नेपाल-बाङ्लादेश भिडन्त
नेपालका लागि कीर्तिमानी १३ अन्तर्राष्ट्रिय गोल गरेका अञ्जन विष्ट २२ महिनादेखि गोलविहीन
बाङ्लादेश सुन्नासाथ धेरै नेपाली फुटबलप्रेमीले सम्झिने नाम हो, फरवार्ड अञ्जन विष्ट। दुई वर्षअघि दशरथ रंगशालामा उनले गरेको ‘ह्याट्रिक गोल’ कसले बिर्सिएको होला?
२७ सेप्टेम्बर २०२२ मा बाङ्लादेशविरुद्ध ३–१ गोलको जित निकाल्न अञ्जनले ह्याट्रिक मात्र पूरा गरेनन्, नेपालले लामो समयपछि घरेलु मैदानमा सफलताको स्वाद चाखेको थियो। त्यसयता न अञ्जनले पुरानो प्रदर्शन दोहोर्याउन सकेका छन्, न नेपालले घतलाग्दो जित निकालेको छ।
अञ्जन स्वयं भन्छन्, “म गोलका लागि खासै दबाब महसुस गर्ने खेलाडी त होइन। तर, धेरै समय भयो गोल गर्न नसकेको। खेलमा फर्किने यो उत्कृष्ट समय हो।”
नेपाल यही मैदानमा शनिबार साँझ ५:३० बजे पहिलो खेलमा बाङ्लादेशलाई चुनौती दिने तयारी गर्दैछ, त्यो पनि दुई वर्षअघि जस्तै सानदार जित निकाल्ने लक्ष्यसहित। तर, के यो सम्भव होला?
दुई वर्षअगाडिको नेपाली टोली र अहिलेमा धेरै परिवर्तन भइसकेको छ। त्यसैले शनिबार हुने खेलमा नेपाललाई जित निकाल्न सहज छैन। अप्रत्याशित खेलाडी पलायनले यतिबेला राष्ट्रिय टोलीको संरचना भत्किएको अवस्था छ। जितको ‘रिदम’ पनि पहिले जस्तो छैन।
“अहिले निरन्तर हुनुपर्ने भनेको लिग हो। हाम्रो दुर्भाग्य, खेलाडी भने निरन्तर बाहिर गइरहेका छन्,” १३ अन्तर्राष्ट्रिय गोल गरेका अञ्जन भन्छन्, “त्यसैले मैले अग्रपंक्तिमा धेरै खेलाडीसँग पार्टनरसिप गर्नुपरेको छ। गाह्रो अवस्था छ।”
नेपालमा शीर्ष डिभिजनको लिग नभएको २७ महिना बितिसकेको छ। नयाँ टोली निर्माण गर्न अस्ट्रेलियन प्रशिक्षक म्याट रस सास्ती खेपिरहेका छन्। विदेश पलायनका कारण सिनियर खेलाडी उपलब्ध नहुँदा प्रशिक्षक रसलाई खेलाडी छनोट गर्न ‘ओपन सेलेक्सन’ को सहारा लिनुपरेको थियो। अझ, लिग खेल्न नपाएका खेलाडीको फिटनेस कस्तो छ? यो पनि पछिल्लो खेलको नतिजाले प्रस्ट पारिसकेको छ।
तर, बाङ्लादेशको स्थिति विगतभन्दा फरक छ। दुई वर्षअघि नेपालसँग ३–१ को हार बेहोरेका सात अनुभवी खेलाडी अहिले पनि टिममा समावेश छन्।
नेपाल र बाङ्लादेशबीचको फुटबललाई सधैं दक्षिण एसियाली क्षेत्रको एक रोचक अध्याय मानिन्छ। यी दुई देशबीच दशकौंदेखि प्रतिद्वन्द्विता छ। पछिल्लो २४ खेलमा नेपालले १३ हार बेहोरेको छ। तीन खेल बराबरीमा सकिँदा आठ खेलमा मात्र विजय निकालेको छ।
