प्रतिनिधिसभा निर्वाचन
विगतका चुनावमा सभा र भेलामा एकोहोरो भाषण गर्ने ओली यसपटक मतदातासँग दोहोरो संवादमा
पछिल्ला दुई चुनावमा झापा क्षेत्र नम्बर ५ मा धेरै कुरा समान थियो। जित्ने उम्मेदवार, उनका निकटतम प्रतिद्वन्द्वी, मतान्तर र गठबन्धन। २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उक्त क्षेत्रबाट ५० हजारभन्दा बढी मत ल्याएर विजयी भएका थिए। दुवै पटक उनका प्रतिद्वन्द्वी थिए, नेपाली कांग्रेसका खगेन्द्र अधिकारी। दुवैबीचको मतान्तर २८ हजारभन्दा बढी थियो। दुवै चुनावमा ओलीले झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग चुनावी तालमेल गरेका थिए। झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउँदा बाँकी क्षेत्रमा एमालेले साथ पाएको थियो।
ती चुनावको बेला एमालेले गर्ने सभा र भेलाहरूमा ओलीले एकोहोरो बोल्थे। मतदातालाई गर्ने सम्बोधन त्यही हुन्थ्यो। ओलीले न त मतदातामाझ गएर प्रत्यक्ष संवाद गर्थे, न मतदाताले आफ्ना गुनासो र समस्या उनीसँग राख्न पाउँथे।
तर, गत भदौको जेन-जी आन्दोलनपछि हुन लागेको प्रतिनिधिसभा चुनावमा एमाले रक्षात्मक बन्दा विशेष गरी चुनावी चासोको केन्द्र झापा-५ को परिदृश्य फरक छ। विगतमा सहजै जित्दै आएको क्षेत्रमा परिवर्तित परिस्थितिमा ओली कुनै चुनावी तालमेलविना मैदानमा छन्। यसले गर्दा चुनौतीका कारण उनको चुनावी रणनीति बदलिएको प्रस्ट देखिन्छ। उनी मतदाताको घरदैलोमै गएर दोहोरो संवाद गरिरहेका छन्। जनताका गुनासा, असन्तुष्टि र चर्का आक्रोश पनि हात जोडेर सुनिरहेका छन्। २०४८ सालदेखि निरन्तर चुनावी प्रतिस्पर्धामा रहेका पूर्वप्रधानमन्त्री ओलीले घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राख्दा मतदाताले प्रश्न गर्न पाएका छन्।
झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँमा महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहलाई उम्मेदवार बनाएको छ। परम्परागत शक्तिलाई चुनौती दिने नयाँ दलका रूपमा चर्चा गरिएको रास्वपाप्रतिको लहर र युवा जमातबीच चर्चित अनुहारलाई उम्मेदवार बनाउँदा ओली यसअघिको आफ्नो सुरक्षित क्षेत्रमै यसपटक ढुक्क छैनन्। जसका कारण मतदातासँग दूरी घटाउन बस्ती, टोल र घर घरमै पुगिरहेका छन्।
ओलीको चुनावी अभियानमा संलग्न प्रेस चौतारीका उपाध्यक्ष चेतन अधिकारीका अनुसार पहिले सभा र आमसभाजस्ता कार्यक्रम हुने गरेकामा अहिले अधिकांश स्थानमा टोल भेलाहरू आयोजना भएका छन्। “पहिले अध्यक्ष ओलीले आफ्नो अजेन्डाहरूबारे जानकारी दिने काम हुन्थ्यो। अहिले मतदाताका कुरा सुन्न प्राथमिकता दिनुभएको छ,” उनी भन्छन्।

२७ माघमा झापाको गौरादह नगरपालिका-५ चप्रामारीका जनतासँग एमालेका अध्यक्ष केपी शर्मा ओली।
अधिकारीका अनुसार हालसम्म ओली आफ्नो निर्वाचन क्षेत्रका ४० वटा टोल भेलामा सहभागी भइसकेका छन्। एमालेले कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका र गौरादह नगरपालिकामा टोल भेला आयोजना गरिसकेको छ।
ती भेलामा गएर ओलीले मतदाताहरूसँग पुरानो नाता सम्बन्ध जोडेर संवाद गरिरहेका छन्।
राष्ट्रिय राजनीतिमा परिस्थितिअनुकूल नहुँदा रक्षात्मक बनेका ओलीले चुनावी रणनीति परिवर्तन गरेको हुन सक्ने राजनीतिक समाजशास्त्री राम गुरुङ बताउँछन्। “पछिल्लो एक सातामा ओलीले जुन रूपमा घरदैलो अभियान चलाइरहेका छन्, चुनावको प्रभावकारी विधि यही हो,” उनी भन्छन्, “अधिकांश ठूला नेताहरू चुनावी अभियानमा जाँदा सडक सडक हिँड्दै त्यहीँबाट नमस्कार गर्ने गरेको देखिन्छ, त्यो औपचारिक तरिका मात्रै हो।”
ओलीसँग भेटमा गौरीगन्जका बासिन्दाहरूले रतुवा नदीमा अहिलेसम्म तटबन्ध बन्न नसकेको भन्दै असन्तुष्टि जनाएका थिए।
२०७४ र २०७९ सालका निर्वाचनमा अध्यक्ष ओलीले अजेन्डा सेट गर्थे र अरू दलले त्यसको वरिपरि रहेर तर्क र प्रतिवाद गर्थे। २३ र २४ भदौको आन्दोलनबाट सत्ताच्युत भएपछि ओली राष्ट्रिय राजनीतिमा रक्षात्मक अवस्थामा छन्। स्थानीय मतदाताहरूले उनलाई विकास निर्माणदेखि आन्दोलनका क्रममा भएको हताहतीको विषयमा प्रश्न सोधेर आच्छुआच्छु पारेका छन्।
ओलीसँग भेटमा गौरीगन्जका बासिन्दाहरूले रतुवा नदीमा अहिलेसम्म तटबन्ध बन्न नसकेको भन्दै असन्तुष्टि जनाएका थिए। २०४८ सालकै चुनावमा ओलीले रतुवालाई ‘पाता फर्काउने’ प्रतिबद्धता जनाएका थिए। तर, चुनावी वाचाअनुसार काम नहुँदा रतुवा नदीले हरेक वर्ष तटीय क्षेत्रमा कटान गर्ने गरेको छ।
त्यसैगरी, भारतसँग सीमा जोडिएको गौरीगन्ज क्षेत्रका मतदाताले सुरक्षा व्यवस्था नभएको र टेलिफोन टावरको पनि समस्या भएको गुनासो ओलीसँग राखेका थिए। उनीहरूले गुणस्तरीय शिक्षा, बेरोजगारी र सिँचाइ समस्यामा किन काम हुन नसकेको भन्दै प्रश्न गरेका थिए।
गौरादह नगरपालिका-५ का बासिन्दाले जग्गा भए पनि आफूहरूले लालपुर्जा नपाएको गुनासो गरेका थिए। त्यस विषयमा स्थानीय बासिन्दा र एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिबीच चर्काचर्की नै परेको भिडिओ सामाजिक सञ्जालमा छरिएका छन्।

