भूकम्प सुरक्षा दिवस
कोसीपूर्व र पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम
पछिल्लो एक दशकमा नेपालमा दुईवटा ठूलो भूकम्प गएका छन्। १२ वैशाख २०७२ मा गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको र १७ कातिक २०८० जाजरकोटको बारेकोट गाउँपालिकामा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
१४ जिल्लालाई अति प्रभावित बनाएको २०७२ सालको भूकम्प र त्यसका परकम्पबाट आठ हजार ७८९ जनाको ज्यान गएको थियो भने सात खर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको सरकारी आँकडा छ। यस्तै, जाजरकोट भूकम्पमा जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी १५७ जनाको मृत्यु भएको थियो।
यस्तो विनाशकारी भूकम्प बेलाबखत गइरहे पनि नेपालमा भूकम्पको जोखिम अझै टरेको छैन। किनकि, नेपाल भूकम्पका दृष्टि सधैँ जोखिममा रहेको मुलुक हो। भूकम्पीय जोखिम रहेका मुलुकहरूको सूचीमा नेपाल ११औँ स्थानमा छ। तर, यसअनुसार विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पूर्वतयारीलाई राज्यको तहबाट बेवास्ता गरिएको छ।
२ माघ १९९० मा गएको महाभूकम्पको स्मरणमा २०५५ सालदेखि हरेक वर्षको २ माघमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। दिवसको अवसर पारेर नेपालमा भूकम्पको जोखिमबारे चर्चा गर्ने गरिए पनि, विज्ञहरूले पूर्वतयारीका लागि घचघच्याए पनि सरकारले सुन्ने गरेको छैन।
७ म्याग्निच्युडभन्दा ठूलो भूकम्पको जोखिम
नेपालमा ससाना भूकम्प गइराखेका हुन्छन्। तर यसले ठूलो भूकम्पको जोखिमलाई घटाउन नसक्ने विज्ञहरू बताउँछन्। खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रको अभिलेखअनुसार, २४ फागुन २०५० देखि ६ भदौ २०८२ सम्म विभिन्न जिल्लालाई केन्द्र बनाएर चार म्याग्निच्युड माथिका एक हजार २५६ भूकम्प गएका छन्। तीमध्ये ८३३ वटा भूकम्प १२ वैशाख २०७२ यता गएका हुन्।
विज्ञहरूका अनुसार, मध्य नेपालमा निश्चित समयको अन्तरालमा ठूला भूकम्पहरू गए पनि पूर्वी र पश्चिम नेपालमा ठूलो भूकम्प नगएको क्रमश: एक हजार वर्ष र ५२० वर्ष भइसकेको छ। यसकारण कोसीपूर्व र पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको उनीहरू बताउँछन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का भूकम्पविद् शिव सुवेदी भन्छन्, “नेपालको कुनै पनि क्षेत्रमा कुनै पनि वेला सात म्याग्निच्युडभन्दा ठूलो भूकम्प जान सक्छ। कोसीपूर्व र गोरखाको बारपाकदेखि पश्चिम भेगमा त साढे आठ म्याग्निच्युडसम्मको भूकम्प जाने जोखिम छ।”
१९९० सालको भूकम्पमा क्षति नभएको कोसीपूर्वदेखि दार्जीलिङसम्मको क्षेत्रमा ठूलो भूकम्प नगएको एक हजार वर्ष भइसकेको सुवेदी बताउँछन्।
पश्चिम नेपालमा ५२० वर्षअघि शक्तिशाली भूकम्प गएको थियो। पश्चिम नेपाललाई केन्द्रबिन्दु बताएर सन् १५०५ मा महाभूकम्प गएको र त्यसले दिल्लीदेखि ल्हासासम्म क्षति गरेको थियो। सो भूकम्पले दिल्लीको कुतुबमिनार भत्काएको थियो। वैज्ञानिकहरूले कार्बन डेटिङ हेर्दा त्यस बखत महाभूकम्प गएको पत्ता लागेको हो। त्यतिबेला ८.४ देखि ८.८ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ।
१२ वैशाख २०७२ मा गएको ७.६ म्याग्निच्युडको भूकम्पले गोरखादेखि दोलखासम्मको स्ल्याबलाई तीन मिटर दक्षिण र एक मिटर उत्तरतर्फ सारेको थियो। तर ५२० वर्षअघि पश्चिम नेपालमा गएको भूकम्प कति शक्तिशाली थियो भने, त्यहाँ भेटिएका चिरा खनेर हेर्दा स्ल्याब १८ देखि २० मिटरसम्म यताउति सरेको देखिएको थियो।
नेपाल किन सधैँ जोखिममा?
