मधेस प्रदेश रहेको देखाउँछ। कर्णाली विकट मात्र होइन, गरिबी, विपन्नता र भौतिक पूर्वाधारमा पनि पछि छ। त्यसले त्यो प्रदेश कुपोषणमा एक नम्बरमा पर्नु स्वाभाविकै हो। तर, कर्णालीको तुलनामा सुविधासम्पन्न, सहज र कृषि उपजका लागि उर्वर भएकाले देशकै अन्नभण्डार मानिएको मधेस प्रदेशमा पनि कुपोषणको समस्या निम्तिनु गम्भीर विरोधाभास हो।

मधेस प्रदेशका बालबालिकाहरू

कृषि उत्पादनमा मधेस धनी प्रदेश मानिन्छ। नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन, २०८१/८२ मा मधेस प्रदेशको कृषि उत्पादन अघिल्लो वर्षको तुलनामा १०.२६ प्रतिशत वृद्धि भई ६६ लाख एक हजार ७४२ मेट्रिक टन पुगेको छ। तर, कृषि उत्पादन बढे पनि मधेस प्रदेशका बालबालिकामा कुपोषण विकराल संकट बनेको छ।

ग्रामीण भेगमा मात्रै नभई मधेसका सहरी क्षेत्रका शिक्षित परिवारका बालबालिकामा समेत कुपोषणको समस्या देखिन्छ। मधेसका गरिब परिवार खान नपाएर अनि धनीहरू चाहिँ खान नजानेर कुपोषणको सिकार भएको मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निरीक्षक तथा पोषण फोकल पर्सन विनोद यादव बताउँछन्।

मधेसका बालबालिका कुपोषणले ग्रस्त हुनुमा मधेसमा व्याप्त बालविवाह पनि कारण हो। मधेसमा करिब ४२ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ। यसले किशोरीहरूको गर्भधारणमा जटिल समस्या देखिने गरेको प्रदेश नीति तथा योजना आयोगको दिगो विकास लक्ष्यउन्मुख मधेस पार्श्वचित्र, २०८२ ले देखाउँछ। मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२ सालको आँकडाअनुसार उमेरगत आधारमा मधेसमा पुड्कोपन २९ प्रतिशत छ, जबकि देशको समग्र पुड्कोपन २५ प्रतिशतमा सीमित छ।

विश्व स्वास्थ्य संगठनका अनुसार शिशु जन्मँदाको उचाइ कम्तीमा ४५ देखि ५० सेन्टिमिटरको हुनुपर्छ। त्यसैगरी, शिशुको उमेर एक वर्ष पुग्दा २५ सेन्टिमिटर थप हुनुपर्छ। दोस्रो वर्षमा १२.५ र तेस्रो, चौथो तथा पाँचौँ वर्षमा क्रमशः सातदेखि नौ सेन्टिमिटरका दरले बढ्दै जानुपर्छ।

मधेस प्रदेशमा कुपोषण न्यूनीकरण गर्न तीन स्थानमा पोषण पुनःस्थापना केन्द्र नै खोलिएको छ। राजविराज, जनकपुर र वीरगन्जमा खोलिएका ती केन्द्रमा आउनेको संख्या हेर्दा मधेसी समाजमा पोषणका दृष्टिले गरिब र धनी परिवारबीच खासै फरक देखिँदैन। दुवैथरी परिवारका बालबालिका पोषण केन्द्रमा ल्याइने गरेका छन्। धेरै अभिभावकमा शिशुहरूलाई केकस्ता खानेकुरा कसरी दिने भन्ने चेतनाको अभाव छ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनःस्थापना केन्द्रकी प्रबन्धक किरण यादवका अनुसार शिशुलाई पोषणयुक्त खानेकुरा दिनुको साटो बजारमा पाइने पत्रु खाना दिइने गरिएकाले मधेसमा कुपोषणको समस्या चर्को देखिएको हो। उनी भन्छिन्, “पोसिलो खाना नदिने, बजारमा पाइने जथाभाबी खाना दिने गरिएकाले पनि मधेसमा कुपोषण विकराल बनेको छ, धनी र गरिबी दुवैथरी परिवारमा आहारविहारबारे ज्ञानको कमी पनि छ, त्यसको मारमा धेरै बालबालिका परेका छन्।”

विकराल समस्या

मधेसका बालबालिकामध्ये प्रत्येक १० जनामध्ये चार बालबालिका कुपोषित छन्। यसको अर्थ हरेक १०० जनामध्ये ४० बालबालिका कुनै न कुनै प्रकारको कुपोषणको सिकार भएका छन्। यी बालबालिकाले विभिन्न स्वास्थ्य जटिलता झेलिरहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको पोषणगृहको तथ्यांकले देखाउँछ। तथ्यांकअनुसार बर्सेनि १५० देखि २५० जना बालबालिका कुपोषणका कारण अस्पताल भर्ना हुन्छन्। तीमध्ये अधिकांशमा क्षयरोगको समस्यासमेत देखिने गरेको छ।

पोषण पुनःस्थापना केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १८६ जना बालबालिका कुपोषणका कारण केन्द्रमा भर्ना भएका थिए। २०८०/८१ मा २१६ जना भर्ना भएका थिए भने २०८१/८२ मा २०८ जना भर्ना भएका थिए।

