सिंहदरबारमा जम्मा गरियो प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट उपहार आएका गाडी
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले नेपाललाई गाडी उपहार दिएको छ।
निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडी सिंहदरबारमा जम्मा गरिएका छन्। गत मंगलबार नेपालस्थित भारतीय दूतावासले सिंहदरबारमा ६१ वटा क्याबिन पिकअप भ्यान ल्याएको थियो। त्यसैगरी हिजो (सोमबार) थप ५४ गाडी सिंहदरबार आइपुगेका छन्। ती गाडी भने औपचारिक रूपमा हस्तान्तरण गर्न बाँकी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।
गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो। सोहीअनुरूप भारतले पहिलो चरणमा ६१ गाडी उपलब्ध गराएको हो। यसपटकको निर्वाचनका लागि भारतले साना-ठुला गरी ६५० वटा गाडी उपलब्ध गराउने जनाइएको छ।
भारततर्फबाट नेपाल सरकारलाई जिम्मा लगाइसकेपछि ती गाडी निर्वाचनका क्रममा आवश्यकता र उपयोगिताका आधारमा विभिन्न स्थान तथा निकायमा वितरण गरिने गृह मन्त्रालयले जनाएको छ। प्रतिनिधिसभा निर्वाचन आगामी २१ फागुनमा हुँदै छ।
हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