२६ माघमा झापाको गौरीगन्ज गाउँपालिकाका स्थानीयसँग एमालेका अध्यक्ष केपी शर्मा ओली।
यसअघिका चुनावमा ओली आफ्नो निर्वाचन क्षेत्रमा भन्दा बढी अन्य क्षेत्रका सभा र भेलामा सहभागी हुन्थे र पार्टीका उम्मेदवारहरूलाई भोट माग्थे। तर, यसपटकको निर्वाचनका लागि हालसम्म उनी आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित छन्। आफ्नै लागि मतदाता फकाउन उनलाई भ्याइनभ्याइ छ।
मतदाता फकाउने क्रममा ओलीले विगतकै जस्तो शैली अपनाउँदै महत्त्वाकांक्षी सपना बाँडेका छन्। २६ माघमा घरदैलोका क्रममा उनले एमालेले चुनाव जिते ६ महिनामै घर घरमा ग्यास पुर्याउने बताए। उनले भने, ‘अब विदेशबाट ल्याएको ग्यास होइन, अहिले ग्यास निकाल्न छाडेर ताला लगाएर राखेको छ, त्यो ग्यास निकाल्नुपर्छ। पानीजस्तो ट्यांकीमा राख्न सकिन्छ र घर घरमा पाइपबाट पुर्याउन सकिन्छ। त्यसका लागि कुनै सिलिन्डर पनि चाहिँदैन।’
यसअघिका चुनावमा ओली आफ्नो निर्वाचन क्षेत्रमा भन्दा बढी अन्य क्षेत्रका सभा र भेलामा सहभागी हुन्थे र पार्टीका उम्मेदवारहरूलाई भोट माग्थे।
त्यसैगरी, गौरादह नगरपालिका-५ स्कुलचौनका बासिन्दाले ओली सरकारमा हुँदा पनि लालपुर्जा पाउन नसकेको भन्दै असन्तुष्टि पोखेका थिए। त्यसको जवाफ उनले आफू सरकारमा हुँदा त्यसको तयारी गरे पनि छिटो सरकार ढलेको कारण लालपुर्जा वितरण गर्न नसकेको बताएका थिए। झापा ५ मा २५ हजार मतदाता भूमिहीन सुकुमवासी छन्।
उम्मेदवारी दर्ताको समयमा पाँच दिन आफ्नो निर्वाचन क्षेत्रमा बसेका ओली २३ माघदेखि एक साता झापा ५ मै घरदैलोमा व्यस्त भए। बिहीबार काठमाडौँ फर्केका ओली केही दिनपछि फेरि झापा जाने कार्यक्रम छ।

२८ माघमा झापा ५ का जनतासँग एमालेका अध्यक्ष केपी शर्मा ओली।
२०४८ सालको प्रतिनिधिसभा दमक नगर केन्द्र भएको निर्वाचन क्षेत्रमा एउटा विषय निरन्तर छ। अहिले झापा ५ मा पर्ने सो क्षेत्रबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर रूपमा उम्मेदवार रहँदै आएका छन्। हालसम्म भएका सात वटा निर्वाचनमध्ये २०६४ सालको पहिलो प्रतिनिधिसभा चुनावबाहेक ओलीले सो क्षेत्रबाट जित्दै आएका छन्।
झापा ५ मा ओली र बालेनका साथै थप २२ जना उम्मेदवार छन्। जसमा नेकपाबाट अनेरास्ववियुका पूर्वअध्यक्ष रञ्जित तामाङ, नेपाली कांग्रेसका मन्धरा चिमोरिया, राप्रपाका लक्ष्मीप्रसाद सिटौला र जनता समाजवादी पार्टी नेपालका धीरेन्द्र सुब्बा र श्रम संस्कृति पार्टीका समीर तामाङ चुनावी मैदानमा छन्। उक्त क्षेत्रमा एक लाख ६३ हजार ३७९ मतदाता छन्।