काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबीच मन्त्रिपरिषद् बैठकमा विवाद भएको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई मन्त्रीबिच नोकझोक भएको हो।
बैठकमा सहभागि एक मन्त्रीका अनुसार बन्द भएको सामाजिक सञ्जाल खोल्ने विषयमा ओली र मन्त्री पौडेलबीच भनाभन भएको हो। “मन्त्री पौडेलले सञ्जाल खोल्नुपर्ने धारणा राख्नुभयो तर, तथा प्रधानमन्त्रीले कुनै कम्पनीको अगाडि झुक्न सकिन्न भनेपछि दुई जनाबीच भनाभनको स्थिति बन्यो”, मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले नेपालन्युजसँग भने।
बैठकको सुरूवातमै मन्त्री पौडेलले सामाजिक सञ्जाल खुल्ला गर्नुपर्ने धारणा राखेका थिए। उनले सामाजिक सञ्जाल बन्द गरेकै कारण आन्दोलन भएको र ठूलो जनधनको क्षति भएको तर्फ प्रम ओलीको ध्यानाकर्षण गराएका थिए।
‘सरकारले आफ्नो त्रुटी स्वीकार गर्दै जेन-जीको मागलाई सम्बोधन गर्नुपर्छ‚’ पौडेलले बैठकमा भनेका थिए। आफ्नो अभिव्यक्ति राख्ने क्रममा मन्त्री पौडेलले भ्रष्टचार नियन्त्रणको माग पनि सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए।
‘सामाजिक सञ्जाल सधै बन्द गरिने कुरा होइन । अहिले पनि खुलिरहेकै छ‚’ उनले भनेका थिए‚ ‘यसलाई अस्थायी रूपमा खोलौँ । रजिस्टर गराउनका लागि कुटनीतिक पहल गरौँ।’
त्यसपश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरले पठाएको पत्र बारे कुरा उठाए। ट्वीटरले नेपाल जस्तो भ्रष्ट देशमा दर्ता गर्न सकिदैन भन्ने पत्र लेखेको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वभिमानको कुरा उठाएका थिए। ओलीले एउटा कर्पोरेट कम्पनी कुनै देशमा दर्ता नभइ चल्न नसक्ने तर्क गर्दै भनेका थिए‚ ‘दर्ता गर्न आउ भन्दा तिमी भ्रष्ट हौँ भन्ने ?’
त्यसपश्चात् पौडेलले प्रमको कुरा ठिक भए पनि नागरिकले नबुझ्ने बताएका थिए। जवाफमा प्रम ओलीले भने‚ ‘नागरिकले पनि बुझ्नु पर्यो नि।’
आजको बैठकले जेन-जीको प्रदर्शनमा भएको मानवीय क्षतिको छानबिन गर्न १५ दिनको म्याद दिएर समिति बनाउने निर्णय पनि गरेको छ। यस्तै घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय पनि भएको छ। यता‚ नैतिकताको आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।