काठमाडौँ
००:००:००
११ पुष २०८२, शुक्रबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। सरकारको विरोधमा उत्रिएको जेन-जीले देशका विभिन्न जिल्लामा आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। काठमाडौं,  भक्तपुर र ललितपुर तीनै जिल्लामा प्रदर्शन सुरू भएसँगै प्रशासनले सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरेका छन्।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले परिस्थिति असामान्य भएका कारण देशका विभिन्न जिल्लामा कर्फ्यू आदेश जारी गरिएको बताए। उनले देशका विभिन्न स्थानमा आन्दोलन भइरहेको र मन्त्रालयले शान्ति-सुरक्षालाई लक्षित गरी सुरक्षा रणनीति बनाइरहेको बताए।

जेन-जी आन्दोलनका क्रममा सोमबार देशभरि १९ जनाको ज्यान गएको छ। सयौं घाइते छन्। 

कहाँ-कहाँ छ कर्फ्यू?

काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार बिहान ८:३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका छन्।

कर्फ्यू आदेश बालकुमारी पुलदेखि कोटेश्वर चोक, सीनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्म जारी रहने रिजालले बताए।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको र यो आदेशभरि कुनै पनि आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रशासनले जनाएको छ।

स्थानीय प्रशासनले ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्फू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बिहान ७ बजेदेखि राति १२ बजेसम्म लागू हुने बताए। तर, कर्फ्यूबीच जेन-जी समूहले प्रदर्शन गरिरहेको छ। “जिल्लाका विभिन्न स्थानमा प्रदर्शन सुरू भएको छ, स्थिति असामान्य हुन नदिन सुरक्षा प्रवन्ध मिलाएका छौं,” घिमिरेले भने।

सुनसरीको इटहरीमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश जारी छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सोमबार राति १२ बजेदेखि कर्फ्यू आदेश जारी गरेका छन्। अर्को आदेश नभएसम्म कर्फ्यू जारी रहने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ।

मंगलबार बिहान साढे ८ बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले कर्फ्यू आदेश जारी गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ।

जेन-जी आन्दोलनमा हुन सक्ने सम्भाव्य प्रदर्शन, जुलुश, हुलदंगा र झडपलाई मध्यनजर गर्दै प्रशासनले मंगलबार बिहान १० बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ।

जेन-जी आन्दोलनमा हुन सक्ने सम्भाव्य प्रदर्शन, जुलुश, हुलदंगा र झडपलाई मध्यनजर गर्दै प्रशासनले मंगलबार बिहान साढे ९ बजेदेखिअनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो।

कर्फ्यू आदेश जिल्लाभरि लागू हुने प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले बताए।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन्।

कर्फ्यू पूर्व बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर गण्डक चोक र दक्षिण शंकराचार्य गेटसम्म लागू गरिएको सुवेदीले बताए।

प्रशासनले सोमबार राति ९ देखि मंगलबार बिहान ९ बजेसम्म कर्फ्यू लागू गरेको थियो। जेन-जी समूहको आन्दोलन नरोकिएपछि प्रशासनले कर्फ्यू थपेको हो।