पोषण पुनःस्थापना केन्द्रमा अहिलेसम्म भर्ना भएका बिरामीको तथ्यांक

मधेस प्रदेशमा पाँच वर्षमुनिका २९ प्रतिशत बालबालिकामा पुड्कोपन, २७ प्रतिशतमा कम तौल, १० प्रतिशतमा ख्याउटेपना र ५१ प्रतिशतमा रक्तअल्पता रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययनले देखाएको छ। मधेस प्रदेशका प्रजनन उमेरका महिलामा रक्तअल्पताको समस्या अझ गम्भीर देखिन्छ। त्यहाँका १५ देखि ४९ वर्ष उमेरसमूहका ५२ प्रतिशत महिला रक्तअल्पताबाट पीडित छन्।

मधेस प्रदेशमा वार्षिक करिब एक लाख ४० हजार बालबालिका जन्मिने गरेका छन्। तीमध्ये पाँच वर्षमुनिको बाल मृत्युदर प्रति एक हजारमा ४३ जना रहेको मधेस प्रदेशको दोस्रो आवधिक योजनामा उल्लेख छ। मधेसमा शिशु मृत्युदरको मुख्य कारण नै कुपोषण हुने गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पतालको बालविभाग प्रमुख डा. वैद्यनाथ ठाकुर बताउँछन्। उनका अनुसार कुपोषणको समस्या सबै वर्गका शिशुमा देखा परेको छ। ठाकुर भन्छन्, “सामान्य खालको कुपोषण भए खानपानमा सुधार गर्न भन्दै घर पठाउने गरिएको छ। कडा खालको भए अस्पतालमै भर्ना गरेर उपचार गरिन्छ। कुपोषणले बालबालिकामा मुटु, श्वासप्रश्वास, निमोनिया, रक्तअल्पता, मस्तिष्कको विकासलगायत समस्या देखिने गरेको छ।”

शिशुमा मात्र होइन, प्रजनन उमेरसमूहका महिलामा रगतको कमी दर सन् २०१९ मा ४०.८ प्रतिशत थियो। तर, सन् २०२४ मा त्यो बढेर ५२.४ प्रतिशत पुगेको छ। त्यस्तै, बालबालिकामा रगतको कमी ५०.६ प्रतिशत रहेको सरकारी तथ्यांक छ।

अन्नभण्डारमै खान नपुग्ने ४३ प्रतिशत

मधेस प्रदेशमा कृषि कर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो कृषि उत्पादनले वर्षभरि खान पुग्दैन। राष्ट्रिय कृषि गणना, २०७८ अनुसार मधेसमा सात लाख ३८ हजार ३४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खानाको जोहो गर्न कठिन हुने गरेको देखिन्छ।

देशको कुल जनसंख्यामध्ये ६१ लाख १४ हजार ६०० जना अर्थात् ११ लाख ५६ हजार ७१५ परिवार बसोबास गर्ने मधेस प्रदेशमा सात लाख ३८ हजार ३४० अर्थात् ६३.८ प्रतिशत परिवार कृषक छन्। यी परिवारले प्रदेशका आठ जिल्लामा चार लाख ९२ हजार ४९७ हेक्टरमा कृषि कार्य गर्ने गरेका छन्। प्रदेशका कुल कृषकमध्ये ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षभरि खान पुग्ने गरेको कृषि गणना, २०७८ मा उल्लेख छ।

पोषण केन्द्रमा राखिएको खानेकुरासम्बन्धी जानकारी

मधेसमा अरू प्रदेशको तुलनामा सबैभन्दा बढी तीन लाख ८४ हजार ५५३ हेक्टरमा धानबाली र दुई लाख ४७ हजार ६०९ हेक्टरमा गहुँ र ३३ हजार ७१९ हेक्टरमा मकै उत्पादन हुन्छ। तर, यही प्रदेशमै बालबालिका कुपोषणको सिकार हुनु दु:खद सन्दर्भ भएको छ।

तराई-मधेसको जनजीवन कृषिमा आश्रित रहेका कारण यसलाई अन्नभण्डारको रूपमा लिने गरिन्छ। तर, अन्नभण्डार भएको ठाउँकै बालबालिकाहरू कुपोषणको सिकार हुनुमा चाहिँ जनचेतनाको अभावले भूमिका खेलेको पोषण पुनःस्थापना केन्द्रकी प्रबन्धक यादव बताउँछिन्। उनी भन्छिन्, “मेरा छोराछोरीले के खाए? कस्तो खाए? के खुवाउने? त्यो जिम्मेवारी त अभिभावकको हो। तर, कैयौँ अभिभावकले यो जिम्मेवारी पूरा नगर्दा कुपोषण विकराल समस्या बनेको छ।”

मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं बालरोग विशेषज्ञ डा. प्रमोद यादव पछिल्लो समय अधिकांश बालबालिकाका बुवा वैदेशिक रोजगारीमा गएका कारण पनि तिनका छोराछोरीको हेरचाहमा समस्या देखिने गरेको बताउँछन्। उनी भन्छन्, “बुवा विदेशमा, आमा घरायसी र खेतीपातीको काममा हुँदा छोराछोरी उचित आहारविहारबाट वञ्चित हुने गरेका छन्।”