पछिल्ला तीन खेलको समीक्षा गर्ने हो भने नेपालले बाङ्लादेशलाई जित्न दिएको छैन। रमाइलो कुरा, यी तीनवटै खेल दशरथ रंगशालामा भएका थिए।

कप्तान किरणकुमार चेम्जोङ भन्छन्, “घरमा खेल्दा नेपाल सधैं बलियो हुन्छ। दर्शकहरूको ठूलो समर्थन हुन्छ।”
शनिबारको खेल पनि यस्तै अपेक्षा र आशंकाबीच सुरु हुँदैछ। खेलाडी पलायनका कारण राष्ट्रिय टोलीलाई नयाँ स्वरूपमा ढाल्ने प्रयास भइरहेको अवस्थामा अनुभवी कप्तान किरणको क्षमतामाथि अस्ट्रेलियन प्रशिक्षकले उत्तिकै विश्वास गरेका छन्। तर, अग्रपंक्तिमा नेपाल अझै गोलको निरन्तरता खोजिरहेको छ।
अञ्जन र जलेस्पीजंग कार्कीले पछिल्लो समय अग्रपंक्तिमा गतिलो क्षण सिर्जना गर्ने क्षमता देखाएका थिए। तर, फिनिसिङमा कमी–कमजोरी टरेको छैन। त्यसैले अञ्जन २२ महिनादेखि गोलविहीन छन्। त्यसैबीच नेपालले यस वर्ष भएका चारमध्ये दुई खेलमा पराजय बेहोरेको छ। त्यसमा पनि लाओसविरुद्ध बेहोरेको २–१ गोलको हारले खराब नतिजाको इतिहास लेखाइसकेको छ। सिंगापुरविरुद्ध पहिलोपल्ट जित निकाल्दा र हङकङलाई ३७ वर्षपछि रोक्दा नेपालले जम्मा एक गोल मात्र गर्न सकेको छ।
रणनीतिक हिसाबमा नेपाल सधैंझैं डिफेन्सिभ संचरना बनाएर ‘काउन्टर अट्याक’मा भर पर्ने विश्वास गर्न सकिन्छ। नेपाली प्रशिक्षकले यो रणनीति अपनाएको खण्डमा बाङ्लादेशले उच्च ‘प्रेसिङ’ खेल्ने सम्भावना उत्तिकै रहन्छ।
मुख्य प्रशिक्षक रस यही तथ्यलाई मध्यनजर गर्दै युवा मिडफिल्डरमार्फत खेलको रफ्तार नियन्त्रण गर्ने प्रयासमा छन्। ललितपुर सिटी एफसीलाई दुईपल्ट नेपाल सुपर लिग (एनएसएल) जिताएका आदित्य शाक्यलाई उनले पहिलोपल्ट टोलीमा समावेश गर्नुको कारण पनि यही देखिन्छ। उनले टिमलाई गति र लय दिन सक्ने रसको विश्वास छ।
बाङ्लादेश भने अघिल्लो साफ च्याम्पियनसिपमा देखाएको खेल शैलीबाट मैदान उत्रिने तयारीमा छ। कप्तान जमाल भुइयाँले अझै पनि मिडफिल्ड सम्हालिरहेका छन्। उनको ‘पासिङ र टेम्पो’ ले टिमलाई सहज बनाउने छ। दशरथ रंगशालामा उनले खेलको गति नियन्त्रण गरेको दृश्य र नेपाली मिडफिल्डलाई दबाबमा पारेको क्षण अझै स्मरणीय छ। नेपालको तुलनामा बाङ्लादेश ‘काउन्टर अट्याक’मा बलियो देखिन्छ।
