काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्ने भएको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, आज दिउँसो साढे १ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकपछि उम्मेदवारको नाम सार्वजनिक गरिनेछ।
“बैठकपछि पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार घोषणा कार्यक्रम हुनेछ,” उनले बताए।
सचिवालय बैठकमा उम्मेदवार छनोट तथा मूल्यांकनबारे छलफल हुने छ। साथै, प्रवास विशेष अभियान र अन्य विविध विषयमा पनि छलफल हुने एजेन्डा तय गरिएको छ।
उक्त क्षेत्रका लागि रास्वपाबाट नौ जनाले प्रारम्भिक उम्मेदवारी दिएका छन्। तीमध्येबाट एक जनालाई पार्टीको आधिकारिक उम्मेदवारको रूपमा चयन गरिनेछ।