२०३५ सालमा फ्रान्सेली सरकारको सहयोगमा भूकम्प मापन यन्त्र भित्रिएपछि नेपालमा भूकम्पको मापन गर्न सुरु भएको हो। अहिले ४० ठाउँमा मापन गर्ने गरिन्छ।
इन्डियन प्लेट र युरो एसिया प्लेटको घर्षणका कारण नेपाल भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरू बताउँछन्। हिमाली क्षेत्र सधैँ भूकम्पको उच्च जोखिममा मानिन्छ। इन्डियन प्लेटमा प्रतिवर्ष ५ सेन्टिमिटर युरोएसिया प्लेटभित्र प्रवेश गर्छ। त्यसले अग्ला हिमाल बनाउन मात्रै नभएर तिब्बती पठार विस्तारमा पनि भूमिका खेलेको वैज्ञानिकहरू बताउँछन्।
तिब्बती पठारको विस्तार र हिमालको उचाइमा तीन सेन्टिमिटर देखिए पनि बाँकी रहेको दुई सेन्टिमिटर पृथ्वीभित्र ऊर्जा सञ्चित भएर बस्ने गरेको वैज्ञानिहरू बताउँछन्। यही ऊर्जा बेलाबेलामा भूकम्पका रूपमा बाहिरिने गरेको हो। तर ससाना भूकम्पले सञ्चित सबै ऊर्जा रिलिज गर्न नसक्ने भएकाले ठूलो भूकम्पको जोखिम कम नहुने खानी विभागको अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् मुकुन्द भट्टराई बताउँछन्। भन्छन्, “६ म्याग्निच्युडको भूकम्पले जति इनर्जी रिलिज गर्छ, त्यति नै इनर्जी रिलिज गर्न पाँच म्याग्निच्युडका ३२ वटा र सात म्याग्निच्युड बराबरको इनर्जी रिलिज गर्न पाँच म्याग्निच्युडका एक हजारवटा भूकम्प जानुपर्छ।”
भूकम्पविद् सुवेदीका अनुसार, जाजरकोटमा गएको भूकम्पजस्ता एक हजारवटा भूकम्प छिटोछिटो गयो भने मात्रै आठ म्याग्निच्युडको भूकम्पले क्षति गर्नेजति ऊर्जा बाहिरिन्छ। “तर यति छोटो समयमा यति धेरै भूकम्प जाँदैन,” उनी भन्छन्।
छैन पूर्वतयारी
नेपाल भूकम्पको उच्च जोखिममा रहे पनि यसबाट बच्ने पूर्वतयारीमा सरकारले ध्यान दिएको देखिँदैन।
त्रिभुवन विश्वविद्यालयको इन्जिनीयरिङ अध्ययन संस्थानको विपद् जोखिम न्यूनीकरण विषयका सह-प्राध्यापक वसन्तराज अधिकारी २०७२ सालको भूकम्पपछि केही काम भए पनि पर्याप्त नभएको बताउँछन्। २०७२ सालको भूकम्पपछि सरकारले नयाँ भवन संहिता जारी गर्नु, भूकम्प विज्ञानको विषयमा केही अनुसन्धान हुनुजस्ता कार्य सकारात्मक भएको उनको भनाइ छ। “तर भूकम्पीय जोखिम क्षेत्रमा परेको थाहा हुँदाहुँदै सरकारले जोखिम न्यूनीकरण र रोकथामका लागि आवश्यक पूर्वतयारी गरेको देखिँदैन,” उनी भन्छन्, “भूकम्पको विज्ञान र त्यससँग जोडिएको इन्जिनीयरिङमा अझै फड्को मार्न सकिरहेका छैनौँ।”