आक्रमणतिर नजर डुलाउँदा रकिब हुसैन र फैसल अहमद फहीम विपक्षीका लागि सधैं खतरा बन्दै आएका छन्। रकिबको गति, विङबाट विपक्षीको डिफेन्स लाइन तोड्ने क्षमता अनि फहीमको ‘ड्रिब्लिङ’ र बल अगाडि बढ्ने शैलीले नेपाली डिफेन्सलाई पटक–पटक तनाव दिएको इतिहास छ। मोहम्मद इब्राहिम त झन् विङबाट निरन्तर क्रस उपलब्ध गराइदिँदै गोलका अवसर सिर्जना गर्न माहिर मानिन्छन्। यसका साथै उनी पछाडि फर्केर सहयोग गर्ने गर्छन्। उनले नेपालविरुद्ध पनि बारम्बार प्रभाव छोडेका छन्।
यस्तै, अग्रपंक्तिमा सुमन रेजाको जिम्मेवारी पनि महत्त्वपूर्ण हुनेछ। उनको हेडिङ र छोटो दूरीबाट गर्ने फिनिसिङले किरणलाई निरन्तर सताउने अपेक्षा छ। तर, नेपालमा जितको खडेरी तोड्ने लक्ष्य बुनेको बाङ्लादेशलाई विदेशमा खेलिरहेका चारै खेलाडीको अभाव खड्किने छ। क्यानडामा व्यावसायिक लिग खेलिरहेका मिडफिल्डर शमित शोमे टोलीमा छैनन्। इङ्लिस क्लब लेस्टर सिटीका मिडफिल्डर हम्जा चौधरी पनि चोटका कारण टोलीमा परेनन्। उनी हालै च्याम्पियनसिप लिगको खेलमा घाइते भएका थिए।
त्यसैगरी इटालीमा खेलिरहेका फाहामिदुल इस्लाम र बसुन्धरा किङ्सका नयाँ खेलाडी क्युबा मिचेल अहिले भियतनाममा भइरहेको एएफसी यू–२३ एसियन कप छनोट खेलिरहेका छन्। गोलकिपर मेहेदी हसन स्राबोन, फरवार्ड शेख मोर्सालिन र अल आमिनसँगै डिफेन्डर शाकिल अहाद टोपु पनि यू–२३ टोलीमा छन्।
त्यसैले डिफेन्ससँगै बाङ्लादेशको टोली संरचना केही फितलो देखिन्छ। तर, गोलरक्षक अनिसुर रहमानको प्रदर्शनले खेलको परिणाममा ठूलो भूमिका खेल्न सक्ने अनुमान गरिएको छ। नेपालसँगको खेलका लागि बुधबार नेपाल आइपुगेका बाङ्लादेशका उपकप्तान तोपु बर्मन भन्छन्, “धेरै कुरा हामी हम्जालाई केन्द्रमा राखेर सुरु गर्छौं। उनी नआउँदा हामीलाई पक्कै कठिनाइ हुन्छ।”
रणनीतिक हिसाबमा नेपाल सधैंझैं डिफेन्सिभ संचरना बनाएर ‘काउन्टर अट्याक’मा भर पर्ने विश्वास गर्न सकिन्छ। नेपाली प्रशिक्षकले यो रणनीति अपनाएको खण्डमा बाङ्लादेशले उच्च ‘प्रेसिङ’ खेल्ने सम्भावना उत्तिकै रहन्छ। यस्तो अवस्थामा नेपालले विंगबाट अवसर सिर्जना गर्ने प्रयास गर्नेछ। ‘सेट–पिस’ र ‘क्रसिङ’मा दुवै टोली समान मानिन्छन्। यसरी हेर्दा खेलको एउटा निर्णायक क्षण वा सानो गल्तीले नतिजा पल्टिन सक्ने अनुमान गर्न सकिन्छ।
तर, घरेलु समर्थकमाझ भने यो खेलले गहिरो अर्थ राख्छ। करिब २३ महिनादेखि दशरथ रंगशालामा कुनै अन्तर्राष्ट्रिय खेल हेर्न पाएका छैनन्। त्यसैले दर्शकलाई खुसी दिलाउने माध्यम यही खेलको नतिजा बन्न सक्छ।