सेयर बजार
५७.५५ अंकले बढेको नेप्से २‚७७२.१७ विन्दुमा रोकियो
काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार उच्च अंकले बढेको छ। लगानीकर्ताहरू उत्साही बनेका छन्।
नेप्से आज (आइतबार) ५७.५५ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा २.१२ प्रतिशतले बढेको नेप्से २‚७७२.१७ विन्दुमा पुगेको छ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ८.०५ अंकले बढेर ४७३.४८ विन्दुमा चढेको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा १.७३ प्रतिशतले बढेको छ। हरियाली बनेको सेयर बजारमा आइतबार ३३१ कम्पनीको एक लाख ३३ हजार ५२९ पटकको कारोबारमा तीन करोड नौ लाख १५ हजार १८३ कित्ता सेयर किनबेच भए। जसमा आज १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ रुपैयाँको कारोबार भयो।
नेप्सेमा आज १३ वटै समूहका सूचकमा हरियाली देखिए। जसअनुसार वाणिज्य बैंक समूह १.७९ प्रतिशत‚ विकास बैंक १.६८‚ फाइनान्स १.७३‚ होटेल तथा पर्यटन ३.३५‚ जलविद्युत् २.७४, लगानी २.८४‚ जीवन बिमा २.०३, उत्पादन तथा प्रशोधन २.९७‚ लघुवित्त १.६०‚ म्युचुअल फन्ड ०.९७‚ निर्जीवन बिमा १.९७‚ अन्य समूह १.५७ प्रतिशत र व्यापार समूह १.५२ प्रतिशतले बढेका छन्।

नेप्सेमा आइतबार २४० कम्पनीको मूल्य बढ्दा १९ वटाको मात्र घट्यो। एसबीआई बैंक लिमिटेडको सेयरमूल्य भने स्थिर रह्यो।
हरियाली बनेको सेयर बजारमा आइतबार आठवटा कम्पनीका मूल्यमा सकारात्मक सर्किट लाग्यो अर्थात् १० प्रतिशतले बढे। सकारात्मक सर्किट लाग्ने कम्पनीमा एसवाई प्यानल‚ श्रीनगर एग्रिटेक‚ नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी‚ बन्दिपुर केबलकार‚ हिमस्टार ऊर्जा कम्पनी‚ माबिलुङ इनर्जी‚ रिलाइन्स फाइनान्स र आँखुखोला जलविद्युत् कम्पनी छन्।
आइबार सबैभन्दा बढी एभरेस्ट बैंकको डिबेन्चर ५.८० प्रतिशतले ओरालो लाग्यो। जसको अन्तिम कारोबार मूल्य १‚१५४ रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् लिमिटेडको सेयर कारोबार भयो। आज यसको ४३ करोड ५९ लाख ३३ हजार १६२ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता २६८.४० रुपैयाँ कायम रह्यो।