भवन संहिता केही पालिकाहरूले मात्र कार्यान्वयन गरेको भन्दै संहिता लागू गर्न सरकारले गर्नुपर्नेजति कडाइ गर्न नसकेको उनी बताउँछन्। “पश्चिम नेपालमा ठूलो भूकम्प आउँछ भनिरहेका छौँ, तर त्यहाँको गाउँपालिका र नगरपालिकाहरूले भवन संहिता लागू गरेकै छैनन्,” उनी भन्छन्, “गोर्खा भूकम्पपछि मानिसहरू डराएर भवन मापदण्ड पालनामा जुन रूपमा अग्रसर भएका थिए, त्यो विस्तारै कम हुँदै गयो।”
अधिकारीले भनेझैँ भूकम्पको त्रासदी र असर आम मानिसले समयसँगै बिर्संदा जोखिमबाट बच्न अपनाउनुपर्ने सजगतामा काम भएको देखिँदैन। सुरक्षाका लागि भूकम्पप्रतिरोधी घर बनाउनुपर्नेमा सरकारी निकायको आँखा छलेर घर निर्माणमा लापरबाही गर्ने प्रवृत्ति देखिएको छ। भूकम्पविद् भट्टराई ठूलो भूकम्प गएपछि केही समय मानिसहरू सचेत भएको देखिए पनि समय बित्दै जाँदा त्रास भुलेर पुरानै शैलीमा फर्केर आफैंलाई जोखिम निम्त्याउने गरेको बताउँछन्। “गोर्खा भूकम्पपछि घर अग्लो भयो भनेर सानो बनाउन खोज्नेहरू विस्तारै अग्लै घर बनाउन तम्सिए, अर्थात् मानिसहरूले भूकम्पको प्रभाव बिर्सिए,” उनी भन्छन्।
जनचेतना बढाउने र भूकम्पको प्रभाव सम्झाउने गरी स्मारक बनाउने जस्ता कार्य हुन नसकेको उनी बताउँछन्। “जापानसहितका देशहरूमा भूकम्पले भत्काएका संरचनालाई यथावत् राख्ने गरिन्छ, ता कि पछिल्लो पुस्ताले क्षति देखेर सजग होस्,” उनी भन्छन्, “बाढीपहिरो, आगलागीजस्ता बर्सेनि हुने कैयौँ विपत्तिले भन्दा ५० वर्षमा आउने भूकम्पले एकै पटक ठूलो क्षति पुर्याउन सक्छ, त्यसैले क्षति न्यूनीकरणका काम गरिहाल्नुपर्छ।”
भूकम्पविद् भट्टराई भूकम्पले गर्ने क्षति न्यूनीकरण गर्न घर निर्माणको तरिका नै बदल्नुपर्ने बताउँछन्। “जाजरकोटको भूकम्पले गरेको क्षति हेर्दा घर बनाउने तरिका परिवर्तन गर्नुपर्छ भन्ने देखायो। घर बनाउँदा खोलाको ढुंगा सोलोडोलो ल्याएर राख्ने गरिन्छ, जसका कारण ठूलो क्षति व्यहोर्दै आएका छौँ,” उनी भन्छन्।
अर्कोतर्फ, भूकम्पको जोखिम न्यूनीकरणसम्बन्धी शिक्षामा पनि समस्या छ। २०७२ सालको गोर्खा भूकम्पपछि भूकम्पसम्बन्धी शिक्षाबारे आलोचना भएको थियो। गलत शिक्षा र जानकारीका कारण घर बाहिर खुला ठाउँमा रहेका मानिस समेत घरभित्र पस्दा मृत्यु भएको समाचारहरू आएका थिए। भूकम्प आएको बेला सुरक्षित रहन के गर्ने त?
“बाहिर भएको मानिस घरभित्र आउने होइन, खुला ठाउँमा जानुपर्छ। भूकम्प प्रतिरोधी घर छैन र तल्लो तहमा हुनुहुन्छ भने जतिसक्दो चाँडै बाहिर गएर खुला ठाउँमा बस्ने हो,” नास्टका विज्ञ सुवेदी भन्छन्, “पाँच/दस तलामा हुँदा घर भूकम् प्रतिरोधी हो कि होइन भन्ने थाहा छैन र १५ वा २० सेकेन्डमा भुइँमा पुग्न सकिँदैन भने पिलर वा ढोकामा बस्नुपर्छ, जसले गर्दा जोखिम कम हुनसक्छ।”