काठमाडौं। नेकपा एमालेका नेताहरूले पार्टी इतिहासको गम्भीर मोडमा रहेको भन्दै कार्यकर्ताहरूलाई धैर्य हुन र एकजुट भइरहन आह्वान गरेका छन्।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईसहितका नेताहरूले संयम र धैर्यताका लागि आह्वान गरेका हुन्। त्यसैगरी उनीहरूले लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संवैधानिक सर्वोच्चता, कानुनको शासनबाट दायाँबायाँ हुन नसक्ने बताएका छन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले जेन-जीको आन्दोलनमा अत्यधिक र अनावश्यक बल प्रयोगको छानबिनको माग गरेका छन्। त्यसैगरी सचिव भट्टराईले पछिल्लो घटनाक्रमपछि पार्टी संगठन र नेतृत्वलाई नयाँ ढंगले पुनर्गठन गर्न आह्वान गरेका छन्। ‘आन्दोलनमा भएको अस्वाभाविक र अत्यधिक बल प्रयोग र त्यसकारणले भएको जनधनको ठूलो क्षति, सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा , राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा निजी सम्पत्तिमा गरिएको आगजानी, तोडफोड र हिंसाका घटनाप्रति निन्दा र भर्त्सना नगरी रहन सकिन्न’, पोखरेलले लेखेका छन्, ‘यी घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गरिनुपर्छ। साथै, भविष्यमा यस्ता दु:खद घटना नदोहोरिने वातावरण सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो।”
पोखरेलले धैर्य र संयमता अनपाउन पनि आग्रह गरेका छन्। ‘यस विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन, समाजमा शान्ति, अमनचयन र सामाजिक सद्भावका लागि सबैको पहल/ प्रयत्न आवश्यक छ’, पोखरेलले भनेका छन्, ‘जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक न्याय, विधिको शासन र रूपान्तरणकारी आन्दोलनप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु।’
महासचिव शंकर पोखरेलले नेत्रलाल अभागीको कविता सेयर गर्दै धैर्य गर्न र संयमित हुन आग्रह गरेका छन्।
सचिव भट्टराईले भने १० बुँदे प्रस्ताव अघि सारेका छन्। जसमा पार्टी संगठन र नेतृत्व पुनर्गठन गर्न माग गरेका छन्। ‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौं। देश र समाज भयानक अस्थिरतामा छ। हामी सबै तनावमा छौं। यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्याउँदैन’, उनले लेखेका छन्।
उनले पछिल्ला घटनाक्रमहरूको समीक्षा गर्नुपर्ने पनि बताएका छन्। ‘विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौ हामीबाट भएका कमजोरीको समीक्षा गरौं। गल्तीप्रति आत्मालोचित होऔं’, उनले भनेका छन्, ‘पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौं। यो काम होशियारीपूर्वक गरौं। जसले हाम्रो पार्टी एकता कायम गरोस।’
त्यसैगरी पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाउनुपर्ने उनले बताएका छन्। त्यसैगरी जेन-जीले उठाएको मागलाई पनि सम्बोधन गरी अघि बढ्नुपर्ने धारणा राखेका छन्।